Online Bible

- Reklamy -

प्रेरित 6 - सरल नेपाली पवित्र बाइबल


सात जना सेवकहरूलाई छानिएको

1 त्‍यस समयमा प्रभु येशूका चेलाहरूको सङ्‍ख्‍या बढिरह्‌यो। बढ्दै जाँदा ग्रीक भाषा बोल्‍ने र हिब्रू भाषा बोल्‍ने यहूदीहरूको बीचमा भनाभन् चल्‍न थाल्‍यो। दिनदिनै खाने कुरा बाँड्दा तिनीहरूको विधवाहरूको वास्‍ता भएन भन्‍ने ग्रीक भाषा बोल्‍ने यहूदीहरूको भनाइ थियो।

2 त्‍यसो हुँदा बाह्र प्रेरितहरूले प्रभुका चेलाहरू जति सबैलाई बोलाएर भने, “परमेश्‍वरको शिक्षालाई छोडेर खाने कुरामा अलमलिनु हामीलाई ठीक हुँदैन।

3 त्‍यसैले हे भाइ हो, तिमीहरूका बीचबाट पवित्र आत्‍मा र ज्ञानले भरिएका सात जना मानिसलाई छान। हामी यो खाने कुराको जिम्‍मा तिनीहरूलाई दिनेछौं।

4 हामी आफैंचाहिँ पूरै समय प्रार्थना र प्रचारको काममा लाग्‍नेछौं।”

5 प्रेरितहरूको विचार सबैलाई मन पर्‍यो। त्‍यसैले तिनीहरूले विश्‍वास र पवित्र आत्‍माले भरपूर भएका स्‍तिफनसलाई चुने र साथसाथै फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास अनि एन्‍टिओखिया सहरका यहूदी धर्म लिएका निकोलाउसलाई पनि चुने।

6 तिनीहरूले ती चुनिएका सात जनालाई प्रेरितहरूको सामने लगे र प्रेरितहरूले प्रार्थना गरेर आफ्‍ना हात तिनीहरूमाथि राखे।

7 यसरी परमेश्‍वरको शिक्षा फैलिंदै गयो। प्रभु येशूका चेलाहरूको सङ्‍ख्‍या यरूशलेममा झन्-झन् बढ्दै गयो र धेरै पूजाहारीहरूले पनि प्रभु येशूमा विश्‍वास गरे।


स्‍तिफनसलाई पक्रिएको

8 स्‍तिफनसले चाहिँ प्रभुबाट धेरै आशिष् र शक्ति पाएका थिए। उनले मानिसहरूका बीचमा अचम्‍म-अचम्‍मका कामहरू गर्दै चिन्‍हहरू देखाउँथे।

9 तर कति मानिसहरूले चाहिँ उनको विरोध गर्न थाले। तिनीहरू यहूदी सभाघरका “स्‍वतन्‍त्र भन्‍ने दलका मानिसहरू अनि अलेक्‍जेन्‍ड्रिया सहर र कुरेनी, किलिकिया र एशिया इलाकाबाट आएका यहूदीहरू थिए। तिनीहरू सबै मिलेर स्‍तिफनससँग तर्कवितर्क गर्न लागे।

10 तर पवित्र आत्‍माले स्‍तिफनसलाई यस्‍तो बुद्धि दिनुभयो, तिनी बोल्‍दा अरूले तिनको सामना गर्नै सकेनन्।

11 यसकारण तिनीहरूले केही मानिसहरूलाई उस्‍काएर ‘हामीले यस मानिसलाई मोशा र परमेश्‍वरको विरुद्ध बोलेका सुनेका छौं’ भन्‍न लगाए।

12 यसरी तिनीहरूले जनता र महासभामा बस्‍ने अगुवा र धर्म-गुरुहरूलाई पनि उस्‍काए। तिनीहरूले स्‍तिफनसलाई पक्रेर महासभाको अगाडि ल्‍याए।

13 त्‍यसपछि तिनीहरूले स्‍तिफनसको बारेमा झूट बोल्‍ने मानिसहरूलाई ल्‍याए। झूट बोल्‍ने मानिसहरूले भने, “यो मानिसले त जहिले पनि हाम्रो पवित्र मन्‍दिर र मोशाले दिनुभएको व्यवस्थाको विरोधमा बोल्‍ने गर्छ।

14 नासरतका येशूले यस मन्‍दिरलाई भत्‍काउनेछ र हामीले मोशादेखि नै मान्‍दै आएका नियमहरूलाई पनि फेर्नेछ रे। यस्‍ता-यस्‍ता कुराहरू यस मानिसले भनेको हामी आफैंले सुनेका छौं।”

15 त्‍यतिखेर महासभामा बस्‍नेहरू सबैले स्‍तिफनसलाई एकोहोरो हेरि नै रहे। तिनको अनुहारचाहिँ स्‍वर्गदूतको जस्‍तो उज्‍यालो भएर चम्‍किरहेको थियो।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy