Online Bible

- Reklamy -

२ तिमोथी 4 - सरल नेपाली पवित्र बाइबल


सुसमाचार सुनाउने जिम्‍मा

1 मरेका र जिउँदा सबै मानिसका न्‍याय गर्ने ख्रीष्‍ट येशू र परमेश्‍वरका सामुन्‍ने म तिमीलाई जोड दिएर भन्‍छु। ख्रीष्‍ट आएर राज्‍य गर्नुहुने भएकोले

2 म तिमीलाई परमेश्‍वरको सुसमाचार सुनाउने आज्ञा दिंदै छु। बेलामा भए पनि, कुबेलामा भए पनि सुसमाचार सुनाउन नछोड। तिनीहरूलाई शिक्षा दिंदा शान्‍तिसँग रहेर सम्‍झाऊ, हौसला देओ।

3 मानिसहरूले अब साँचो शिक्षालाई सहँदैनसहने बेला पनि आउँदै छ। तिनीहरू त आफ्‍नै इच्‍छाहरूका पछि लाग्‍नेछन्। तिनीहरूले आफूलाई मज्‍जा लाग्‍ने कुरा सुनाउने शिक्षकहरूलाई नै धेरै बोलाउने गर्छन्।

4 तिनीहरूले त सत्‍य कुराहरूलाई सुन्‍नै सक्‍दैनन् तर दन्‍त्‍यकथाहरू सुन्‍नचाहिँ मन पराउँछन्।

5 तर तिमीचाहिँ सबै कुरामा शान्‍त चित्तको होऊ। दु:ख सहने गर। सुसमाचार सुनाउने काम गर। आफूले पाएअनुसारको सेवा पूरा गर।

6 म त बलि हुन लागिसकेको छु। मेरो त बिदा हुने बेला भइसक्‍यो।

7 म दौडमा राम्रो गरेर दगुरेको छु। मेरो दगुर्ने काम सिद्ध्याएको छु र विश्‍वास जोगाइराखेको छु।

8 अब त परमेश्‍वरको अघि ठीक ठहरिएको मुकुट मात्र पाउन बाँकी छ। ठीकसँग न्‍याय गर्नुहुने प्रभुले नै मलाई त्‍यस दिन त्‍यो मुकुट लगाइदिनुहुनेछ। मलाई मात्र होइन, उहाँ आउनुहुने बाटो हेर्ने जति सबैलाई नै यो लगाइदिनुहुनेछ।

9 सकेसम्‍म मलाई चाँडै भेट।

10 डेमासले यस युगलाई प्रेम गरेर मलाई छोडिदिए र थेसलोनिके गए। क्रेसेन्‍सचाहिँ गलातियामा र तीतसचाहिँ दलमातियामा गएका छन्।

11 मसँग त अहिले लूका मात्र छन्। मर्कूसलाई चाहिँ तिमीले सँगै लिएर आउनू। उनले मेरो काममा धेरै सघाउन सक्‍नेछन्।

12 तुखिकसलाई मैले एफिससमा पठाएको छु।

13 त्रोआसमा कार्पसकहाँ छोडेको मेरो लुगा तिमी आउँदा लिएर आऊ। त्‍यहाँ भएका किताबहरू र छालामा लेखिएका पुस्‍तकचाहिँ नबिर्सी ल्‍याइदेओ।

14 अलेक्‍जेन्‍डर मलाई धेरै नराम्रो गरे। तिनले गरेको कामको फल प्रभुले नै उनलाई दिनुहुनेछ।

15 उनी हाम्रा कुराको ज्‍यादै विरोधी भएका छन्। त्‍यसो हुँदा तिमी पनि होशियार भएर बस।

16 पहिलो पटक मेरो मुद्दा चल्‍दा कसैले पनि मेरो पक्षमा बोलेनन्। सबैले मलाई त्‍यागिदिए। यसको दोष उनीहरूलाई नलागोस्।

17 तैपनि प्रभुले नै मेरो साथमा रहेर मलाई शक्ति दिनुभयो। त्‍यसैले मैले अरू जातिका मानिसहरूलाई परमेश्‍वरको सुसमाचार राम्ररी सुनाउन सकें। यसरी उहाँले मलाई सिंहको मुखबाट बचाउनुभयो।

18 हो, प्रभुले नै मलाई सबै किसिमका खराबीहरूबाट बचाउनुभयो। उहाँले मलाई जोगाएर आफ्‍नो स्‍वर्गको राज्‍यमा लैजानुहुनेछ। उहाँको सदासर्वदा प्रशंसा होइरहोस्। हो, आमेन।

19 प्रिस्‍किला, अकिलास र ओनेसिफरसका घर परिवारलाई मेरो अभिवादन छ।

20 इरास्‍तस कोरिन्‍थमा नै बसेका छन्। त्रोफिमस बिरामी भएका हुनाले उनलाई मैले मिलेटसमा नै छोडें।

21 हिउँद लाग्‍न नपाई चाँडै आऊ। युबुलस, पुडेस, लिनस, क्‍लौडिया र यहाँ भएका सबै भाइहरूले तिमीलाई अभिवादन पठाएका छन्।

22 प्रभु तिम्रो आत्‍मासँगै रहून्। तिमीहरूमा परमेश्‍वरको अनुग्रह रहोस्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy