Online Bible

- Reklamy -

व्यवस्था 29 - सरल नेपाली पवित्र बाइबल


मोआब देशमा इस्राएलीसित परमप्रभुको करार

1 मोआब देशमा परमप्रभुले मोशालाई इस्राएलीहरूसित बाँध्‍न लाउनुभएको करारमा यी करारका कुराहरू लेखिएका थिए। सीनै पहाडमा परमप्रभुले तिनीहरूसित बाँध्‍नुभएको करारमाथि थपेर यो करार बाँधिएको थियो।

2 इस्राएलका सबै मानिसहरूलाई भेला गरेर मोशाले भने, “परमप्रभुले मिश्रका राजा, तिनका भारदारहरू र सारा देशलाई के गर्नुभयो, सो तिमीहरू आफैंले देख्‍यौ।

3 डरलाग्‍दा विपत्तिहरू, आश्‍चर्यकर्महरू र परमप्रभुले गर्नुभएका उदेकका कामहरू तिमीहरूले देख्‍यौ।

4 तर तिमीहरूले जे कुराको अनुभव गरेका छौ, त्‍यो आजसम्‍म उहाँले तिमीहरूलाई बुझ्‍न दिनुभएको छैन।

5 चालीस वर्षसम्‍म परमप्रभुले उजाड-स्‍थानको बीचबाट तिमीहरूलाई डोर्‍याउनुभयो अनि तिम्रा लुगा र चप्‍पलहरू कहिल्‍यै फाटेनन्।

6 तिमीहरूसित खानलाई रोटी वा पिउनलाई दाखमद्य थिएन तर उहाँले तिमीहरूका परमेश्‍वर हुँ भनी सिकाउनलाई तिमीहरूको अभाव पूरा गरिदिनुभयो।

7 जब हामी यस ठाउँमा आइपुग्‍यौँ, हेश्‍बोनका राजा सीहोन र बाशानका राजा ओगचाहिँ हामीसँग लडाइँ गर्न अघि आए। तर हामीले तिनीहरूलाई जित्‍यौं,

8 तिनका देश कब्‍जा गर्‍यौं अनि त्‍यो रूबेन र गादका कुल र मनश्‍शेका आधा कुलका बीचमा बन्डा गरिदियौं।

9 यस करारका सबै कुराहरू विश्‍वासयोग्‍यसाथ पालन गर, आफूले गरेका हरेक काममा तिमीहरू सफल हुनेछौ।

10-11 “आज तिमीहरू तिम्रा अगुवा र अधिकृतहरू, पुरुष, स्‍त्री र छोरा-छोरीहरू, तिम्रा बीचमा बास गर्ने र दाउरा काट्‍ने र पानी बोक्‍ने विदेशीहरू– सबै जना परमप्रभु आफ्‍ना परमेश्‍वरको अघि खडा छौ।

12 आज तिमीहरू परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूसित बाँध्‍न लाग्‍नुभएको करार अनि त्‍यसका जिम्‍मेवारी स्‍वीकार गर्न यहाँ आएका छौ।

13 परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञाअनुसार, तिमीहरूलाई आफ्‍ना निजी प्रजा हौ भनी पक्‍का गर्नुहुन्‍छ अनि तिमीहरूका परमेश्‍वर बन्‍नुहुन्‍छ।

14 यो करार यसका जिम्‍मेवारीसहित परमप्रभुले तिमीहरूसित मात्र बाँध्‍नुभएको छैन।

15 आज यहाँ परमप्रभुको अघि खडा हुने हामीहरू सबै जना र अझसम्‍म नजन्‍मेका हाम्रा सन्‍तानहरूसित पनि उहाँले यो करार बाँध्‍नुभएको छ।

16 “मिश्रको जीवन कस्‍तो थियो अनि अरू जातिका देशबाट भएर यात्रा गर्दा के भयो, सो तिमीहरूलाई यादै छ।

17 काठ, ढुङ्गा, चाँदी र सुनले बनेका तिनका घिनलाग्‍दा मूर्तिहरू तिमीहरूले देख्‍यौ।

18 आज यहाँ खडा हुने पुरुष, स्‍त्री, परिवार र कुलले हामी कोही पनि परमप्रभु हाम्रा परमेश्‍वरबाट फर्केर र अरू जातिका देव-देवताको पूजा गर्नेछैनौं भनी पक्‍का सङ्कल्‍प गर। नत्रता त्‍यो जरा बढेर एउटा तीतो र विषालु बोट बनेको जस्‍तो हुनेछ।

19 आज यी गम्‍भीर वाचाका वचन सुन्‍नेहरूमध्‍ये म ढिट भएर आफ्‍नै बाटो लागिरहे पनि सबै कुरा ठीकै हुनेछ भनी विचार गर्ने कोही व्‍यक्ति हुनुहुँदैन। यो कुरा पक्‍का गर। नत्र तिमीहरू असल र दुष्‍ट सबै नाश हुनेछौ।

20 त्‍यस्‍तो मानिसलाई परमप्रभुले क्षमा गर्नुहुन्‍न। बरु परमप्रभुको बल्‍दो क्रोध त्‍यसमाथि दन्‍कनेछ र त्‍यसलाई उहाँले पूरा नाश नपारुञ्‍जेल यस पुस्‍तकमा लेखिएका सारा विपत्तिहरू त्‍यसमाथिपर्नेछ।

21 इस्राएलका सबै कुलहरूका अघि त्‍यसलाई परमप्रभुले एउटा नमुना बनाउनुहुनेछ र त्‍यसमाथि आफ्‍ना शिक्षाको यस पुस्‍तकमा लेखिएका करारको सराप बमोजिम जम्‍मै विपत्तिहरू ल्‍याउनुहुनेछ।

22 “भविष्‍यका पुस्‍तामा तिम्रा सन्‍तान र टाढा देशबाट आएका विदेशीहरूले तिमीहरूको देशमा परमप्रभुले ल्‍याउनुभएका विपत्ति र कष्‍टहरू देख्‍नेछन्।

23 खेतबारीहरू गन्‍धक र नुनले ढाकेका उजाड, काम नलाग्‍ने भूमि बन्‍नेछन्। त्‍यहाँ केही कुरो रोपिनेछैन र जङ्गली झारपातसम्‍म त्‍यहाँ उम्रनेछैन। परमप्रभुले औधी क्रोध गरेर नाश गर्नुभएको सदोम र गमोरा, अदमा र सबोयीम सहरहरूजस्‍तै तिमीहरूको देश पनि हुनेछ।

24 त्‍यस बेला सारा संसारले प्रश्‍न गर्नेछ, ‘परमप्रभुले किन तिनीहरूका देशलाई यसो गर्नुभयो? उहाँको डरलाग्‍दो रिसको कारण के हो?’

25 अनि त्‍यसको उत्तर यो हुन्‍छ, ‘परमप्रभुका जनले आफ्‍ना पुर्खाका परमेश्‍वरले मिश्रबाट निकाली ल्‍याउनुहुँदा उहाँसित गरेका करार तोडेकोले नै त्‍यसो भएको हो।

26 तिनीहरूले अघि कहिल्‍यै नपुजेका अन्‍य देव-देवताको सेवा गरे। परमप्रभुले ती देवताहरूलाई पूजा गर्न मनाही गर्नुभएको थियो।

27 अनि परमप्रभु आफ्‍ना प्रजासित रिसाउनुभयो र तिनका देशमा यस पुस्‍तकमा लेखिएका सारा विपत्तिहरू ल्‍याउनुभयो।

28 परमप्रभु औधी रिसाउनुभयो र आफ्‍नो ठूलो क्रोधमा तिनीहरूलाई आफ्‍नो देशबाट उखेली विदेशमा फालिदिनुभयो अनि तिनीहरू आज त्‍यहाँ छन्।’

29 “परमप्रभु हाम्रा परमेश्‍वरले अरू कति कुरा गुप्‍त राख्‍नुभएको छ। तर उहाँले आफ्‍नो नियम प्रकट गरिदिनुभएको छ अनि हामी र हाम्रा सन्‍तानले सधैँ ती मान्‍नुपर्छ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy