Online Bible

- Reklamy -

प्रेरित 19 - सरल नेपाली पवित्र बाइबल


पावल एफिसस सहरमा

1 अपोल्‍लोस कोरिन्‍थ सहरमा हुँदा पावल एशिया इलाकाको बीचबाट हुँदै एफिसस सहरमा आइपुगे। त्‍यहाँ पावलले प्रभुमाथि विश्‍वास गर्ने केही चेलाहरूलाई भेटे।

2 उनले तिनीहरूलाई सोधे, “के तिमीहरूले प्रभुमा विश्‍वास गरेर पवित्र आत्‍मा पायौ?” तिनीहरूले भने, “पवित्र आत्‍मा हुनुहुन्‍छ भनेर त हामीले सुनेका पनि थिएनौं।”

3 फेरि पावलले सोधे, “त्‍यसो भए तिमीहरूले कस्‍तो किसिमको बप्‍तिस्‍मा पायौ त?” तिनीहरूले जवाफ दिए, “यूहन्‍नाले सिकाएको बप्‍तिस्‍मा पायौं।”

4 पावलले भने, “यूहन्‍नाले सिकाएको बप्‍तिस्‍मा पापबाट मन फिराउनको लागि हो। उनले त ‘मभन्दा पछि आउनुहुनेमाथि नै विश्‍वास गर’ भनेर मानिसहरूलाई बताए। उनको पछि आउनुहुनेचाहिँ येशू नै हुनुहुन्‍थ्‍यो।”

5 यो सुनेपछि तिनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्‍मा लिए।

6 अनि पावलले आफ्‍नो हात तिनीहरूमाथि राखे र पवित्र आत्‍मा तिनीहरूमाथि आउनुभयो। त्‍यस बेला तिनीहरूले अन्‍य भाषाहरू बोले र अगमवाणी बोल्‍न थाले।

7 तिनीहरू जम्‍मा बाह्र जना थिए।

8 पावल यहूदीहरूको सभाघरमा गए र तीन महिनासम्‍म नडराई मानिसहरूलाई शिक्षा दिए। उनले परमेश्‍वरको राज्‍यको बारेमा बहस गरेर तिनीहरूलाई विश्‍वासमा ल्‍याउने कोसिस गरे।

9 तर कतिले मन कठोर पारेर प्रभुमा विश्‍वास गरेनन्। उल्‍टो तिनीहरूले प्रभुले दिनुभएको त्‍यो मुक्ति पाउने बाटोलाई सबैको अगाडि निन्‍दा गरे। यसकारण पावल तिनीहरूको सभाघरमा जान नै छोडिदिए र प्रभुमा विश्‍वास गर्ने चेलाहरूलाई आफैंसँग लगे। त्‍यसपछि पावलले टुरान्‍नस विद्यालयमा दिनदिनै मानिसहरूसँग भेटेर मुक्तिको बारेमा वाद-विवाद गरे।

10 यसरी दुई वर्ष बित्‍यो अनि एशिया इलाकामा बस्‍ने यहूदी र अरू जातिका मानिसहरूसमेत सबैले प्रभुको वचन सुने।

11 परमेश्‍वरले पावलको हातबाट अचम्‍मका असाधारण कामहरू गर्नुभयो।

12 यहाँसम्‍म कि मानिसहरूले पावलको शरीरमा रूमाल वा मजेत्रो छुवाएर बिरामीहरूकहाँ लैजान्‍थे। यसरी ती बिरामीहरू निको हुन्‍थे र भूत लागेकाहरूबाट भूतहरू निस्‍कन्‍थे।

13 ठाउँ-ठाउँमा घुमिहिँड्‍ने झारफुके यहूदीहरूले पनि प्रभु येशूको नाउँमा दुष्‍ट आत्‍मा निकाल्‍न खोजे। तिनीहरूले दुष्‍ट आत्‍मालाई “पावलले प्रचार गरेको येशूको नाउँमा म तँलाई निक्‍लने आज्ञा दिन्‍छु!” भन्‍थे।

14 एक जना स्‍केवास नाउँ भएको यहूदी मुख्‍य पूजाहारीका सात जना छोराहरूले पनि यस्‍तो काम गर्थे।

15 तर एक दिन दुष्‍ट आत्‍माले तिनीहरूलाई भन्‍यो, “येशूलाई म चिन्‍छु, पावललाई पनि म चिन्‍छु, तर तिमीहरूचाहिँ को हौ?”

16 यसो भनेर त्‍यो दुष्‍ट आत्‍मा लागेको मानिस तिनीहरूमाथि झम्‍टेर जित्‍यो र तिनीहरू नाङ्गै-भुतुँगै भई शरीरभरि चोटै-चोट लिएर त्‍यहाँबाट भागे।

17 यो कुरा एफिससमा हुने यहूदी र अरू जातिका मानिसहरूले सुने र सबै डराए। उनीहरूले प्रभु येशूको नाउँलाई ठूलो आदर गरे।

18 धेरै जना विश्‍वास गर्नेहरू आएर आफ्‍नो काम खुल्‍लमखुल्‍ला मानिलिए।

19 धेरैले जादूगरी र धामी-झाँक्रीको बारेमा लेखेका आफ्‍ना पुस्‍तकहरू ल्‍याएर सबैको सामु जलाइदिए। जलाएको पुस्‍तकको मोल अड्कल गर्दा झण्‍डै पचास हजार चाँदीको सिक्‍काको हिसाब हुन आयो।

20 यसरी परमेश्‍वरको शिक्षा शक्तिशाली रूपले फैलँदै र बढ्दैगयो।


एफिसस सहरमा उत्‍पात

21 त्‍यसपछि पावलले माकेडोनिया र अखैया इलाका भएर यरूशलेम जाने निधो गरे। उनले भने, “यरूशलेम गएपछि मैले रोम सहर पनि जानै पर्छ।”

22 त्‍यसपछि उनले आफ्‍नो साथी तिमोथी र इरास्‍तसलाई माकेडोनियातिर पठाए, तर उनी आफूचाहिँ केही दिनसम्‍म एशिया इलाकामा नै बसे।

23 त्‍यस समयमा मुक्तिको बाटोको प्रचार भएको हुनाले एफिससमा ठूलो हलचल मच्‍चियो।

24 डेमेत्रियस नाउँ गरेको सुनारले आर्तेमिस देवीको चाँदीका ससाना मन्‍दिरहरू बनाउँथ्‍यो। यो काम गरेर ऊ र उसले राखेका कारिगरहरूले समेत थुप्रो पैसा कमाउँथे।

25 अब डेमेत्रियसले आफ्‍ना कारिगर र तिनीहरूजस्‍तै पेशा भएका मानिसहरू सबैलाई भेला गराएर भन्‍यो, “भाइहरू हो, तिमीहरूलाई थाहै छ, यही व्‍यापारबाट हामीले पैसा कमाएका हौं।

26 तर त्‍यो पावलले के भन्‍दै छ, तिमीहरू आफैं देख्‍दै र सुन्‍दै छौ। मानिसको हातले बनाएका देवताचाहिँ देवता नै होइनन् भन्‍दै छ। उसले यहाँ एफिसस र एशियामा बस्‍ने सबै जसो मानिसहरूलाई आफ्‍ना कुरा सिकाएर भर्माउन आँटिसक्‍यो।

27 यसरी हाम्रो कामको मात्र होइन, तर महान् देवी आर्तेमिसको मन्‍दिरको पनि हेला हुनेछ अनि एशिया र संसारभरिका मानिसले मान्‍दैआएको महान् देवी आर्तेमिसको पूजा पनि बन्‍द हुनेछ।”

28 यो कुरा सुनेर त्‍यहाँ जम्‍मा भएका मानिसहरूको रगत तात्‍यो र तिनीहरूले कराएर भन्‍न लागे, “एफिससमा रहनुहुने देवी आर्तेमिसको जय!”

29 त्‍यस जय-जयकारले पूरै सहर गुन्जियो र सहरभरि होहल्‍ला मच्‍चिन लाग्‍यो। मानिसहरू हुल बाँधेर आए र माकेडोनियाबाट आएका पावलका साथी गायस र अरिस्‍तार्खसलाई समातेर रङ्गशालामा लगे।

30 पावल भीडको अघि जान खोजे। तर प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूले उनलाई जान दिएनन्।

31 एशिया इलाकाका केही सरकारी हाकिमहरूले समेत पावलको भलाइ चाहेर उनलाई ‘त्‍यस रङ्गशालामा देखा नपर्नुहोस्’ भन्‍ने सल्‍लाह दिए।

32 मानिसको हुलमा ठूलो होहल्‍ला मच्‍चिरहेको थियो। कोही एक थोक भनेर कराउँथे त कोही अर्कै थोक भनेर चिच्‍च्‍याउँथे। तर धेरै मानिसहरूलाई किन भेला भएको हो, त्‍यति पनि थाहा थिएन।

33 त्‍यतिखेर यहूदीहरूले अलेक्‍जेन्‍डर भन्‍ने मानिसलाई अघि सारे। भीडबाट कति जनाले कराउँदै उनलाई भइरहेको घटना बारे बताए। उनले हातको इशाराले सबैलाई शान्‍त गरेर बचाउको लागि केही बोल्‍न खोजे।

34 तर उनलाई यहूदी हुन् भनेर चिनेपछि ती मानिसहरू करिब दुई घण्‍टा जतिसम्‍म “एफिससमा रहनुहुने देवी आर्तेमिसको जय! एफिससमा रहनुहुने देवी आर्तेमिसको जय!” भन्‍दै कराइरहे।

35 आखिरमा नगर-सभाका सचिवले मानिसहरूलाई शान्‍त गराउन सके। उनले भने, “एफिससका दाजुभाइहरू हो, एफिसीहरूको सहरचाहिँ महान् देवी आर्तेमिसको मन्‍दिर र आकाशबाट झरेको उनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र? कसैले पनि यो कुरा होइन भन्‍न सक्‍दैन।

36 त्‍यसो हुँदा तपाईंहरू शान्‍त हुनुहोस्। यसरी जोशमा आएर विचारै नगरी कुनै काम गर्नु राम्रो होइन।

37 तपाईंहरूले समातेर ल्‍याउनुभएका मानिसहरूले नता हाम्रो मन्‍दिर लुटेका छन् न तिनीहरूले हाम्रा देवीको निन्‍दा नै गरेका छन्।

38 यदि डेमेत्रियस र उनका सुनार साथीहरूको कसैको विरोधमा केही कुरा छ भने तिनीहरूले न्‍यायालयमा गएर उजुर गर्न सक्‍छन्।

39 अझै तपाईंहरू त्‍योभन्दा पनि बढी कुनै कुरो चाहनुहुन्‍छ भने हामी नागरिकहरूको सभा बोलाएर त्‍यस कुराको छलफल गरिदिन सक्‍नेछौं।

40 आज यसरी होहल्‍ला मच्‍चिएकोले हामीलाई उत्‍पात मच्‍चाएको दोष लाग्‍ने डर छ। यदि दोष लगाइयो भने कारणबिना नै यस्‍तो हुलदङ्गा मच्‍चाएकोमा हामीले कुनै बहाना पनि गर्न सक्‍नेछैनौं।”

41 यति भनिसकेपछि उनले भीडलाई बिदा गरे।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy