Online Bible

- Reklamy -

व्यवस्था 28 - सरल नेपाली पवित्र बाइबल


आज्ञा मानेपछि पाइने आशिष्‌हरू

1 “यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको वचन मान्‍यौ र आज मैले तिमीहरूलाई दिँदैगरेका उहाँका आज्ञाहरू सबै विश्‍वासयोग्‍य भई पालन गर्‍यौ भने उहाँले तिमीहरूलाई पृथ्‍वीमा अरू सबै जातिहरूभन्दा महान् बनाउनुहुनेछ।

2 परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान र तिमीहरूले यी सबै आशिष्‌हरू पाउनेछौ:

3 “परमप्रभुले तिम्रा सहर र खेतबारीहरूलाई आशिष् दिनुहुनेछ।

4 “परमप्रभुले तिमीहरूलाई धेरै छोरा-छोरीहरू, गाई-गोरु र भेडाहरू र प्रशस्‍त अन्‍नबाली दिएर आशिष् दिनुहुनेछ।

5 “परमप्रभुले तिम्रा उब्‍जनीका अन्‍न र तीबाट तयार गरिएका भोजनमाथि आशिष् दिनुहुनेछ।

6 “परमप्रभुले तिम्रा हर काममा आशिष् दिनुहुनेछ।

7 “तिम्रा बैरीले हमला गरेको बेलामा परमप्रभुले तिनको हार गराउनुहुनेछ। तिनीहरूले एक बाटोबाट हमला गर्न आउनेछन् तर सात बाटो भएर भाग्‍नेछन्।

8 “परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा काममा आशिष् दिनुहुनेछ र ढुकुटीहरू अन्‍नले भरिदिनुहुनेछ। अनि उहाँले दिन लाग्‍नुभएको देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ।

9 “तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन मान्‍यौ र उहाँले आज्ञा गर्नुभएको हर कुरा गर्‍यौ भने उहाँले आफ्‍नो प्रतिज्ञाअनुसार तिमीहरूलाई आफ्‍नो निजी प्रजा बनाउनुहुनेछ।

10 तब पृथ्‍वीका सारा जातिले तिमीहरूलाई परमप्रभुले आफ्‍नो निजी प्रजा गरी चुन्‍नुभएको छ भनी देख्‍नेछन् र तिमीहरूसित डराउनेछन्।

11 तिम्रा पुर्खाहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गर्नुभएको देशमा परमप्रभुले तिमीहरूलाई धेरै-धेरै सन्‍तान र गाई-वस्‍तु अनि प्रशस्‍त अन्‍नबाली दिनुहुनेछ।

12 आकाशको आफ्‍नो भरिभराउ भण्‍डारबाट वर्षा ऋतुमा उहाँले पानीको झरी दिनुहुनेछ र तिम्रा सबै काममा आशिष् दिनुहुनेछ र तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ। तर तिमीहरूले चाहिँ उनीहरूबाट केही कुरा ऋण लिनुपर्नेछैन।

13 परमप्रभु तिम्रा परमेश्‍वरले धेरै जातिहरूका बीचमा तिमीहरूलाई पछ्याउनेहरू होइन तर अगुवाहरू बनाउनुहुनेछ। मैले आज तिमीहरूलाई दिँदैगरेका उहाँका आज्ञाहरू तिमीहरूले विश्‍वासयोग्‍यतासाथ पालन गर्‍यौ भने सधैँ तिम्रो फलिफाप हुनेछ, कुनै कुरामा कहिल्‍यै असफल हुनेछैनौ।

14 तर कहिल्‍यै पनि कुनै प्रकारले तिनलाई तोड्‍नुहुन्‍न अथवा अरू देव-देवताको पूजा वा सेवा गर्नुहुँदैन।


आज्ञा नमान्‍नाले पाइने फलहरू
( लेवी २६:१४-४६ )

15 “तर यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको वचन मानेनौ र आज मैले दिँदैगरेका उहाँका सबै नियम र आज्ञाहरू विश्‍वासयोग्‍यसाथ पालन गरेनौ भने यी सबै सरापहरू तिमीहरूमाथि पर्नेछन्:

16 “परमप्रभुले तिम्रा सहर र खेतबारीहरूलाई सराप दिनुहुनेछ।

17 “परमप्रभुले तिम्रा उब्‍जेका अन्‍न र तीबाट तयार गरिएका भोजनमाथि सराप दिनुहुनेछ।

18 “थोरै छोरा-छोरी, गाई-गोरु र भेडाहरू अनि कम उब्‍जनी दिएर परमप्रभुले तिमीहरूलाई सराप दिनुहुनेछ।

19 “परमप्रभुले तिम्रा हर काममा सराप दिनुहुनेछ।

20 “यदि तिमीहरूले दुष्‍ट काम गर्‍यौ र परमप्रभुलाई इन्‍कार गर्‍यौ भने तिमीहरूलाई चाँडै अनि पूरै नाश नगरुञ्‍जेल तिमीले गरेका हरकाममा उहाँले आपत्-विपत्, गड्बडी र दु:ख-कष्‍ट ल्‍याउनुहुनेछ।

21 उहाँले एउटापछि अर्को रोग पठाउनुहुनेछ र तिमीहरूले अधिकार गर्न लागेका देशबाट तिम्रा नाउँ-निशाना मेटिदिनुहुनेछ।

22 परमप्रभुले तिमीहरूलाई सरुवा रोगले ग्रस्‍त पार्नुहुनेछ र तिमीहरू जरो र सुनिने व्‍यथाले थलिनेछौ। तिम्रा अन्‍नबाली नाश पार्नलाई उहाँले खडेरी र प्रचण्‍ड गरम बतास पठाउनुहुनेछ। नमरेसम्‍म यी आपत्-विपत् तिमीहरूमाथि आइपर्नेछन्।

23 वर्षा हुनेछैन र तिम्रा जमिन फलामजस्‍तै कडा हुनेछ।

24 वर्षाको सट्टामा परमप्रभुले तिमीहरू नाश नभइञ्‍जेल धुलो र बालुवाका आँधी-बेहरी पठाउनुहुनेछ।

25 “परमप्रभुले तिम्रा शत्रुहरूलाई तिमीहरूमाथि विजय दिनुहुनेछ। तिमीहरू तिनीहरूमाथि एक बाटो भएर हमला गर्नेछौ तर सात बाटो भएर भाग्‍नेछौ र पृथ्‍वीका सबै मानिसहरूले तिम्रा दशा देखेर डर मान्‍नेछन्।

26 तिमीहरू मरेपछि आकाशका चरा र जङ्गली जनावरहरू आएर तिम्रा लाश खानेछन् र तिनीहरूलाई धपाउने कोही पनि हुनेछैन।

27 मिश्रीहरूलाई गरेझैँ परमप्रभुले तिमीहरूलाई पिलोले पीडित पार्नुहुनेछ। उहाँले तिम्रा शरीरहरू घाउ-खटिराले भरिदिनुहुनेछ। तिम्रा शरीर लुतोले भरिनेछन् र चिलाउनेछन् तर तिमीहरूले निको हुने कुनै औषधी पाउनेछैनौ।

28 परमप्रभुले तिमीहरूलाई अन्‍धा तथा बौलाहा बनाउनुहुनेछ अनि मनमा गड्बडी पार्नुहुनेछ।

29 दिउँसो उज्‍यालोमै तिमीहरू अन्‍धाजस्‍ता छामछाम-छुमछुम गरी हिँड्‍नेछौ र तिमीहरूले आफ्‍नो बाटो देख्‍नेछैनौ। तिमीहरूले गरेका कुनै काममा फलिफाप हुनेछैन। सतावट र डकैती तिमीहरूमाथि एकहोरो आइपर्नेछन् र तिम्रा मद्दत गर्ने कोही पनि हुनेछैन।

30 “विवाह गर्न भनी तिमीले मगनी गरेकी केटीलाई अर्को मानिसले विवाह गर्नेछ। घर बनाउँनेछौ तर त्‍यसमा कहिल्‍यै बास गर्न पाउनेछैनौ। दाखबारी लाउनेछौ तर त्‍यसका फल कहिल्‍यै खान पाउनेछैनौ।

31 तिम्रा पशुहरू तिम्रै अघि मारिनेछन् तर त्‍यसका मासु खान पाउनेछैनौ। तिमीले हेर्दाहेर्दै तिम्रा गधाहरू घिसारेर लगिनेछन् तर फर्काइनेछैनन्। तिम्रा भेडा शत्रुका हातमापर्नेछ र तिमीलाई मद्दत गर्ने कोही हुनेछैन।

32 तिम्रै आँखा सामुन्‍ने तिम्रा छोरा-छोरीहरूलाई कमारा-कमारी बनाई विदेशीहरूलाई दिइनेछन्। तिम्रा छोरा-छोरीहरू फर्की आउँछन् कि भनी प्रत्‍येक दिन व्‍यर्थमा तिमीहरू आँखा दुखुन्‍जेल बाटो हेर्नेछौ।

33 तिमीहरूले कठिन परिश्रम गरेर उब्‍जाएका अन्‍नबाली विदेशी जातिले लैजानेछ र तिमीहरूले चाहिँ लगातार सतावट र निष्‍ठुर व्‍यवहारबाहेक अरू केही पाउनेछैनौ।

34 दु:ख-कष्‍टले गर्दा तिमीहरू बौलाहा हुनेछौ।

35 परमप्रभुले तिम्रा घुँडा र खुट्टामा निको पार्न नसकिने र पीडा हुने घाउहरू पठाइदिनुहुनेछ। शिरदेखि पैतालासम्‍म तिमीहरूलाई पिलोले सताउनेछ।

36 “परमप्रभुले तिमीहरू र तिम्रा राजालाई तिमी वा तिम्रा पुर्खाहरू अघि कहिल्‍यै नबसेका परदेशमा पुर्‍याउनुहुनेछ, जहाँ तिमीहरूले काठ र ढुङ्गाले बनेका देव-देवताको सेवा गर्नेछौ।

37 जुन देशहरूमा परमप्रभुले तिमीहरूलाई छरपष्‍ट पारी पठाउनुहुनेछ, त्‍यहाँका मानिसहरू तिम्रा हालत देखेर छक्‍क पर्नेछन्। तिनीहरूले तिम्रा हाँसो र गिल्‍ला गर्नेछन्।

38 “तिमीहरूले धेरै बिउ छर्नेछौ तर थोरै अन्‍न बटुल्‍नेछौ किनभने सलहले तिम्रो बाली खानेछ।

39 तिमीहरूले दाखबारी लाएर खुब जतन गर्नेछौ तर तिनका दाख टिप्‍न वा दाखमद्य पिउन पाउनेछैनौ किनभने दाखको बोटमा किरा लाग्‍नेछ।

40 देशमा जहीँ-तहीँ जैतुनका बोट उम्रनेछन् तर जैतुनको तेल तिमीहरू पाउनेछैनौ किनभने फलहरू झरिजानेछन्।

41 तिम्रा छोरा-छोरीहरू जन्‍मनेछन् तर तिनीहरू तिमीदेखि खोसिनेछन् किनभने तिनीहरू लडाइँमा कैदी भई लगिनेछन्।

42 किराले तिम्रा सबै रूख र अन्‍नबालीहरू खाएर नष्‍ट पार्नेछन्।

43 “तिम्रा देशमा बास गर्ने परदेशीहरूले झन् धेरै शक्ति पाउनेछन् तर तिमीहरूले चाहिँ शक्ति बिस्‍तारै-बिस्‍तारै हराउनेछौ।

44 तिनीहरूसित तिमीहरूलाई सापटी दिने रुपियाँ-पैसा हुनेछ तर तिनीहरूलाई सापटी दिने धन तिमीहरूसित हुनेछैन। अन्‍तमा तिनीहरू तिमीहरूका मालिक हुनेछन्।

45 “यी सबै विपत्तिहरू तिमीहरूमाथि पर्नेछन्। तिमीहरू नाश नभईञ्‍जेलसम्‍म यी विपत्तिहरू रहिरहनेछन् किनभने तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका वचन मानेनौ र उहाँले दिनुभएका नियमहरू सबै पालन गरेनौ।

46 ती सदाकालको निम्‍ति तिमी र तिम्रा सन्‍तानमाथि भएको परमेश्‍वरको दण्‍डको प्रमाण हुनेछन्।

47 परमप्रभुले तिमीहरूलाई हरप्रकारले आशिष् दिनुभयो तर तिमीहरूले खुसी र आनन्‍दित मनले उहाँको सेवा गरेनौ।

48 यसकारण परमप्रभुले तिम्रा विरुद्धमा पठाउन लाग्‍नुभएका शत्रुहरूको तिमीहरूले चाकरी गर्नेछौ। तिमीहरू भोका, प्‍यासा र नाङ्गा हुनेछौ। तिमीहरूलाई सबै कुराको खाँचो हुनेछ। तिमीहरू नाश नभईञ्‍जेलसम्‍म परमप्रभुले निष्‍ठुर प्रकारले सताउनुहुनेछ।

49 परमप्रभुले तिम्रा विरुद्धमा पृथ्‍वीको पल्‍लो छेउबाट एउटा जाति ल्‍याउनुहुनेछ, त्‍यस जातिको भाषा तिमीहरू बुझ्‍नेछैनौ। तिनीहरू तिमीहरूमाथि गरुडझैँ बेगले झम्‍टी आउनेछन्।

50 तिनीहरू निष्‍ठुर हुनेछन् अनि बुढा-बुढी, स-साना केटा-केटी कसैलाई पनि टिठ्याउनेछैनन्।

51 तिनीहरूले तिम्रा वस्‍तुभाउ र अन्‍नबाली खानेछन् र तिमीहरू भोकै मर्नेछौ। तिम्रा लागि तिनीहरूले कुनै अन्‍न, दाखमद्य, जैतुनको तेल, गाई-वस्‍तु वा भेडाहरू छोडिदिनेछैनन् र तिमीहरू मर्नेछौ।

52 परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा हरेक सहरमाथि तिनीहरूले हमला गर्नेछन्। तिमीहरूले भरोसा राखेका अग्‍ला र बलिया किल्‍लाका पर्खालहरू भत्‍कनेछन्।

53 “जब तिम्रा शत्रुहरूले तिम्रा सहरहरू घेरामा पारेका हुन्‍छन् र तिमीहरू खानेकुराको लागि यति हताश हुनेछौ कि परमप्रभु तिम्रा परमेश्‍वरले दिनुभएका छोरा-छोरीहरू पनि खानेछौ।

54-55 उच्‍च कुलका सबैभन्दा भद्र मानिस पनि घेरामा परेको बेलामा यति हताश हुनेछ कि आफूसित अरू खानेकुरा नभएर उसले आफ्‍ना छोरा-छोरीहरूमध्‍ये कतिलाई खानेछ। उसले त्‍यसबाट अलिकता पनि आफ्‍नै भाइ वा आफ्‍नी माया गरेकी स्‍वास्‍नी वा आफूसित बाँचेका छोरा-छोरीहरूलाई पनि दिनेछैन।

56-57 उच्‍च कुलकी सबैभन्दा भद्र स्‍त्री यति धनी कि ऊ कतै कहिल्‍यै हिँडेर जाँदिन, उसले पनि त्‍यसै गर्नेछे र शत्रुले उसको सहर घेरामा पार्दा उसलाई खानेकुराको यस्‍तो सङ्कष्‍ट हुनेछ कि आफूले भर्खर जन्‍माएको बच्‍चा त्‍यसको साल-नालसमेत त्‍यसले गुप्‍तमा खानेछ। आफूले प्रेम गरेका लोग्‍ने वा अरू कुनै आफ्‍ना बालबच्‍चाहरूसित त्‍यसले त्‍यो बाँडी खानेछैन।

58 “यस पुस्‍तकमा लेखिएका परमेश्‍वरका शिक्षाहरू सबै तिमीहरूले विश्‍वासयोग्‍यसाथ पालन गरेनौ र परमप्रभु आफ्‍ना परमेश्‍वरका अचम्‍मको र भययोग्‍य नामको आदर गरेनौ भने

59 उहाँले तिमी र तिम्रा सन्‍तानमाथि निको पार्न नसकिने रोगहरू र कहिल्‍यै नरोकिने डरलाग्‍दा महामारीहरू पठाउनुहुनेछ।

60 तिमीहरूले मिश्रमा भोगेका सबै डरलाग्‍दा रोगहरू उहाँले फेरि एकचोटि तिमीहरूमाथि ल्‍याउनुहुनेछ र तिमीहरू कहिल्‍यै फेरि निको हुनेछैनौ।

61 परमेश्‍वरका नियम र शिक्षाहरूको यस पुस्‍तकमा नलेखिएका हरप्रकारका रोग र महामारीहरू पनि उहाँले पठाउनुहुनेछ र तिमीहरू नष्‍ट भई जानेछौ।

62 तिमीहरूको सङ्‍ख्‍या आकाशका ताराझैँ धेरै भए तापनि तिमीहरूमध्‍ये थोरै मात्र रहनेछौ किनभने तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञा मानेनौ।

63 जसरी तिमीहरूको फलिफाप गराउँदा र सङ्‍ख्‍या बढाउँदा परमप्रभुले आनन्‍द पाउनुभयो, त्‍यसरी नै तिमीहरूलाई नाश पार्दा र विनाश गर्दा उहाँले आनन्‍द पाउनुहुनेछ। तिमीहरूले अधिकार गर्न लागेका देशबाट तिमीहरू जरैसमेत उखेलिनेछौ।

64 “पृथ्‍वीको वल्‍लो छेउदेखि पल्‍लो छेउसम्‍म, सबै जातिहरूका बीचमा परमप्रभुले तिमीहरूलाई छरपष्‍ट पार्नुहुनेछ। त्‍यहाँ तिमीहरूले आफू वा आफ्‍ना पुर्खाले अघि कहिल्‍यै नपुजेका काठ र ढुङ्गाले बनेका देवताहरूको सेवा गर्नेछौ।

65 कहीँ तिमीहरूले शान्‍ति पाउनेछैनौ। आफ्‍नो भन्‍ने कुनै ठाउँ हुनेछैन। चिन्‍ता फिक्री, निराश र हताशद्वारा परमप्रभुले तिमीहरूलाई व्‍याकुल पार्नुहुनेछ।

66 तिम्रा प्राण सधैँ खतरामा हुनेछ। दिनरात तिमी डरले थुर्‌थुर्‌ भइरहनेछौ अनि तिम्रो मनमा मृत्‍युको डर निरन्‍तर भइरहनेछ।

67 हरचीज देख्‍दा तिमीहरूका मुटु डरले ढुकढुक हुनेछन्। हरेक बिहान कहिले रात पर्ला र हररात कहिले बिहान होला भनी तिमी भन्‍नेछौ।

68 परमप्रभुले तिमीहरूलाई फेरि मिश्रमा कहिल्‍यै जानुपर्दैन भन्‍नुभएको भए तापनि जहाजहरूद्वारा मिश्रमा फर्काइपठाउनुहुनेछ। त्‍यहाँ तिमीहरू आफ्‍ना शत्रुका बीचमा आफूलाई कमारा-कमारी बनाएर बेच्‍ने चेष्‍टा गर्नेछौ तर कसैले पनि तिमीहरूलाई किन्‍न चाहनेछैन।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy