Online Bible

- Reklamy -

२ शमूएल 22 - सरल नेपाली पवित्र बाइबल


दाऊदको विजय गीत
( भजनसंग्रह १८ )

1 जब परमप्रभुले दाऊदलाई शाऊल र अरू तिनका शत्रुहरूदेखि बचाउनुभयो, तब तिनले परमप्रभुलाई गाएको भजन यस्‍तो थियो:

2 परमप्रभु मेरा रक्षक हुनुहुन्‍छ; उहाँ मेरा बलियो गढी हुनुहुन्‍छ।

3 मेरा परमेश्‍वर मेरो सुरक्षा हुनुहुन्‍छ, उहाँसँग हुँदा म सुरक्षित छु। ढालले झैँ उहाँले मलाई रक्षा गर्नुहुन्‍छ, उहाँले मलाई आक्रमणबाट सकुशल राख्‍नुहुन्‍छ। उहाँले मेरो उद्धार गर्नुहुन्‍छ; उहाँले मेरो रक्षा गर्नुहुन्‍छ र मलाई हिंसाबाट बचाउनुहुन्‍छ।

4 म परमप्रभुलाई पुकार्दछु र उहाँले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्‍छ। परमप्रभुको प्रशंसा होस्!

5 मृत्‍युका छालहरू मेरा चारैपट्टि छन्; विनाशका तरङ्गहरू ममाथि बहिआएका छन्।

6 मृत्‍युको खतराले मलाई घेरेको थियो, चिहानले मलाई पासो थापेको थियो।

7 मेरो विपत्तिमा मैले परमप्रभुलाई पुकारें; मैले सहायताको लागि मेरा परमेश्‍वरलाई पुकारें। आफ्‍नो मन्‍दिरमा उहाँले मेरो सोर सुन्‍नुभयो; मद्दतको लागि उहाँले मेरो पुकारा सुन्‍नुभयो।

8 पृथ्‍वी हल्‍लियो र काम्‍यो; आकाशका जगहरू कामे र थरथराए किनभने परमेश्‍वर रिसाउनुभएको थियो!

9 उहाँको नाकबाट धुँवा निस्‍क्यो र मुखबाट भस्‍म पार्ने आगोको ज्‍वाला र बलिरहेको आगोका भुङ्ग्राहरू निस्‍के।

10 उहाँका पाउमा कालो बादलसाथ आकाश फटाएर उहाँ उत्रिनुभयो।

11 स्‍वर्गको रथमा उहाँ चाँडो-चाँडो उड्‍नुभयो; उहाँले बतासको पखेटामा यात्रा गर्नुभयो।

12 उहाँले आफैंलाई अन्‍धकारले ढाक्‍नुभयो; पानीले पूर्ण बाक्‍लो बादलले उहाँलाई घेर्‌यो।

13 उहाँको सामुन्‍ने बिजुली चम्‍क्‍यो, त्‍यसबाट बलिरहेका भुङ्ग्राहरू दन्‍केर निस्‍के।

14 तब परमप्रभु आकाशबाट गर्जनुभयो र सर्वशक्तिमान् परमेश्‍वरको सोर सुनियो।

15 उहाँले वाण छोडेर आफ्‍ना शत्रुहरूलाई छरपष्‍ट पार्नुभयो; बिजुली वाणले तिनीहरूलाई भगाउनुभयो।

16 महासागरका तहहरू देखा परे, पृथ्‍वीका जगहरू उघारिए, जब परमप्रभुले आफ्‍ना वैरीहरूलाई हकार्नुभयो र क्रोधले तिनीहरूमाथि गर्जनुभयो।

17 परमप्रभु स्‍वर्गबाट उत्रिनुभयो र मेरो हात समात्‍नुभयो; उहाँले मलाई गहिरो समुद्रबाट तानेर निकाल्‍नुभयो।

18 मेरा शक्तिशाली शत्रुहरू र मलाई घृणा गर्ने सबैहरूदेखि उहाँले मलाई बचाउनुभयो। तिनीहरू मेरो निम्‍ति औधी बलिया थिए।

19 म कष्‍टमा छँदा तिनीहरूले ममाथि हमला गरे, तर परमप्रभुले मेरो रक्षा गर्नुभयो।

20 उहाँले मलाई खतराबाट मद्दत गरेर निकाल्‍नुभयो; उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग प्रसन्‍न हुनुहुन्‍छ।

21 परमप्रभुले मलाई इनाम दिनुहुन्‍छ किनभने जे कुरा ठीक छ, त्‍यो म गर्दछु। यसैले उहाँले मलाई आशीर्वाद दिनुहुन्‍छ किनभने म निर्दोष छु।

22 परमप्रभुका नियमहरू मैले पालन गरेको छु; मेरा परमेश्‍वरदेखि म तर्केर गएको छैनँ।

23 मैले उहाँका सबै नियमहरू पालन गरेको छु, मैले उहाँका आज्ञाहरू भङ्ग गरेको छैनँ।

24 म निर्दोष छु भनी उहाँले जान्‍नुहुन्‍छ। र मैले आफैंलाई खराबी गर्नदेखि जोगाइराखेको छु।

25 जे कुरो ठीक छ, त्‍यो म गर्दछु र म निर्दोष छु भनी उहाँले जान्‍नुहुन्‍छ।

26 हे परमप्रभु, जो तपाईंप्रति विश्‍वासयोग्‍य छन्, तपाईं तिनीहरूप्रति विश्‍वासयोग्‍य हुनुहुन्‍छ र जो सिद्ध छन्, तपाईं तिनीहरूप्रति सम्‍पूर्णरूपले भलो हुनुहुन्‍छ।

27 तपाईं पवित्रहरूसित पवित्र हुनुहुन्‍छ, तर तपाईं दुष्‍टहरूप्रति वैरभाव राख्‍नुहुन्‍छ।

28 तपाईंले नम्रहरूलाई बचाउनुहुन्‍छ; तर तपाईंले अहङ्कारीहरूलाई होच्‍याउनुहुन्‍छ।

29 परमप्रभु, तपाईं मेरो ज्‍योति हुनुहुन्‍छ; तपाईंले मेरो अन्‍धकारलाई हटाउनुहुन्‍छ।

30 तपाईंले मलाई आफ्‍ना शत्रुहरूमाथि हमला गर्ने बल र तिनका सुरक्षा गढी विजय गर्ने शक्ति दिनुहुन्‍छ।

31 परमेश्‍वर! उहाँका कामहरू कति सिद्ध, उहाँका वचनहरू कति भरपर्दा छन्। किनकि उहाँको रक्षा खोज्‍नेहरूका निम्‍ति उहाँ ढालझैँ हुनुहुन्‍छ।

32 परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्‍छ; परमेश्‍वर मात्र हाम्रा रक्षक हुनुहुन्‍छ।

33 परमेश्‍वर नै मेरा बलियो शरणस्‍थान हुन्; उहाँले मेरो मार्ग सुरक्षित राख्‍नुहुन्‍छ।

34 उहाँले मेरा पाउहरू मृगका झैँ तेजिला बनाउनुहुन्‍छ। उहाँले मलाई पहाडहरूमा सकुशल राख्‍नुहुन्‍छ।

35 उहाँले मलाई युद्धको तालिम दिनुहुन्‍छ र म सबैभन्दा बलियो धनु चलाउन सक्‍छु।

36 हे परमप्रभु, तपाईंले मलाई रक्षा गर्नुहुन्‍छ र मलाई बचाउनुहुन्‍छ; तपाईंको सहायताले मलाई महान् तुल्‍याएको छ।

37 तपाईंले मलाई कैदमा पर्नबाट जोगाउनुभएको छ र म कहिल्‍यै पछारिएको छैनँ।

38 म आफ्‍ना शत्रुहरूलाई हेरेर तिनीहरूको हार गराउँदछु, म तिनीहरूलाई नाश नपारुञ्‍जेल थामिन्‍नँ।

39 मैले तिनीहरूलाई हिर्काउँछु, र तिनीहरू उठ्‍न सक्‍दैनन्; हार मानेर तिनीहरू मेरो सामुन्‍ने भूइँमा लड्छन्।

40 तपाईंले मलाई युद्ध गर्ने बल दिनुहुन्‍छ, तपाईंले मेरा शत्रुहरूमाथि विजय दिनुहुन्‍छ।

41 तपाईंले मेरा शत्रुहरूलाई मद्वारा भगाउनुहुन्‍छ; मलाई घृणा गर्नेहरूलाई म नाश पार्दछु।

42 तिनीहरू सहायता खोज्‍दछन्; तर कोही पनि तिनीहरूलाई बचाउन आउँदैन; तिनीहरूले परमप्रभुलाई पुकार्दछन्; तर उहाँले जवाफ दिनुहुन्‍न।

43 म तिनीहरूलाई चकनाचुर पार्दछु र तिनीहरू धूलोजस्‍तो भइहाल्‍छन्। म तिनीहरूलाई बाटोको हिलोलाई झैँ खुट्टाले कुल्‍चन्‍छु।

44 तपाईंले मलाई मेरा विद्रोही प्रजादेखि बचाउनुभयो र जाति-जातिमाथि मेरो शासन दरिलो गरी राख्‍नुभयो; मैले नचिनेका जातिहरू मेरा प्रजा भएका छन्।

45 विदेशीहरूले मेरो अघि दण्‍डवत् गर्दछन्, मेरो सोर सुनेर तिनीहरूले झट्टै मेरो आज्ञापालन गर्छन्।

46 तिनीहरूले आफ्‍ना साहस हराउँछन् र आफ्‍ना किल्‍लाहरूबाट थरथर काम्‍दै निस्‍कन्‍छन्।

47 परमप्रभु जीवित हुनुहुन्‍छ! मेरा रक्षकको प्रशंसा गर! मलाई बचाउनुहुने शक्तिशाली परमेश्‍वरको महान्‌ताबारे झ्‍याली पिटेर भन!

48 उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय दिनुहुन्‍छ, उहाँले जाति-जातिलाई मेरो अधीन गराउनुहुन्‍छ।

49 उहाँले मलाई शत्रुहरूबाट रक्षा गर्नुहुन्‍छ। हे परमप्रभु, तपाईंले मलाई मेरा शत्रुहरूमाथि विजयी बनाउनुहुन्‍छ र हिंसाले भरिएका मानिसहरूदेखि बचाउनुहुन्‍छ।

50 यसैले म जातिहरूका बीच तपाईंको प्रशंसा गर्छु, म तपाईंको प्रशंसाको गीत गाउँछु।

51 परमेश्‍वरले त्‍यसका राजालाई महान् विजयहरू दिनुहुन्‍छ, आफूले चुनेका व्‍यक्तिलाई उहाँले निरन्‍तर प्रेम गर्नुहुन्‍छ, दाऊद र त्‍यसका सन्‍तानहरूप्रति उहाँले निरन्‍तर प्रेम देखाउनुहुन्‍छ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy