Online Bible

- Reklamy -

२ शमूएल 6 - सरल नेपाली पवित्र बाइबल


करारको सन्‍दुक यरूशलेममा ल्‍याइएको
( १ इतिहास १३:१-१४ ; १५:२५ ; १६:६-४३ )

1 फेरि एकचोटि दाऊदले इस्राएलका सबैभन्दा असल ३०,००० सिपाहीहरू भेला गरे

2 र परमेश्‍वरको करारको सन्‍दुक यहूदाको बालाबाट लिई आउन तिनीहरूलाई साथमा लिई त्‍यहाँ गए। सन्‍दुकचाहिँ स्‍वर्गीय प्राणीहरूमाथि विराजमान हुनुहुने सर्वशक्तिमान् परमप्रभुको नामले चिनिन्‍थ्‍यो।

3 सन्‍दुक तिनीहरूले डाँडाको अबीनादाबको घरबाट निकालेर एउटा नयाँ गाडामा राखे। अबीनादाबका छोराहरू उज्‍जाह र अहियोले गाडालाई डोर्‍याउँदै थिए,

4 अहियो अघि-अघि हिंडिरहेका थिए।

5 दाऊद र सबै इस्राएलीहरू परमप्रभुको सम्‍मानमा बडो जोश र जोडसित नाच्‍दै र गाउँदै थिए। तिनीहरूले सारङ्गी, वीणा, ढोल, खैँजडी र झ्‍याम्‍टा बजाइरहेका थिए।

6 तिनीहरू नाकोनको खलामा आइपुग्‍दा गोरुहरूले ठेस खाए र उज्‍जाहले हात बढाएर करारको सन्‍दुकलाई थामे।

7 तर उत्तिखेरै परमप्रभु उज्‍जाहसित क्रोधित हुनुभयो र तिनको भक्तिहीन कार्यको कारण तिनलाई मार्नुभयो। उज्‍जाह त्‍यहाँ करारको सन्‍दुकको छेउमा मरे।

8 यसैले त्‍यस दिनदेखि त्‍यस ठाउँको नाम फारेस-उज्‍जाह भयो। परमेश्‍वरले आफ्‍नो क्रोधमा उज्‍जाहलाई मार्नुभएकोले दाऊद डराए।

9 त्‍यसपछि दाऊद परमप्रभुसित डराए र भने, “अब कसरी म करारको सन्‍दुक लिएर जान सक्‍छु?”

10 यसैले तिनले सन्‍दुक आफूसित यरूशलेम नलैजाने निर्णय गरे र त्‍यसको बदलीमा अर्कै बाटो लिई त्‍यो गात नगरको बासिन्‍दा ओबेद-एदोमको घरमा पुर्‍याए।

11 त्‍यस घरमा सन्‍दुक तीन महिनासम्‍म रह्यो र परमप्रभुले ओबेद-एदोम र तिनका परिवारलाई आशिष् दिनुभयो।

12 करारको सन्‍दुकको कारणले परमप्रभुले ओबेद-एदोम र तिनका सबै थोकलाई आशिष् दिनुभएको छ भनी दाऊदले सुने र तिनी गएर ओबेदको घरबाट सन्‍दुक बडो धुमधामको साथ यरूशलेममा ल्‍याए।

13 सन्‍दुक बोक्‍ने मानिसहरू छ कदम हिंडेपछि दाऊदले तिनलाई रोके र एउटा साँढे र मोटो बाछो परमप्रभुलाई बलिदान चढाए।

14 दाऊद कम्‍मरमा एउटा मलमलको लुगा मात्र बेरेर परमप्रभुको सम्‍मानमा बडो जोशले नाचे।

15 यसरी तिनी र सबै इस्राएलीहरू मिलेर आनन्‍द-ध्‍वनिसाथ र तुरही बजाउँदै करारको सन्‍दुक यरूशलेममा लिएर आए।

16 सन्‍दुक सहरमा आइपुग्‍दा शाऊलकी छोरी मीकलले झ्‍यालबाट हेरिन् र दाऊद राजालाई उफ्रँदै र नाच्‍दै गरेका देखिन् र मनमनै घृणा गरिन्।

17 सन्‍दुक ल्‍याएर तिनीहरूले दाऊदले त्‍यसको निम्‍ति तयार गरेको पालभित्र ठीक ठाउँमा राखे। त्‍यसपछि तिनले परमप्रभुलाई होमबलि र मेलबलि चढाए।

18 बलि चढाइसकेपछि तिनले सर्वशक्तिमान् परमप्रभुको नाउँमा मानिसहरूलाई आशिष् दिए

19 र सबैलाई खाना बाँडे। तिनले इस्राएलका हरेक पुरुष र स्‍त्रीलाई एकएक वटा रोटी, एक-एक टुक्रा भुटेको मासु र केही किसमिस दिए। त्‍यसपछि सबै जना घर गए।

20 त्‍यसपछि जब आफ्‍ना परिवारलाई भेट्‍न दाऊद महल गए, तब मीकल तिनलाई भेट्‍न आइन् र भनिन्, “इस्राएलका राजाले आफ्‍नो निम्‍ति आज ठूलो नाम कमाए। तिनले आफ्‍ना भारदारहरूका दासीहरूका अघि आफैंलाई मूर्खझैँ तुल्‍याए!”

21 दाऊदले जवाफ दिए, “म परमप्रभुको सम्‍मानमा नाचिरहेको थिएँ, जसले मलाई तिम्रा बुबा र उनको परिवारको सट्टामा चुन्‍नुभयो र आफ्‍ना प्रजा इस्राएलका अगुवा बनाउनुभयो। परमप्रभुको सम्‍मानमा म अझ नाच्‍नेछु

22 र आफैंलाई अझ बढी अपमानित गराउनेछु। तिम्रो निम्‍ति म अपमानित हुँला; तर ती दासीहरूको अघि म औधी सम्‍मानित छु!”

23 शाऊलकी छोरी मीकलको मर्ने बेलासम्‍म पनि सन्‍तान हुन सकेन।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy