प्रेरित 9 - सरल नेपाली पवित्र बाइबलशाऊलको जीवन परिवर्तन भएको ( प्रेरित २२:६-१६ ; २६:१२-१८ ) 1 त्यति बेलासम्म पनि शाऊल प्रभु येशूका चेलाहरूलाई मार्ने धम्की दिँदै हिँडिरहेका थिए। तिनले प्रधान पूजाहारीकहाँ गएर 2 “दमस्कसको सभाघरका शासकहरूलाई मेरो परिचय दिँदै पत्र लेखिदिनुहोस्,” भनेर अनुरोध गरे। “दमस्कस गएर त्यो मुक्ति पाइन्छ भन्ने बाटोमा लागेका पुरुष र स्त्रीसमेत सबैलाई खोजी-खोजी पक्रेर यरूशलेममा ल्याउन पाऊँ,” भनी तिनले अधिकार मागे। 3 शाऊल दमस्कस सहर जाँदै थिए। जाँदाजाँदै सहरको नजिकै पुग्दा एक्कासि आकाशबाट चहकिलो उज्यालो उनको वरिपरि चम्क्यो। 4 शाऊल भूइँमा पछारिए र अचानक उनले यस्तो आवाज सुने, “शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ?” 5 शाऊलले सोधे, “हे प्रभु, तपाईं को हुनुहुन्छ?” “म येशू हुँ, जसलाई तिमी सताउँदै छौ। 6 तर अब उठेर सहरमा जाऊ, तिमीले गर्नुपर्ने काम त्यहाँ तिमीलाई बताइनेछ।” 7 शाऊलसँगै जाने मानिसहरू लाटाजस्तै अक्क न बक्क भई उभिरहेका थिए। तिनीहरूले त्यो आवाज त सुने, तर कसैलाई देखेनन्। 8 शाऊल भूइँबाट उठे। तर हेर्न खोज्दा त केही पनि देख्न सकेनन्। त्यसो हुँदा तिनका साथीहरूले तिनलाई डोर्याएर दमस्कसमा ल्याए। 9 त्यहाँ तिनले तीन दिनसम्म आँखा पनि देखेनन्, खाना पनि खाएनन् र पिउन पनि पिएनन्। 10 अब दमस्कसमा हननिया भन्ने प्रभु येशूका एक जना चेला थिए। तिनलाई एउटा दर्शन दिइयो, दर्शनमा प्रभुले यसरी बोलाउनुभयो, “हे हननिया!” “आज्ञा होस् प्रभु!” हननियाले भने। 11 प्रभुले भन्नुभयो, “उठेर सीधा भन्ने गल्लीमा जा र त्यहाँ यहूदाको घरमा टार्सस सहरबाट आएको शाऊल भन्ने मानिसको खोजी गर्। त्यहाँ उसले प्रार्थना गरिरहेको छ। 12 उसले दर्शनमा आफ्नो आँखा खोलियोस् भनेर हननिया भन्ने मानिसले आफूमाथि हात राखिरहेको देखेको छ।” 13 हननियाले जवाफ दिए, “हे प्रभु, ती मानिसले यरूशलेममा भएका तपाईंका पवित्र जनहरूलाई ज्यादै सताएको कुरा मैले धेरै जनाबाट सुनेको छु। 14 तपाईंको नाउँ लिनेहरूलाई पक्रने अधिकार मुख्य पूजाहारीहरूबाट पाएर तिनी यहाँ आएका छन्।” 15 प्रभुले भन्नुभयो, “तँ जानुपर्छ किनभने अरू जातिका मानिस र तिनीहरूका राजाहरू र इस्राएलीहरूका बीचमा मेरो नाउँ प्रचार गर्न मैले त्यसलाई नै चुनेको छु। 16 त्यसले मेरो लागि कतिको दु:ख सहनुपर्नेछ, त्यो म त्यसलाई देखाउनेछु।” 17 प्रभुले भन्नुभएको सुनेर हननिया गए। यहूदाको घरमा पसेर शाऊलमाथि आफ्ना हात राख्तै भने, “हे शाऊल भाइ, तिमीले यहाँ आउँदा बाटोमा देखेका प्रभु येशूले नै मलाई पठाउनुभएको हो। तिमीले फेरि देख्न सक र पवित्र आत्माले भरपूर होऊ भनेर उहाँले मलाई पठाउनुभएको हो।” 18 हननियाले यो कुरा भन्नेबित्तिकै शाऊलका आँखाबाट केही खसेजस्तै भयो र तिनले देख्न सक्ने भए अनि तिनले उठेर बप्तिस्मा लिए 19 र खाना खाएपछि तिनमा फेरि तागत आयो। केही दिनसम्म शाऊल दमस्कसमा प्रभु येशूका चेलाहरूसँगै बसे। शाऊलले दमस्कसमा प्रचार गरेका 20 तिनी तुरुन्तै सभाघरहरूतिर पसेर “प्रभु येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ,” भनी प्रचार गर्न लागे। 21 तिनको कुरा सुन्नेहरू सबै छक्क परेर भन्न लागे, “के यरूशलेममा येशूको नाउँ लिने जतिलाई खतम गर्न खोज्ने मानिस यही नै होइन र? यहाँ पनि येशूको चेलाहरूलाई पक्रेर मुख्य पूजाहारीहरूकहाँ लैजान ऊ आएको होइन र?” 22 तर शाऊलको प्रचार झन्-झन् शक्तिशाली हुँदै गयो। येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर तिनले यस्तो पक्का प्रमाण दिए कि दमस्कसका यहूदीहरूले केही पनि जवाफ दिन सकेनन्। 23 निक्कै दिन बितेपछि यहूदीहरू जम्मा भएर शाऊललाई मार्ने मतो गरे। 24 तर आफूलाई मार्न खोजेको कुरा शाऊलले थाहा पाए। यहूदीहरू तिनलाई मार्न रातदिन दमस्कसको ढोकाहरूमा ढुकिरहेका हुनाले 25 एक दिन रात परेपछि चेलाहरूले शाऊललाई टोकरीमा हाले र सहरको पर्खालबाट झारेर बाहिर भगाए। शाऊल यरूशलेम सहरमा 26 यरूशलेम फर्केपछि शाऊल प्रभु येशूका चेलाहरूसँग मिल्न खोजे। तर चेलाहरू शाऊलसँग डराए किनभने उनी साँच्चै प्रभुका चेला हुन् भनेर तिनीहरूले विश्वासै गर्न सकेनन्। 27 तर बारनाबास नाउँ भएका चेलाले शाऊललाई साथ दिँदै प्रेरितहरूकहाँ लगे। शाऊलले बाटोमा प्रभुलाई देखेको र प्रभुले तिनीसँग कुरा गर्नुभएको र त्यसपछि तिनले दमस्कसमा येशूको नाउँमा साहससँग प्रचार गरेको, सबै कुरा बारनाबासले तिनीहरूलाई बताइदिए। 28 शाऊल तिनीहरूसँगै बसे अनि यरूशलेमभरि साहससित प्रभुको प्रचार गर्दै हिँडे। 29 तिनले ग्रीक भाषा बोल्ने यहूदीहरूसँग पनि वाद-विवाद गरे। तर तिनीहरूले शाऊललाई मार्न खोजे। 30 यो थाहा पाएर प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले शाऊललाई कैसरिया सहरमा लगे र त्यहाँबाट टार्सस सहरतिर पठाए। 31 त्यसपछि यहूदिया, गालील र सामरिया क्षेत्रमा भएका सबै मण्डलीहरूलाई ढुक्क भयो। प्रभुका चेलाहरूले पवित्र आत्माबाट साहस पाए र मण्डलीको उन्नति भयो। चेलाहरू परमेश्वरको डर राखेर हिँड्थे र मानिसहरू पनि थपिंदै गए। पत्रुस लुड्डा र योप्पा सहरमा 32 पत्रुस यताउता सबै ठाउँमा यात्रा गर्दै लुड्डमा भएका प्रभुका जनहरूकहाँ पनि आइपुगे। 33 त्यहाँ पत्रुसले एनियास भन्ने मानिसलाई भेटे। तिनी कुँजो पार्ने रोगले गर्दा आठ वर्षसम्म ओछ्यानबाट उठ्न सकेका थिएनन्। 34 पत्रुसले तिनलाई भने, “ए एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नुहुन्छ। उठेर आफ्नो ओछ्यान मिलाऊ।” एनियास तुरुन्तै उठे र हिँड्न सक्ने भए। 35 तिनी यसरी निको भएको देखेर लुड्डा र शारोनमा बस्ने जति सबै मानिसहरूले प्रभुमाथि विश्वास गरे। 36 योप्पा सहरमा तबीता भन्ने एक जना प्रभुमा विश्वास गर्ने बहिनी थिइन्। ग्रीक भाषामा तिनलाई डोरकास भनिन्थ्यो। त्यसको अर्थ हरिणी हो। तिनी सधैँ अरूको भलाइ गर्थिन् र गरीबहरूलाई सहायता दिन्थिन्। 37 पत्रुस लुड्डामा हुँदा तिनी बिरामी परेर मरिन् र मानिसहरूले तिनको लाशलाई धोइधाइ पारी घरको माथिल्लो तलाको एउटा कोठामा राखे। 38 योप्पा लुड्डादेखि धेरै टाढा पर्दैनथ्यो र पत्रुस लुड्डामा छन् भन्ने कुरा चेलाहरूले थाहा पाए। तिनीहरूले दुई जना मानिसहरूलाई पत्रुसकहाँ यसो भनी पठाए, “दया गरी हामीकहाँ चाँडै आइदिनुहोस्।” 39 यो बिन्ती सुनेपछि पत्रुस उठेर तिनीहरूसँग गए। पत्रुस योप्पामा आइपुगेपछि मानिसहरूले उनलाई घरको माथिल्लो तलामा लगे। विधवाहरूचाहिँ तबीताले बनाएको लुगा देखाएर रुँदै पत्रुसको चारैतिर झुम्मिए। 40 पत्रुसले तिनीहरू सबैलाई कोठाबाट बाहिर निकालेर घुँडा टेकी प्रार्थना गरे। त्यसपछि उनले लाशतिर फर्केर भने, “ए तबीता, उठ!” तिनले आँखा उघारिन् र पत्रुसलाई देखी उठेर बसिन्। 41 पत्रुसले तिनको हात समातेर उठाए। त्यसपछि उनले प्रभुका पवित्र जनहरू र विधवाहरूलाई बोलाएर मरेर पनि बाँचेकी तबीतालाई जिम्मा दिए। 42 यो कुरा सारा योप्पा सहरभरि नै फैलियो र धेरैले प्रभुमाथि विश्वास गरे। 43 त्यसपछि पत्रुस केही दिनसम्म छालाको काम गर्ने सिमोनसँगै योप्पामा बसे। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society