दानिएल 10 - सरल नेपाली पवित्र बाइबलटाइग्रिस नदी छेउमा दानिएलको दर्शन 1 फारस देशका राजा कोरेसले राज्य गरेको तेस्रो वर्षमा दानिएलकहाँ (जसलाई बेलतसजर पनि भन्थे) एउटा सन्देश आयो। त्यो दर्शनको सन्देश साँचो थियो र ठूलो युद्धको बारेमा थियो। त्यस सन्देशको अर्थ उनले दर्शनमा पाए। 2 त्यस बेला म दानिएलले तीन हप्तासम्म शोक गरिरहेको थिएँ। 3 मैले तीन हप्ता नबितेसम्म कुनै स्वादिष्ट भोजन खाइनँ, मासु खाइनँ, दाखमद्य पिइनँ, केश कोरिनँ। 4 त्यस वर्षको पहिलो महिनाको चौबीसौँ दिनमा म ठूलो टाइग्रिस नदीको किनारमा खडा थिएँ। 5 मैले मास्तिर हेरें र एक जना मिहिन सुती लुगा लाएका र कमरमा निखुर सुनको पेटी बाँधेका मानिसलाई देखें। 6 उनको शरीर मणिझैँ चम्कन्थ्यो, अनुहार बिजुली चम्केझैँ उज्यालो थियो र आँखा राँकोझैँ बल्दथे। उनका हात-पाउ टल्काइएका काँसाझैँ टल्कन्थे र सोरचाहिँ एउटा ठूलो भीडको आवाजझैँ सुनिन्थ्यो। 7 त्यो दर्शन देख्ने म एक जना मात्र थिएँ। मसित भएका मानिसहरूले केही देखेनन् तर तिनीहरू डराए र भागेर लुके। 8 यो उदेकको दर्शन हेर्न म मात्र त्यहाँ एक्लै छोडिएँ। डरले ममा केही बल रहेन र मेरो अनुहार बदलियो। मलाई कसैले चिन्न सक्ने भएन। 9 उनको सोर सुनेर म बेहोश भई जमिनमा घोप्टो परेर लडें। 10 तब एउटा हातले मलाई समातेर मेरा हात र घुँडामा मलाई उभ्यायो। म अझै कामिरहेको थिएँ। 11 स्वर्गदूतले मलाई भने, “ए दानिएल, परमेश्वरले तिमीलाई प्रेम गर्नुहुन्छ। सिधा भई उभ र मैले के भन्न लागेको छु, होशियारसित सुन। म तिमीकहाँ पठाइएको छु।” उनले त्यसो भनेपछि म काम्दै उभिएँ। 12 त्यसपछि उनले भने, “दानिएल, नडराऊ। तिमीले बुझ्ने शक्ति पाउन आफैंलाई नम्र तुल्याएको पहिलो दिनदेखि नै परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ। म तिम्रो प्रार्थनाको उत्तर दिन आएको छु। 13 फारस देशको शासकले एक्काईस दिनसम्म मेरो विरोध गर्यो। त्यसपछि एउटा मुख्य स्वर्गदूत मिखाएलले मलाई सहायता गर्न आए किनभने म फारस देशमा एक्लै छोडिएको थिएँ। 14 अनि भविष्यमा तिम्रा जातिका मानिसहरूलाई के हुनेछ सो तिमीलाई बुझाउन म आएको छु। यो ती आउँदा दिनहरूको बारेमा दिइएको दर्शन हो।” 15 उनले त्यसो भनेपछि मैले अवाक् भएर जमिनमा हेरिरहें। 16 तब ती मानिसजस्ता देखिने स्वर्गदूतले हात उचालेर मेरा ओठ छोए। मैले उनलाई भनें, “हजुर, यस दर्शनले मलाई यति कमजोर बनाएको छ कि मेरो कम्पन रोक्नै सक्तिनँ। 17 आफ्नो मालिकको अघि उभिएको कमाराझैँ मेरो हालत छ, म कसरी तपाईंसित बोल्न सक्छु र? ममा बल वा सास छँदैछैन।” 18 फेरि एकपल्ट तिनले मलाई समाते र म केही बलियो भएँ। 19 उनले भने, “परमेश्वरले तिमीलाई प्रेम गर्नुहुन्छ। तिमी नडराऊ, तिमीलाई शान्ति होस्, बलियो र साहसी होऊ।” उनले त्यसो भनेपछि म अझै बलियो भएँ। मैले भनें, “हजुर, भन्नुहोस्। तपाईंले मलाई बल दिनुभएको छ।” 20-21 उनले भने, “म किन तिमीकहाँ आएँ, के तिमी जान्दछौ? सत्य वचनको पुस्तकमा के लेखिएको छ, सो बताउन म तिमीकहाँ आएको छु। अब फर्केर गई मैले फारसको त्यस शासकसित लडाइँ गर्नुपरेको छ। त्यसपछि ग्रीसको शासक आउनेछ। मलाई सहायता गर्ने स्वर्गदूत मिखाएलबाहेक अरू कोही छैनन्। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society