२ शमूएल 8 - सरल नेपाली पवित्र बाइबलदाऊदका विजयहरू ( १ इतिहास १८:१-१७ ) 1 केही समयपछि दाऊदले फेरि पलिश्तीहरूमाथि आक्रमण गरे र तिनीहरूलाई जितेर मेथेग-आमाहमाथि अधिकार जमाए। 2 त्यसपछि उनले मोआबीहरूलाई जिते। उनले कैदीहरूलाई भूइँमा सुत्न लगाए र हरेक तीन कैदीमध्ये दुई जनालाई मार्न लगाए। त्यसरी मोआबीहरू उनका अधीनमा भए र उनलाई कर तिर्थे। 3 तब उनले रहोबको छोरो सिरियाको सोबा राज्यको राजा हददेजेरलाई हराए। त्यस बेला हददेजेर, यूफ्रेटिस नदीको माथिल्लो इलाकामा आफ्नो अधिकार फेरि जमाउन अघि बढिरहेका थिए। 4 दाऊदले तिनका सत्र सय घोडचढी र बीस हजार पैदल सिपाहीहरूलाई कैद गरे। सय वटा रथको निम्ति चाहिने घोडाहरूबाहेक अरू सबै घोडा लङ्गडा बनाइदिए। 5 जब दमस्कसका अरामीहरूले हददेजेरको मद्दतको निम्ति सेना पठाए, तब दाऊदले तिनीहरूलाई हमला गरे र बाईस हजार मानिसहरूलाई मारे। 6 तब तिनीहरूको देशमा तिनले आफ्ना सेनाका छाउनी बसाले र अरामी तिनका अधीनमा भए र तिनलाई राजकर तिर्थे। परमप्रभुले दाऊदलाई सबैतिर विजयी बनाउनुभयो। 7 हददेजेरका अधिकारीहरूले बोकेका सुनका ढालहरू दाऊदले कब्जा गरे र यरूशलेममा लगे। 8 हददेजेरले राज्य गरेका ठाउँ तेबह र बेरोतै सहरबाट धेरै मात्रामा काँसा पनि लिएर गए। 9 दाऊदले हददेजेरका सारा सेनालाई जिते भनी हमातका राजा तोऊले सुने। 10 यसर्थ तिनले आफ्नो छोरो योरामलाई दाऊद राजालाई भेट्न र विजयको निम्ति उनलाई बधाई दिन पठाए। तोऊले हददेजेरको विरुद्धमा धेरैचोटि लडाइँ गरेका थिए। योरामले दाऊदको निम्ति सुन, चाँदी र काँसाका कोसेलीहरू लगेर गए। 11 ती कुरा दाऊद राजाले पूजा-पाठमा चढाउन अर्पण गरे साथै आफूले विजय गरेका देशहरू, अर्थात् 12 एदोम, मोआब, अम्मोन, पलिश्त र अमालेकबाट ल्याएका सुन र चाँदीहरू र हददेजेरबाट लूटेका सामानमध्येबाट पनि यस कामको निम्ति छुट्ट्याए। 13 खारको बेसीमा अठार हजार एदोमीहरूलाई मारेर फर्केपछि दाऊद अझ बढी नामी भए। 14 उनले एदोमभरि फौजी छाउनीहरू बसाले र एदोमीहरू उनका अधीनमा भए। परमप्रभुले दाऊदलाई सबै ठाउँमा विजयी गराउनुभयो। 15 दाऊदले सबै इस्राएलीहरूमाथि राज गरे र आफ्ना प्रजासित उचित र न्यायसँग व्यवहार गरे। 16 योआब, जसकी आमा सरूयाह थिइन्, उनी सेनापति थिए; अहीलूदको छोरो यहोशापात लेखापाल थिए। 17 अहीतूबको छोरो सादोक र अबीयाथारको छोरो अहीमेलेक पूजाहारीहरू थिए, सरायाह राजभवनको सचिव थिए, 18 यहोयादाको छोरो बनायाह राजाका अङ्ग-रक्षकहरूका अध्यक्ष थिए र दाऊदका छोराहरू पूजाहारी थिए। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society