प्रेरित 2 - सरल नेपाली पवित्र बाइबलपवित्र आत्मा आउनुभएको 1 पेन्तिकोस भनिने यहूदी चाड हुँदा प्रभु येशूमा विश्वास गर्ने सबै मानिसहरू एकै ठाउँमा भेला भएका थिए। 2 त्यस बेला एक्कासि आकाशबाट ठूलो हावा चल्यो र त्यो हावाको आवाजले तिनीहरू बसेको घर भरियो 3 अनि आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे। ती आगोका जिब्राहरू भाग-भाग भएर त्यहाँ भएका सबै मानिसमाथि बसे। 4 तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले पवित्र आत्माबाटै बोल्ने शक्ति पाएर अन्य भाषाहरूमा बोल्न थाले। 5 त्यस समयमा यरूशलेममा संसारका विभिन्न ठाउँबाट यहूदीहरू आएका थिए। तिनीहरू परमेश्वरको डर मान्ने मानिसहरू थिए। 6 यस्तो हल्ला सुनेर मानिसहरू चारैतिरबाट उठेर आए र त्यहाँ ठूलो भीड लाग्यो। ती विभिन्न ठाउँबाट आएका यहूदीहरूले चाहिँ आ-आफ्ना भाषा बोलिरहेको सुने। 7 तिनीहरू ज्यादै छक्क परेर भन्न लागे, “के यी बोल्ने मानिसहरू सबै गालीलीहरू होइनन् र? 8 तब यो कस्तो अचम्म! यिनीहरूले बोलेको भाषा त हामी विभिन्न देशबाट आएका मानिसहरूले आ-आफ्नै देशको भाषामा बोलिरहेको सुन्दै छौं! 9 हामीहरूचाहिँ पार्थीहरू, मादीहरू, एलामीहरू, मेसोपोटामियाका, यहूदियाका, कापाडोकियाका, पोन्टस, एशिया, 10 फ्रिगिया, पामफिलिया, मिश्रदेश, कुरेनीको छेउछाउका लिबियाका क्षेत्रहरू, रोम सहर, 11 क्रेट टापू र अरब देशबाट आएका मानिसहरू हौं। हामी चाहे यहूदी हौं, चाहे यहूदी धर्म लिएका अर्को जातका मानिस हौं, यिनीहरूले परमेश्वरले गर्नुहुने महान् कामहरूको बारेमा बोलेको चाहिँ आ-आफ्नै भाषामा सुन्दै छौं।” 12 यसरी अचम्म र अलमल्ल परेर तिनीहरू एकले अर्कोसँग “यो के हो?” भनेर सोधपुछ गर्न लागे। 13 तर कति जनाले चाहिँ तिनीहरूको हाँसो उडाउँदै भने, “यिनीहरू त धेरै जाँड खाएर मातेका पो छन् क्यारे!” पत्रुसको सन्देश 14 तब पत्रुस र अरू एघार प्रेरितहरू सँगै उभिए र पत्रुसले सबैले सुन्ने गरी भन्न लागे, “हे यहूदी साथी र यरूशलेममा बस्ने दाजुभाइहरू हो, यहाँ के भएको हो, त्यो म तपाईंहरूलाई बुझाउनेछु। अब मैले भन्न लागेका कुराहरू ध्यान दिएर सुन्नुहोस्। 15 तपाईंहरूले सोचेजस्तो यिनीहरू मातेका होइनन्। अहिले त नौ मात्रै बज्दैछ। 16 तर यही कुरा हुनेछ भनेर योएल अगमवक्ताले धर्मशास्त्रमा यसरी लेखेका थिए– हे यहूदी साथीहरू, ध्यान दिएर सुन्नुहोस्। 17 परमेश्वर भन्नुहुन्छ, ‘आखिरी दिनहरूमा म सबै मानिसहरूमाथि मेरो आत्मा खन्याउनेछु अनि तिमीहरूका छोरा-छोरीहरूले अगमवाणी बोल्नेछन्, युवाहरूले दर्शन देख्नेछन् र बुढापाकाहरूले चाहिँ सपना देख्नेछन्। 18 अँ, ती दिनमा म मेरा सेवा गर्ने पुरुष र स्त्रीहरूमाथि आफ्नो आत्मा खन्याउनेछु अनि तिनीहरूले अगमवाणी बोल्नेछन्। 19 माथि आकाश मण्डलमा म अचम्मका चिन्हहरू देखाउनेछु र तल पृथ्वीमा अचम्मका कामहरू गर्नेछु। रगत, आगो र धुवाँका बादल देखापर्नेछन्। 20 प्रभुको त्यो महान् उज्यालो दिन आउनुभन्दा अगाडि सूर्य अँध्यारो भइजानेछ र चन्द्र रगतजस्तो रातो हुनेछ। 21 तर त्यस बेला प्रभुको नाउँ लिनेहरू जतिले चाहिँ उद्धार पाउनेछन्’। 22 “इस्राएली दाजुभाइहरू हो, मेरा कुरा सुन्नुहोस्। परमेश्वरले येशूद्वारा तपाईंहरूको बीचमा शक्तिशाली कामहरू गर्दै अचम्म-अचम्मका चिन्हहरू देखाउनुभएको त तपाईंहरूलाई थाहै छ। ती चिन्हहरूबाट परमेश्वरले नासरतका येशूलाई आफूले नै पठाएको हुँ भन्ने प्रमाण दिनुभयो। 23 परमेश्वरले आफ्नो योजना र ज्ञानअनुसार येशूलाई तपाईंहरूको हातमा सुम्पिदिनुभयो र तपाईंहरूले उहाँलाई दुष्ट मानिसहरूको हातमा सुम्पेर क्रूसमा मार्नसमेत लगाउनुभयो। 24 तर परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभएको छ। परमेश्वरले उहाँलाई मृत्युको शक्तिबाट छुटाउनुभएको छ किनभने उहाँ मृत्युको अधीनमा भइरहनु असम्भव थियो। 25 दाऊद राजाले पनि उहाँको बारेमा यसरी भनेका थिए– मैले प्रभुलाई सधैँ मेरो सामुन्ने देखिरहेको छु। उहाँ मलाई सुरक्षा दिँदै मेरो साथमा रहनुहुन्छ र म डराउनुपर्दैनँ। 26 त्यसैले म हृदयदेखि नै खुसी छु र खुसीको गीत गाइरहन्छु। मरेर जानुपरे पनि म आशामा बाँचेर जिउँदछु 27 किनभने तपाईंले मलाई पातालमा छोड्नुहुन्न, तपाईंले आफ्नो पवित्र जनलाई मरेको मरेकै र कुहिएर नाश हुन दिनुहुन्न। 28 तपाईंले मलाई जीवनको बाटो देखाउनुभएको छ। तपाईंसँग हुँदा म खुसीले रमाउँछु। 29 “हे मेरा दाजुभाइ हो, हाम्रा पुर्खा दाऊदका बारेमा म सफासँग भन्न सक्छु। तिनी मरे र तिनको लाशलाई चिहानमा राखियो अनि त्यो चिहान अझै पनि हामीसँगै छ। 30 तर दाऊद अगमवक्ता थिए र उनकै सन्तानमा एक जना उनको सिंहासनमा बस्नेछन् भन्ने कुरा उनलाई थाहा थियो। परमेश्वरले उनीसँग यो प्रतिज्ञा गर्नुभएको थियो। 31 परमेश्वरले गर्नुहुने काम दाऊदले अघि नै देखिसकेका थिए। यसकारण मुक्ति दिनुहुने राजा ख्रीष्ट मरेकोबाट बिउँतनुहुन्छ भन्ने कुरासँग यो मिल्न आउँछ। ‘उहाँ पातालमा छोडिनुभएन अनि उहाँको शरीर पनि कुहेन’। 32 “अब उही येशू ख्रीष्टलाई परमेश्वरले मरेकोबाट बिउँताउनुभएको छ र यही कुराको हामी सबै साक्षी छौं। 33 परमेश्वर पिताले येशूलाई उच्च पारेर आफ्नो दाहिने हातपट्टि बसाल्नुभयो र आफ्नो प्रतिज्ञाअनुसार उहाँलाई पवित्र आत्मा दिनुभयो। त्यही पवित्र आत्मा प्रभु येशूले अहिले हामीमाथि खन्याउनुभएको हो, जुन कुराचाहिँ तपाईंहरूले अहिले सुन्दै र देख्दै हुनुहुन्छ। 34 स्वर्गमा गएर दाऊद आफैं त परमेश्वरको दाहिने हातमा बसेनन्, तापनि उनले यसरी भने– परमेश्वरले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हाततिर बस, 35 ‘जबसम्म म तिम्रा सबै शत्रुहरूलाई तिम्रा खुट्टामुनि पार्नेछैनँ’। 36 “त्यसैले अब इस्राएलका सबै मानिसले यो कुरा जान्नुपर्छ– तपाईंहरूले क्रूसमा मारेका येशूलाई नै परमेश्वरले प्रभु र मुक्ति दिनुहुने ख्रीष्ट दुवै बनाउनुभएको छ।” 37 पत्रुसले भनेका कुरा सुनेर मानिसहरूको मन हलचल भयो। तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए दाजुभाइ हो, त्यसो भए अब हामी के गरौं?” 38 तब पत्रुसले भने, “तपाईंहरू सबैले आ-आफ्ना पापलाई मानिलिएर छोड्नुहोस् र पाप क्षमाको लागि येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिनुहोस् र तपाईंहरूले परमेश्वरको वरदान पवित्र आत्मालाई पाउनुहुनेछ। 39 यो प्रतिज्ञाचाहिँ तपाईं र तपाईंहरूका छोरा-छोरीको लागि र टाढा-टाढामा रहेका सबैको लागि हो, जस-जसलाई उहाँले बोलाउनुहुन्छ।” 40 पत्रुसले उनीहरूलाई धेरै कुराहरू भनेर साक्षी दिए अनि तिनीहरूलाई राम्ररी सम्झाउँदै भने, “आजका दुष्ट पुस्तामाथि आइपर्ने दण्डदेखि आफैंलाई बचाउनुहोस्।” 41 धेरैले पत्रुसले दिएको सन्देशमा विश्वास गरे र बप्तिस्मा लिए। त्यस दिन बप्तिस्मा लिने मानिसहरू झण्डै तीन हजार जति थिए। 42 तिनीहरू प्रेरितहरूसँग सिक्ने, संगति गर्ने, भोजमा भाग लिने र प्रार्थनामा लगातार लागिरहने गर्दथे। प्रभु येशूमा विश्वास गर्नेहरूको रहनसहन 43 प्रेरितहरूले अचम्मका कामहरू गर्दै धेरै चिन्हहरू देखाउँदथे। त्यसो हुँदा मानिसहरूले परमेश्वरको डर मान्न लागे। 44 प्रभुमा विश्वास गर्नेहरू सधैँ भेला हुन्थे। तिनीहरूका सबै कुरा साझा हुन्थे। 45 तिनीहरूले आफ्ना जग्गाजमिन र चीजबीज बेचेर एक-अर्काको खाँचोअनुसार बाँड्ने गर्दथे। 46 दिनहुँ तिनीहरू मन्दिरमा जम्मा हुन्थे र घर-घरमा मिलेर खुसी र नम्र भएर भोजन खान्थे 47 र सधैँ परमेश्वरको प्रशंसा गर्थे। अरू मानिसहरूले पनि तिनीहरूलाई मन पराउँथे। उद्धार पाएकाहरूको सङ्ख्या तिनीहरूको झुण्डमा प्रभुले दिनदिनै बढाइदिनुभयो। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society