प्रेरित 8 - सरल नेपाली पवित्र बाइबलशाऊलले विश्वासीहरूलाई सताएका 1 त्यही दिनदेखि यरूशलेमको मण्डलीलाई ठूलो दु:ख र सतावट हुन लाग्यो। प्रेरितहरूबाहेक प्रभु येशूका अरू चेलाहरू सबै भागेर यहूदिया र सामरिया क्षेत्रहरूमा गएर यताउता छरिए। 2 प्रभुका केही भक्तजनहरूले स्तिफनसलाई मारेकोमा धेरै विलाप गर्दै उनको लाश लगेर चिहानमा राखे। 3 शाऊलले चाहिँ मण्डलीलाई नाश गर्ने कोसिस गर्दै थिए। तिनले घरघरै पसेर प्रभुमा विश्वास गर्ने पुरुष र स्त्री सबैलाई घिसार्दै लगेर झ्यालखानमा हालिदिन्थे। सामरिया क्षेत्रमा सुसमाचारको प्रचार 4 छरिएका प्रभुका विश्वासीहरू जताततै गएर प्रभुको वचन सुनाउन लागे। 5 फिलिपचाहिँ सामरिया सहरमा गए र त्यहाँ मुक्ति दिनुहुने राजा येशूको बारेमा प्रचार गरे। 6 फिलिपको कुरा सुनेर उनले गरेका अचम्मका कामहरू देखेपछि मानिसको भीडहरूले उनलाई ध्यान दिएर सुने। 7 धेरै मानिसहरूबाट भूत चिच्च्याउँदै निस्केर गए अनि कुँजा र लुला-लङ्गडा मानिसहरू निको भए। 8 यसरी सामरिया सहरमा ठूलो हर्ष फैलियो। 9 त्यो सहरमा सिमोन नाउँ गरेको एक जना मान्छे थियो। उसले केही समयदेखि नै सामरियाका मानिसहरूलाई आफ्नो जादूगरीले दङ्ग पारेको थियो। उसले आफैंलाई धेरै ठूलो हुँ भनी ठान्थ्यो। 10 सहरका साना-ठूला सबै मानिसहरूले “त्यसलाई महाशक्ति भनिने दैवीशक्ति” मान्थे। 11 धेरै समयदेखि नै मानिसहरूलाई आफ्नो जादूले दङ्ग पारेको हुनाले सबैले त्यसलाई मान्थे। 12 तर जब फिलिपले परमेश्वरको राज्यको बारेमा प्रचार गर्दै येशू नै मुक्ति दिनुहुने राजा हुनुहुन्छ भन्ने सुसमाचार सुनाए, तब धेरै मानिसहरूले फिलिपको कुरामा विश्वास गरे। पुरुष र स्त्रीहरू दुवैले बप्तिस्मा लिए। 13 सिमोनले पनि विश्वास गर्यो र बप्तिस्मा पायो। त्यसपछि ऊ सधैँ फिलिपसँगसँगै हिँड्न लाग्यो। फिलिपले गरेका अचम्मका कामहरू र चिन्हहरू देखेर ऊ छक्कै पर्थ्यो। 14 सामरिया सहरका मानिसहरूले परमेश्वरको शिक्षा पाए भनेको सुनेर यरूशलेममा हुने प्रेरितहरूले पत्रुस र यूहन्नालाई तिनीहरूकहाँ पठाए। 15 सामरिया सहरमा आइपुगेपछि पत्रुस र यूहन्नाले प्रभुमा विश्वास गरेका मानिसहरूले पवित्र आत्मा पाऊन् भनेर प्रार्थना गरे 16 किनभने तिनीहरू कसैमाथि पनि पवित्र आत्मा आउनुभएको थिएन। तिनीहरूले खालि प्रभु येशूको नाउँमा बप्तिस्मा पाएका थिए। 17 पत्रुस र यूहन्नाले आफ्ना हात प्रभुमा विश्वास गरेका ती मानिसहरूमाथि राखे र तिनीहरूले पवित्र आत्मा पाए। 18 ती दुई प्रेरितहरूले हात राखिदिँदा पवित्र आत्मा पाइँदोरहेछ भन्ने सिमोनले देख्यो अनि तिनीहरूलाई पैसा दिँदै 19 भन्यो, “मानिसमाथि हात राख्दा पवित्र आत्मा पाउने यो शक्ति मलाई पनि दिनुहोस्।” 20 तर पत्रुसले भने, “तेरो पैसा तँसँगै नरकमा परिजाओस्। तैँले त परमेश्वरको वरदान पनि पैसाले किन्न सकिन्छ भनी सोचिस्। 21 तैँले यो काम गर्न पाउँदैनस्। तेरो यसमा न भाग छ न अधिकार किनभने तेरो मन परमेश्वरको अघि ठीक रहेनछ। 22 अब ‘मैले दुष्ट विचार गरेको छु’ भन्ने कुरा मानिलिएर यस्तो विचार गर्न छोडी परमेश्वरसँग प्रार्थना गर्। सायद उहाँले तेरो यस्तो विचारलाई क्षमा दिनुहुन्छ। 23 तँ ईर्ष्याको तीतोपनले भरिएको र पापको बन्धनमा परेको रहेछस्।” 24 यो सुनेर सिमोनले पत्रुस र यूहन्नालाई भन्यो, “तपाईंले भन्नुभएका यी सबै कुरा ममाथि आइनलागोस् भनेर दया गरी तपाईंहरूले नै मेरो लागि प्रभुसँग प्रार्थना गरिदिनुहोस्।” 25 आफ्नो साक्षी र प्रभुको शिक्षा सुनाएपछि पत्रुस र यूहन्ना यरूशलेमतिर फर्के। फर्केर आउँदा तिनीहरूले सामरिया क्षेत्रका गाउँहरूमा पसेर सुसमाचार सुनाए। फिलिप र इथियोपियाका सरकारी मानिस 26 प्रभुका एउटा स्वर्गदूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर गएर यरूशलेमबाट गाजातर्फ जाने उजाड-स्थानमा पर्ने बाटोमा जाऊ।” 27 फिलिप उठेर हिँडे। त्यति नै बेला इथियोपिया देशका एउटा नपुंसक त्यही बाटो भएर जाँदै थिए। उनी इथियोपिया देशकी महारानी कन्दाकीका ठूलो अख्तियार पाएको खजान्ची थिए। उनी यरूशलेममा गएर परमेश्वरलाई पुजेर घरतिर फर्किंदै थिए 28 र आफ्नो रथमा बसेर यशैया अगमवक्ताले लेखेको पुस्तक पढिरहेका थिए। 29 पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “जाऊ र त्यस रथको साथ लाग।” 30 फिलिप दौडेर रथको नजिक पुगे र ती मानिसले यशैया अगमवक्ताले लेखेको पुस्तक पढिरहेको सुने। फिलिपले उनलाई सोधे, “हजुरले पढिरहनुभएका ती कुराहरू बुझ्नुहुन्छ?” 31 “कसैले नबुझाइदिई मैले कसरी बुझ्ने?” ती मानिसले जवाफ दिए। उनले फिलिपलाई रथमा चढेर आफूसँगै बस्न बिन्ती गरे। 32 ती नपुंसकले पढिरहेको धर्मशास्त्रको भाग यो थियो– उहाँ काट्न लगिने भेडाजस्तो हुनुहुन्थ्यो, ऊन काटिंदा चुप रहने भेडाजस्तै उहाँले आफ्नो मुखबाट कुनै शब्द निकाल्नुभएन। 33 उहाँ यति होच्याइनुभयो कि उहाँले ठीक न्यायसम्म पनि पाउनुभएन अनि उहाँ पृथ्वीबाट लगिनुभयो र उहाँको सन्तानको बयान अब कसले गर्ला? 34 यी नपुंसकले फिलिपलाई सोधे, “दया गरी मलाई बताउनुहोस्, यो कुरा अगमवक्ताले कसको बारेमा भन्नुभएको हो? आफ्नै या अरू कसैको बारेमा?” 35 अनि फिलिपले उनलाई धर्मशास्त्रको त्यही भागदेखि लिएर येशूबाट मुक्ति पाइन्छ भन्ने सुसमाचार सुनाए। 36 बाटोमा जाँदाजाँदै तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे। यी नपुंसकले फिलिपलाई भने, “यहाँ पानी रहेछ! के मलाई बप्तिस्मा लिन अब कुनै कुराले रोक्ला?” 37 [फिलिपले तिनलाई भने, “हृदयदेखि नै विश्वास गर्नुहुन्छ भने तपाईंले बप्तिस्मा लिन सक्नुहुन्छ।” “हो, येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भनेर म विश्वास गर्छु,” ती मानिसले जवाफ दिए।] 38 उनले रथ रोक्न लगाए र उनीहरू दुवै झरेर पानी भएको ठाउँमा गए र फिलिपले उनलाई बप्तिस्मा दिए। 39 उनीहरू पानीबाट बाहिर निस्केपछि प्रभुको आत्माले फिलिपलाई समातेर लानुभयो र ती नपुंसकले फिलिपलाई फेरि देखेनन् अनि तिनी हर्षले गद्गद् भएर आफ्नो बाटो लागे। 40 उता फिलिपले आफैंलाई अश्दोद सहरमा पाए। तिनी कैसरिया सहर नपुगुञ्जेलसम्म सहर-सहर हुँदै सुसमाचार प्रचार गर्दै गए। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society