२ शमूएल 9 - सरल नेपाली पवित्र बाइबलदाऊद र मपीबोशेत 1 एक दिन दाऊदले सोधे, “के शाऊलको घरानाको कोही बाँचेको छ? कोही छ भने जोनाथनको खातिर म उसलाई दया गर्नेछु।” 2 शाऊलको घरानामा सीबा नाउँ गरेको एउटा चाकर थियो। त्यसलाई दाऊदको अघि हाजिर हुन बोलाइयो। राजाले सोधे, “के तँ सीबा होस्?” त्यसले जवाफ दियो, “हजुरको सेवामा हाजिर छु, आज्ञा होस्।” 3 राजाले सोधे, “के शाऊलको घरानाको कोही जीवित छ, जसलाई मैले परमेश्वरसँग गरेको प्रतिज्ञाअनुसार दया देखाउन सक्छु?” सीबाले जवाफ दियो, “हजुर, जोनाथनका एउटा छोरा जीवित छन्। उनी लङ्गडा छन्।” 4 राजाले सोधे, “तिनी कहाँ छन्?” सीबाले जवाफ दियो, “तिनी लो-देबारमा अम्मीएलको छोरो माकीरको घरमा छन्।” 5 दाऊद राजाले उनलाई बोलाउन पठाए। 6 जब जोनाथनका छोरा, शाऊलका नाति मपीबोशेत आइपुगे, तब तिनले राजाको सम्मान्मा घोप्टो परी राजालाई दण्डवत् गरे। दाऊदले “मपीबोशेत!” भने र तिनले जवाफ दिए, “हजुर, आज्ञा होस्!” 7 दाऊदले भने, “नडराऊ, तिम्रा पिता जोनाथनका खातिर म तिमीलाई दया गर्नेछु। तिम्रा बाजे शाऊलका सबै जग्गा-जमिन म तिमीलाई फर्काइदिनेछु र मसित भोजन गर्न तिमीलाई सधैँ स्वागत छ।” 8 मपीबोशेतले फेरि दण्डवत् गरी भने, “हजुर, म त एउटा मरेको कुकुरजस्तै छु, ममाथि किन यसरी दया गर्नुहुन्छ?” 9 तब राजाले शाऊलको चाकर सीबालाई बोलाएर भने, “म तेरा मालिकको नाति मपीबोशेतलाई शाऊल र तिनको घरानाको सबै सम्पत्ति दिँदै छु। 10 तँ, तेरा छोराहरू र तेरा कमाराहरूले सो जग्गा-जमिनमा खेतीपाती गरी अन्न बटुलेर तेरा मालिकको निम्ति भोजनको व्यवस्था तैँले गर्नेछस्। तर मपीबोशेत आफैंले चाहिँ मसित सधैँ भोजन गर्नेछन्।” (सीबाका पन्ध्र भाइ छोरा र बीस कमारा थिए।) 11 सीबाले भन्यो, “म हजुरको सबै आज्ञाको पालन गर्नेछु।” यसरी मपीबोशेत राजाका छोराहरूजस्तै भएर राजासित भोजन गर्थे। 12 मपीबोशेतको मीका नाम गरेको एउटा छोरो थियो। सीबाको परिवारमा सबै जना मपीबोशेतका चाकर थिए। 13 यसरी मपीबोशेत, जो दुवै खुट्टाका लङ्गडा थिए, यरूशलेममा बसेर राजासित सबै समयमा भोजन गर्थे। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society