२ शमूएल 4 - सरल नेपाली पवित्र बाइबलईश्बोशेतको हत्या 1 जब शाऊलको छोरो ईश्बोशेतले अबनेर हेब्रोनमा मारिए भनी सुने, तब तिनी डराए र सबै इस्राएलीहरू भयभीत भए। 2 ईश्बोशेतका दुई जना अधिकृतहरू थिए, जो छापामार दलहरूका अगुवा थिए। तिनीहरूका नाम बानाह र रेकाब थिए र तिनीहरू बेरोतको बेन्यामीनी कुलको रिम्मोनका छोरा थिए। (बेरोत बेन्यामीनको एक अंश मानिन्छ। 3 त्यहाँका आदिवासीहरू गित्तैममा भागेर गएका थिए र त्यहीँ नै बसोबास गर्दैआएका थिए।) 4 शाऊलका छोरा जोनाथनका मपीबोशेत नाम गरेका एक जना छोरा थिए, शाऊल र जोनाथन मारिंदा तिनको उमेर पाँच वर्षको थियो। तिनीहरू लडाइँमा मारिएको खबर यिजरेल सहरबाट प्राप्त हुँदा मपीबोशेतकी धाईले तिनलाई बोकेर भागेकी थिइन्। तर त्यो ज्यादा हतार गरेर निस्कँदा तिनलाई हातबाट खसाली र उनी लङ्गडो भएका थिए। 5 रेकाब र बानाह ईश्बोशेतको घरतर्फ लागे र त्यहाँ मध्यदिनमा पुगे। त्यस बेला ईश्बोशेत विश्राम गरिरहेका थिए। 6 घरको ढोकामा गहुँ केलाउँदै गरेकी स्त्री निद्रा लागेर मस्त सुतेकी थिई र रेकाब र बानाह सुटुक्क भित्र पसे। 7 घरभित्र पसेपछि तिनीहरू ईश्बोशेतको सुत्ने कोठामा गए, त्यहाँ ईश्बोशेत मस्त निद्रामा थिए र तिनीहरूले तिनलाई त्यहीँ मारे। तिनीहरूले तिनको टाउको काटे र टाउको लिएर रातभरि हिँडी यर्दनको बेसी पार गरे। 8 तिनीहरूले त्यो टाउको हेब्रोनमा दाऊदकहाँ पुर्याएर भने, “हजुरको शत्रु शाऊलको सन्तान ईश्बोशेतको टाउको यहाँ छ, शाऊलले हजुरलाई मार्ने चेष्टा गरेका थिए र आज परमप्रभुले हजुरको पक्षमा शाऊल र तिनका सन्तानमाथि बदला लिनुभएको छ।” 9 दाऊदले बेरोती रिम्मोनका छोराहरू रेकाब र त्यसका भाइ बानालाई जवाफ दिए, “मलाई मेरा सबै कष्टबाट छुटाउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी म साँच्चै भन्दछु। 10 मकहाँ सिक्लगमा शाऊलको मृत्युको खबर ल्याउने मानिसले मलाई राम्रो खबर सुनाएँ भन्ने ठानेको थियो। मैले त्यसलाई पक्रेर मार्न लाएँ। त्यसको खबरको निम्ति मैले त्यसलाई त्यही इनाम दिएँ। 11 आफ्नै घरमा सुतिरहेको एक निर्दोष व्यक्तिको हत्या गर्ने दुष्टहरूलाई झन् कति बढी दण्ड दिनुपर्ला? तिनको हत्या गरेको कारणले म तिमीहरूमाथि बदला लिनेछु र पृथ्वीबाट तिमीहरूको नाउँ-निशाना मेटाइदिनेछु।” 12 दाऊदले त्यस्तै आज्ञा दिए र तिनका सिपाहीले रेकाब र बानाहलाई मारे र तिनका हात र खुट्टा काटेर अलग गरी शरीरचाहिँ हेब्रोनको इनारछेउ झुन्ड्याइदिए। ईश्बोशेतको टाउकोचाहिँ तिनीहरूले लगेर हेब्रोनमा अबनेरको चिहानमा गाडिदिए। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society