Online Bible

- Reklamy -

व्यवस्था 3 - सरल नेपाली पवित्र बाइबल


ओग राजामाथि इस्राएलको विजय
( गन्‍ती २१:३१-३५ )

1 “त्‍यसपछि हामी उत्तरतिर बाशानको देशतिर गयौं र ओग राजा आफ्‍ना सबै मानिस लिएर हामीसित लड्‍नलाई एद्रेई सहरको छेउमा आए।

2 तर परमप्रभुले मलाई भन्‍नुभयो, ‘त्‍योसँग नडरा। म त्‍यसलाई, त्‍यसका मानिसहरू र सारा देश म तँलाई दिनेछु। हेश्‍बोनमा राज गर्ने एमोरी राजा सीहोनलाई तैँले जसो गरेको थिइस्, त्‍यस्‍तै ओग राजालाई पनि गर्‌’।

3 “यसकारण परमप्रभुले ओग राजा र तिनका मानिसलाई हाम्रा हातमा दिनुभयो र हामीले तिनीहरू सबैलाई मार्‍यौं।

4 त्‍यति बेला हामीले तिनका सबै सहरहरू कब्‍जा गर्‍यौं– एउटै पनि छोडेनौं। हामीले जम्‍मा साठीवटा सहरहरू लियौं– बाशानको राजा ओगले राज गरेका अर्गोबको सम्‍पूर्ण इलाका लियौं।

5 अग्‍ला पर्खालहरू, ढोकाहरू र ढोका बन्‍द गर्नलाई गजबार लगाएर यी सबै सहरहरू बलिया बनाइएका थिए। पर्खालबिनाका धेरै गाउँहरू पनि थिए।

6 हामीले सबै सहरहरू ध्‍वस्‍त पार्‍यौं र सबै पुरुष, स्‍त्री र बाल-बच्‍चाहरूलाई मार्‍यौं। जसरी हामीले हेश्‍बोनको राजा सीहोनका सहरहरू ध्‍वस्‍त पारेका थियौं, त्‍यसरी नै यो काम पनि गर्‍यौं।

7 हामीले गाई-वस्‍तु आफ्‍ना बनायौं र सहरहरू लुट्यौं।

8 “त्‍यस बेला हामीले ती दुई एमोरी राजाहरूबाट यर्दन नदीका पूर्वमा भएको अर्नोन नदीदेखि हेर्मोन पहाडसम्‍मका देश आफ्‍ना अधीनमा पार्‍यौं।

9 (हेर्मोन पहाडलाई सीदोनीहरूले सिरिओन अनि एमोरीहरूले सेनीर भन्‍दछन्।)

10 बाशानका राजा ओगका सारा देश– गिलाद र बाशानका इलाका, मरुभूमिका सहरहरू, पूर्वपट्टि सलका र एद्रेईसम्‍मै हामीले जित्‍यौं।”

11 (ओग रपाईहरूका अन्‍तिम राजा थिए। तिनको पलङ्ग ढुङ्गाले बनिएको थियो। तोकिएको नापअनुसार त्‍यो चार मिटर लामो अनि प्राय: दुई मिटर चौडा थियो। त्‍यो अझसम्‍म अम्‍मोनी सहर रब्‍बामा देख्‍न सकिन्‍छ।)


यर्दनको पूर्वपट्टि बसोबास गर्ने कुलहरू
( गन्‍ती ३२:१-४२ )

12 “जब हामीले त्‍यो देश आफ्‍ना अधीनमा लियौं, तब मैले अर्नोन नदीको छेउको अरोएर सहरको उत्तरको प्रदेश र गिलादको पहाडी इलाकाको हिस्‍सा त्‍यसका सहरहरूसमेत रूबेन र गादका कुललाई दिएँ।

13 बाँकी गिलाद र ओगले राज गरेको सम्‍पूर्ण बाशान तथा अर्गोबको पूरा इलाका मैले मनश्‍शेको आधा कुललाई दिएँ।” (बाशानलाई रपाईहरूको देश भनिन्‍थ्‍यो।

14 मनश्‍शे कुल याईरले बाशान, अर्गोबको पूरा इलाका, गशूरी र माकातीको सिमानासम्‍म लिए। तिनले ती गाउँहरूको नाम आफ्‍नै नामअनुसार राखे र अझसम्‍म तिनलाई याईरका गाउँ भनिन्‍छ।)

15 “मनश्‍शे कुलको माकीर गोत्रलाई मैले गिलाद दिएँ।

16 गाद र रूबेनका कुललाई मैले गिलाददेखि अर्नोन नदीसम्‍मको भूभाग दिएँ। तिनीहरूको दक्षिण सिमाना नदीका बीचमा पर्थ्‍यो, उत्तरको सिमानामा यब्‍बोक नदी थियो, जसको एक भाग अम्‍मोनी सिमानामा पर्थ्‍यो।

17 तिनीहरूको इलाका पश्‍चिममा यर्दन नदीसम्‍म उत्तरमा गालीलको समुद्रदेखि दक्षिणमा मृत सागरसम्‍म र पूर्वमा पिसगा पहाडको फेदसम्‍म फैलिएर गएको थियो।

18 “त्‍यही समयमा मैले तिनीहरूलाई यी आदेश दिएँ, ‘परमप्रभु हाम्रा परमेश्‍वरले यर्दनको पूर्वपट्टिको यो जमिन हाम्रा अधीनमा दिनुभयो। अब आफ्‍ना लडाकू मानिसहरूलाई तिमीहरूले हातहतियार देओ र तिनीहरूलाई अरू इस्राएली कुलहरूका अघि-अघि यर्दन पारि पठाओ। उनीहरूले त्‍यो देश लिनलाई तिमीहरूले सघाओ।

19 तिमीहरूका स्‍वास्‍नीहरू, बालबच्‍चा र गाईवस्‍तुहरू मात्र मैले तिमीहरूलाई दिएका सहरहरूमा रहिरहनेछन्। म जान्‍दछु, तिमीहरूसित धेरै गाईवस्‍तु छन्।

20 परमप्रभुले तिमीहरूलाई यहाँ जमिन दिइसक्‍नुभएको छ। त्‍यसरी नै उहाँले तिम्रा इस्राएली-सङ्गीहरूलाई यर्दनको पश्‍चिमपट्टि जमिन दिनुहुनेछ। त्‍यो देश तिनीहरूका हातमा परी त्‍यहाँ तिनीहरू शान्‍तिसित बास गर्न नपाइञ्‍जेल तिमीहरूले तिनीहरूको मद्दत गर्नू। त्‍यसपछि तिमीहरू मैले दिएको यस स्‍थानमा फर्की आउन सक्‍नेछौ।’

21 “त्‍यसपछि मैले यहोशूलाई यस्‍तो आदेश दिएँ, ‘परमप्रभु हाम्रा परमेश्‍वरले ती दुई राजा सीहोन र ओगलाई के गर्नुभयो, त्‍यो तिमीले देखेका छौ। ज-जसका जमिन तिमीहरूले हमला गर्नेछौ, तिनीहरूसित पनि उहाँले त्‍यसै गर्नुहुनेछ।

22 तिनीहरूसित नडराऊ। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका निम्‍ति लड्‍नुहुनेछ।’


मोशा कनान देशमा पस्‍न पाउँदैनन्

23 “त्‍यस बेला मैले आग्रहसाथ प्रार्थना गरें,

24 ‘सार्वभौम परमप्रभु! मलाई थाहा छ कि जुन महान् र अचम्‍मका कुराहरू तपाईंले गर्न लाग्‍नुभएको छ, तिनको सुरु मात्र तपाईंले मलाई देखाउनुभएको छ। तपाईंजस्‍तो प्रतापी काम गर्ने अरू कुनै ईश्‍वर स्‍वर्गमा वा पृथ्‍वीमा छैन।

25 परमप्रभु! मलाई यर्दन नदी पार गर्न दिनुहोस् र पारिपट्टिका मलिलो भूमि, सुन्‍दर डाँडाहरू र लेबनानका पहाडहरू हेर्न दिनुहोस्।’

26 “तर, तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभयो र उहाँले मेरो बिन्‍ती सुन्‍नुभएन। त्‍यसको सट्टामा उहाँले भन्‍नुभयो, ‘भयो! भयो! फेरि यो कुरा नगर्‌!

27 पिसगा पहाडको टाकुरामा चढ् र त्‍यहाँबाट उत्तर र दक्षिण, पूर्व र पश्‍चिम चारैतिर हेर्‌। जे कुरा देख्‍छस्, ती राम्ररी हेर्‌ किनभने तँ कहिल्‍यै यर्दन पारि जानेछैनस्।

28 यहोशूलाई चाहिँदो आदेश दे। त्‍यसलाई उत्‍साह दिएर बलियो बनाइदे किनभने त्‍यसले इस्राएलीहरूलाई डोर्‍याएर यर्दन पारि लैजानेछ र तैँले देखेको देशमा अधिकार गर्नेछ।’

29 “यसरी हामीहरू बेथ-पोरनेर सहर सामुन्‍नेको बेसीमा बस्‍यौं।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy