Online Bible

- Reklamy -

२ शमूएल 16 - सरल नेपाली पवित्र बाइबल


दाऊद र सीबा

1 दाऊद डाँडाको टुप्‍पोबाट केही टाढासम्‍म पुग्‍दा अचानक मपीबोशेतको चाकर सीबाले उनलाई भेट्यो। दुई सय रोटी, एक सय झुप्‍पा किसमिस, एक सय झुप्‍पा ताजा फलफूल र एक मशक दाखमद्यले लादेका दुई वटा गधा सीबासित थिए।

2 दाऊद राजाले त्‍यसलाई सोधे, “यी सबै तिमीले के गरूँला भनेर लिएका छौ?” सीबाले उत्तर दियो, “राजपरिवारमा सवारीको निम्‍ति यी गधाहरू र हजुरका साथमा आउने मानिसहरूका भोजनको निम्‍ति रोटी, फलफूल र थाक्‍नेहरूका लागि पिउन दाखमद्य ल्‍याएको छु।”

3 राजाले सोधे, “तिम्रा मालिक शाऊलको नाति मपीबोशेत कहाँ छन्?” सीबाले उत्तर दियो, “उनी यरूशलेममा छन्। इस्राएलीहरूले मेरा बाजेका राज्‍य मलाई अब फिर्ता दिनेछन् भनी उनलाई विश्‍वास भएको छ।”

4 राजाले सीबालाई भने, “मपीबोशेतसँग भएका सबै थोक तिम्रा हुन्।” “म हजुरको दास हुँ।” महाराजको निगाह पाए मलाई पुग्‍यो! सीबाले जवाफ दियो।


दाऊद र शिमी

5 दाऊद राजा बहूरीममा आइपुगे। त्‍यहाँ शाऊलको मानिस गेराको छोरो शिमी दाऊदलाई सराप्‍दै भेट्‍न आयो।

6 शिमीले दाऊद र उनका भारदारहरूलाई ढुङ्गाले हान्‍न थाल्‍यो। दाऊदलाई उनका सैनिक र अङ्ग-रक्षकले घेरेका थिए।

7 शिमीले सराप्‍दै भन्‍यो, “जाऊ, ए हत्‍यारा! ए अपराधी, जाऊ!

8 तिमीले शाऊलको राज्‍य हर्‍यौ। शाऊलका त्‍यति विघ्‍न सन्‍तानलाई मारेको हुनाले परमप्रभुले तिमीलाई दण्‍ड दिँदै हुनुहुन्‍छ। तिम्रो राज्‍य परमप्रभुले तिम्रो छोरो अब्‍शालोमको हातमा दिनुभएको छ। ए हत्‍यारा, तिम्रो सर्वनाश भयो!”

9 अबीशै, जसकी आमा सरूयाह थिइन्, उनले राजालाई भने, “राजन्! किन यस कुकुरको छाउरोलाई तपाईंलाई सराप्‍दै भुक्‍न दिनुहुन्‍छ? अघि सरेर त्‍यसको टाउको ठुन्‍क्‍याई ल्‍याउने आज्ञा होस्!”

10 राजाले अबीशै र उनका दाजु योआबलाई भने, “त्‍यो तिम्रो काम होइन। परमप्रभुबाट आज्ञा भएर त्‍यसले मलाई सरापेको हो भने कसले त्‍यसलाई के प्रश्‍न गर्न सक्‍छ र?”

11 दाऊदले अबीशै र आफ्‍ना सबै भारदारहरूलाई भने, “मेरै छोराले मलाई मार्न खोज्‍दै छ। यस बेन्‍यामीनीले जे गर्दै छ, त्‍यसमा किन तिमीहरू छक्‍क पर्छौ? परमप्रभुले त्‍यसलाई सराप्‍ने आदेश दिनुभएको छ। त्‍यसलाई छोडिदेऊ र सराप्‍न देऊ।

12 सायद परमप्रभुले मेरो कष्‍ट हेर्नुहुनेछ र त्‍यसको सरापको सट्टामा केही आशिष् मलाई दिनुहुनेछ।”

13 दाऊद र उनीसँग लागेका मानिसहरू आफ्‍नो बाटो लागिरहे। शिमी उनीहरूसँग नहिँडी डाँडापट्टिको बाटोबाट हिँडे। त्‍यो तिनीहरूलाई सराप्‍दै र ढुङ्गा र माटाले हान्‍दै हिँड्थ्‍यो।

14 यर्दन नजिक पुग्‍दा राजा र उनीसँग लागेका मानिसहरू थाकिसकेका थिए र तिनीहरूले त्‍यहाँ बिश्राम लिए।


अब्‍शालोम यरूशलेममा

15 अब्‍शालोम र तिनीसँग लागेका सबै इस्राएलीहरू यरूशलेममा पसे। तिनीहरूसँग अहीतोपेल थिए।

16 दाऊदका भरपर्दो मित्र हूशैले अब्‍शालोमलाई भेट्दा यसो भन्‍दै चिच्‍च्‍याए, “राजा दीर्घायु होऊन्! राजा दीर्घायु होऊन्!”

17 अब्‍शालोमले उनलाई सोधे, “तिम्रा मित्र दाऊदप्रति भएको तिम्रो राजभक्ति कता गयो? तिमी किन उनीसँग गएनौ?”

18 हूशैले उत्तर दिए, “म कसरी उनीसित जान सक्‍थें? जसलाई परमप्रभुले र यी मानिसहरू र सबै इस्राएलीहरूले चुनेका छन्, उनैपट्टि म लागेको छु। म तयारीसित रहनेछु।

19 आखिरमा आफ्‍ना मालिकको छोराको सेवा नगरी, म अरू कसको सेवा गरूँ? तिम्रा बुबालाई झैँ म तिम्रो सेवा गर्नेछु।”

20 अहीतोपेलतिर फर्केर अब्‍शालोमले भने, “हामी यहाँ आइपुग्‍यौं। अब हामी कसो गरौं? तपाईंको के सल्‍लाह छ?”

21 अहीतोपेलले जवाफ दिए, “गएर तपाईंको बुबाले राजमहलका रेखदेखको निम्‍ति छोडिराखेका उनका रखौटीहरूसित सुत्‍नुहोस्। तब तपाईंले आफूलाई आफ्‍नै बुबाले तपाईंलाई आफ्‍ना पक्‍का शत्रु ठानेका छन् भनी इस्राएलमा भएका सबैले जान्‍नेछन् र तपाईंसँग लाग्‍नेहरूको विश्‍वास अझ बलियो हुनेछ।”

22 र महलका कौसीमा अब्‍शालोमको निम्‍ति तिनीहरूले एउटा पाल टाँगे र सबैका नजरअघि अब्‍शालोम गई आफ्‍ना बुबाका रखौटीहरूसित सुते।

23 तिनताका अहीतोपेलले दिएका सल्‍लाह परमेश्‍वरकै वचन हुन् भनी सबैले मान्‍दथे। दाऊद र अब्‍शालोम दुवैले उनको सल्‍लाह सुन्‍थे।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy