Online Bible

- Reklamy -

२ तिमोथी 3 - सरल नेपाली पवित्र बाइबल


आखिरी दिनहरू

1 आखिरी दिनहरूमा दु:खका समयहरू आउनेछन् भनेर तिमीलाई थाहा हुनुपर्दछ।

2 त्‍यस बेलाका मानिसहरू आफैंलाई मात्र माया गर्ने, पैसाको लोभ गर्ने र आफूलाई ठूलो सम्‍झने, अभिमानी र निन्‍दा गर्ने हुनेछन्। तिनीहरू आफ्‍ना आमा-बुबालाई नटेर्ने, बैगुनी, अपवित्र हुनेछन्।

3 कसैको माया नगर्ने, निर्दयी र त्‍यसै चुक्‍ली लाउने, छाडा, डरलाग्‍दा, राम्रा कुरा मन नपराउने हुनेछन्।

4 तिनीहरूले अर्कालाई धोखा दिएर, मनपरी गर्दै घमण्‍डले फुलेर हिंड्‍नेछन् अनि परमेश्‍वरको सट्टा मोज-मज्‍जा नै मन पराउँछन्।

5 तिनीहरूले भक्तिको भेष त लिन्‍छन् तर यसको शक्तिलाई चाहिँ लिंदैनन्। यस्‍ता मानिसहरूबाट पनि तिमी अलग्‍गै बस।

6 तिमीहरूका बीचमा कति मानिसहरूले घर-घरमा गएर पापैपापले र पापकै इच्‍छा राख्‍ने स्‍वास्‍नी-मान्‍छेहरूलाई आफ्‍नो वशमा राख्‍नेछन्।

7 ती स्‍वास्‍नी-मान्‍छेहरूले सिक्‍न त सधैँ नै सिकिरहन्‍छन् तर सत्‍य भने कहिले चिन्‍न सक्‍दैनन्।

8 यान्‍नेस र याम्‍ब्रेसले जसरी मोशाको विरोध गरेका थिए, त्‍यसरी नै यी मानिसहरूले पनि सत्‍यको विरोध गर्छन्। यिनीहरूको त बुद्धि नै बिग्रेको छ र विश्‍वासै हराएका छन्।

9 तर तिनीहरूले सधैँ यसो गरिरहन सक्‍नेछैनन् किनभने यान्‍नेस र याम्‍ब्रेसको जस्‍तै नै तिनीहरूको मूर्खता सबैले नै थाहा पाउनेछन्।


आखिरी शिक्षाहरू

10 तर तिमीले चाहिँ मेरो शिक्षा, मेरो चालचलन र विचारलाई लिएका छौ। मेरो विश्‍वास, सहने शक्ति, प्रेम र धैर्यलाई मानेका छौ।

11 एन्‍टिओखिया, आइकोनियन र लुस्‍त्रामा मैले भोगेको दु:ख तिमीले राम्ररी बुझेका छौ। तर प्रभुले नै मलाई ती सबै आपत्‌हरूबाट बचाउनुभयो।

12 ख्रीष्‍ट येशूमा तल्‍लीन भएर असल जीवन बिताउन खोज्‍नेहरूलाई खेदो आइ नै पर्नेछ।

13 तर दुष्‍ट र ठगहरू भने अर्कालाई ठग्‍छु भन्दा आफैं ठगिएर तिनीहरू झन्‌झन् बिग्रँदैजान्‍छन्।

14 तर तिमीचाहिँ आफूले शिक्षा पाएर विश्‍वास गरेका सत्‍यमा लागिराख। कस-कसबाट तिमीलाई शिक्षा मिल्‍यो, यो तिमीलाई थाहै छ।

15 तिमीले सानैदेखि पवित्र धर्मशास्‍त्रका कुराहरू जानेका छौ। यिनै कुराले ख्रीष्‍ट येशूमा विश्‍वास गर्दा मिल्‍ने मुक्तिबारे बुझ्‍ने ज्ञान दिन्‍छ।

16 परमेश्‍वरको प्रेरणाबाट मिलेको पूरै धर्मशास्‍त्र शिक्षा दिनलाई, सच्‍याउनलाई र राम्रो जीवनको तालिम दिनलाई धेरै कामलाग्‍दो छ,

17 परमेश्‍वरको मानिसले सबै असल कामहरू गर्न सक्‍ने होस् भनेर नै धर्मशास्‍त्र दिएको हो।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy