Online Bible

- Reklamy -

२ शमूएल 23 - सरल नेपाली पवित्र बाइबल


दाऊदका अन्‍तिम वचनहरू

1 यिशैका छोरा दाऊद थिए, जसलाई परमेश्‍वरले महान् बनाउनुभएको थियो, जसलाई याकूबका परमेश्‍वरले राजा हुन अभिषेक गर्नुभयो र जसले इस्राएलीहरूका निम्‍ति राम्रा भजनहरू रच्‍ने गर्थे। दाऊदका अन्‍तिम वचनहरू यी हुन्:

2 परमप्रभुको आत्‍मा मद्वारा बोल्‍नुहुन्‍छ; उहाँको सन्‍देश मेरा ओठमा छन्।

3 इस्राएलका परमेश्‍वर बोल्‍नुभएको छ; इस्राएलका रक्षकले मलाई भन्‍नुभयो, “जसले न्‍यायसँग राज गर्दछ, र परमेश्‍वरको आज्ञाअनुसार शासन गर्दछ,

4 त्‍यो बादलबिनाको बिहानीमा र हरियाली ल्‍याउने वर्षापछि चम्‍कने घामजस्‍तो हो।”

5 त्‍यसरी परमेश्‍वरले मेरा सन्‍तानलाई आशीर्वाद दिनुहुनेछ किनभने उहाँले मसँग एउटा अनन्‍तको करार बाँध्‍नुभएको छ, एउटा कहिल्‍यै नतोडिने सम्‍झौता तयार पार्नुभएको छ र कहिल्‍यै नबदलिने प्रतिज्ञा दिनुभएको छ। त्‍यत्ति नै म चाहन्‍छु, त्‍यसैमा मेरो विजय छ र निश्‍चय नै परमेश्‍वरले त्‍यो पूरा गर्नुहुने छ।

6 तर दुष्‍ट मानिसहरू फ्‍याँकिने काँडाजस्‍ता हुन्; कसैले तिनलाई नाङ्गो हातले छुन सक्‍दैन।

7 फलामको हतियार वा भालाको प्रयोग गर्नुपर्छ; तिनीहरू आगोले सम्‍पूर्ण भष्‍म पारिन्‍छन्।


दाऊदका नामी योद्धाहरू
( १ इतिहास ११:१०-४१ )

8 दाऊदका नामी योद्धाहरूका नाम यी हुन्– पहिलो तहकमोनीबाट योशब-बश्‍शेबेत, ‘तीन प्रख्‍यात’ मध्‍येका मुख्‍य। तिनले आफ्‍नो भाला लिएर आठ सय मानिसहरूसित युद्ध गरे र एउटै युद्धमा सबैलाई मारे।

9 ‘तीन प्रख्‍यात’ मध्‍येमा दोस्राचाहिँ अहोहीका गोत्रका दोदैका छोरा एलाजार थिए। एक दिन दाऊद र एलाजारले युद्ध गर्न भेला भएका पलिश्‍तीहरूलाई चुनौती दिए। इस्राएलीहरू पछि हटे;

10 तर एलाजारले आफ्‍नो ठाउँ छोडेनन् र आफ्‍नो हात चल्‍न नछोडुञ्‍जेल पलिश्‍तीहरूसँग युद्ध गरिरहे। पछि उनले मुट्ठी खोलेर आफ्‍नो तरवार छोड्‍नसम्‍म सकेनन्। यसरी परमप्रभुले त्‍यस दिन ठूलो विजय दिनुभयो। त्‍यसपछि इस्राएलका मानिसहरू मारिएकाहरूलाई लुट्‍न मात्र एलाजारकहाँ फर्केर आए।

11 ‘तीन प्रख्‍यात’ मध्‍ये तेस्राचाहिँ हरारी आगीका छोरा शम्‍मा थिए। एक दिन पलिश्‍तीहरू लहीमा भेला भएका थिए, त्‍यहाँ एउटा केराउको खेत थियो। इस्राएलीहरू पलिश्‍तीहरूको सामुबाट भागे।

12 तर शम्‍मा खेतको बीचमा अडिरहे र त्‍यसको रक्षाको लागि लडाइँ गरेर पलिश्‍तीहरूलाई मारे। त्‍यस दिन परमप्रभुले ठूलो विजय दिनुभयो।

13 कटनीको समय सुरु हुने बेलामा ‘तीस जना मुख्‍य’ मध्‍ये तीन जना अदुल्‍लामको गुफामा गए। दाऊद त्‍यहाँ थिए र एक दल पलिश्‍तीहरू रपाईंको बेसीमा छाउनी हालेर बसेका थिए।

14 त्‍यस बेला दाऊद एउटा सुरक्षित गढीमा थिए र एक हुल पलिश्‍तीहरूले बेथलेहेम कब्‍जा गरेका थिए।

15 दाऊदलाई आफ्‍नो घरको धेरै याद आयो र तिनले भने, “कसैले बेथलेहेमको ढोकाछेउको कुवाबाट मलाई पिउने पानी ल्‍याइदिए त कस्‍तो हुनेथियो!”

16 ती तीन नामी योद्धाहरू आफ्‍ना पाखुराका बलले पलिश्‍तीहरूका छाउनीका बीचबाट गए र त्‍यो कुवाबाट पानी उठाएर दाऊदकहाँ लिएर आए। तर दाऊदले पानी पिएनन् बरू पानी परमप्रभुलाई भेटीस्‍वरूप चढाइदिए

17 र भने, “परमप्रभु! म यो पानी कहिल्‍यै पिउन सक्‍दिनँ। यो पिउनुचाहिँ आफ्‍नो ज्‍यान खतरामा हालेर पानी लिई आउने पुरुषहरूको रगत पिउनु बराबर हुनेछ!” यसकारण तिनले त्‍यो पानी पिउन इन्‍कार गरे। यी तीन नामी योद्धाहरूले गरेका साहसका काम यिनै हुन्।

18 योआबको भाइ अबीशै ‘तीस जना मुख्‍य’ का अगुवा थिए। (ती दुई भाइकी आमा सरूयाह थिइन्।) अबीशैले आफ्‍नो भाला लिएर तीन सय जनासँग युद्ध गरे र तिनीहरूलाई मारे र ‘तीस जना मुख्‍य’ मध्‍ये प्रसिद्ध भए।

19 ‘तीस जना मुख्‍य’ मध्‍ये तिनी नै सबैभन्दा प्रसिद्ध भए र तिनीहरूका अगुवा बनिए। तर तिनी ‘तीन प्रख्‍यात’ मध्‍येका थिएनन्।

20 कब्‍सेलका यहोयादाका छोरा बनायाह अर्का प्रसिद्ध योद्धा थिए। तिनले धेरै साहसिक कामहरू गरे, जसमध्‍ये दुई ठूला-ठूला मोआबी योद्धाहरूलाई मार्ने काम पनि गरे। एक दिन हिँउ परेको बेलामा तिनले एउटा खाडलभित्र पसी सिंह पनि मारेका थिए।

21 एक जना ठूलो शरीर भएको हातमा भाला लिएको मिश्रीलाई पनि तिनले मारेका थिए। बनायाहले हातमा लाठो लिएर त्‍यो मिश्रीमाथि आक्रमण गरे र त्‍यसका हातबाट भाला खोसी त्‍यसलाई त्‍यसैले मारिदिए।

22 बनायाहका वीरताका काम यस्‍तै थिए। तिनी पनि ‘तीस जना मुख्‍य’ मध्‍ये एक थिए

23 र ती ‘तीस जना मुख्‍य’ मध्‍ये सबैभन्दा नामी थिए। तर तिनी ‘तीन प्रख्‍यात’ मध्‍येका थिएनन्। दाऊदले तिनलाई आफ्‍ना अङ्ग-रक्षकहरूका सेनापति बनाए।

24-39 ‘तीस जना मुख्‍य’ मध्‍ये पर्ने अरू पुरुषहरू यिनीहरू हुन्: योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरा एल्‍हानान, हारोदीका शम्‍मा र एलीका, पल्‍ती-हेलेस, तकोका इक्‍केशको छोरा ईरा, अनातोतका अबीएजेर, हूशातीका मबुन्‍ने, अहोहीका सल्‍मोन, नतोपातीको महरै, नतोपातीका बानाहका छोरा हेलेद, बेन्‍यामीनको गिबाबासी रीबैका छोरा ईथै, पिरातोनीको बनायाह, गाशछेउका बेसीका हिद्दै, अर्बातीको अब्‍बी-अल्‍बोन, बरहूमीका अज्‍मावेत, शाल्‍बोनीको एल्‍याहबा, याशेनका छोराहरू, जोनाथन, हरारीका शम्‍मा, हरारीका शरारका छोरा अहीआम, माकाती आहसबैका छोरा एलीपेलेत, गिलोनका अहीतोपेलका छोरा एलीआम, कर्मेलका हेस्रो, अर्बीका पारै, सोबाका नातानका छोरा यिगाल, गादका बानी, अम्‍मोनीका सेलेक, योआबका हतियार बोक्‍ने बेरोतीबासी नहरै, यित्रीका ईरा र गारेब र हित्ती उरियाह! सबै गरी जम्‍मा सैँतीस जना नाम चलेका योद्धाहरू थिए।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy