२ शमूएल 1 - सरल नेपाली पवित्र बाइबलदाऊदलाई शाऊलको मृत्युको खबर 1 शाऊलको मृत्युपछि अमालेकीहरूलाई विजय गरी दाऊद फर्केर सिक्लगमा दुई दिन बसे। 2 तेस्रो दिन शाऊलको छाउनीबाट एउटा केटा त्यहाँ आइपुग्यो। त्यसले शोक प्रकट गर्दै आफ्नो लुगा च्यातेको र टाउकोमा धूलो हालेको थियो। त्यो दाऊदको सामु गयो र भूइँमा घोप्टो परी उनलाई दण्डवत् गर्यो। 3 दाऊदले त्यसलाई सोधे, “तँ कहाँबाट आइस्?” त्यसले भन्यो, “म इस्राएली छाउनीबाट भागिआएको हुँ।” 4 दाऊदले भने, “के भयो। मलाई सबै भन्।” त्यसले जवाफ दियो, “हाम्रो सेना लडाइँको मैदानबाट भाग्यो र हाम्रा धेरै मानिसहरू मारिए। शाऊल र उनका छोरो जोनाथन पनि मारिए।” 5 दाऊदले सोधे, “शाऊल र जोनाथन मारिए भनी तँ कसरी जान्दछस्?” 6 त्यसले जवाफ दियो, “संयोगवश म गिल्बो पहाडमा थिएँ। मैले देखें कि शाऊल आफ्नो भालाको सहाराले उभिरहेका थिए र रथ र घोडचढीहरू खेद्दै उनको नजिक आइपुगेका थिए। 7 उनले फर्केर हेरे र मलाई देखे र बोलाए। मैले ‘हजुर, आज्ञा होस्’ भनें। 8 उनले मलाई ‘तँ को होस्’ भनी सोधे र ‘म एक अमालेकी हुँ’, मैले भनें। 9 तब उनले भने, “यहाँ आइज र मलाई मार्। म साह्रै घाइते भएको छु र मर्न आँटेको छु।” 10 यसैले म उनको छेउमा गएँ र मैले उनलाई मारें किनभने म जान्दथें कि उनी भूइँमा लड्ने बित्तिकै मर्नेछन्। तब मैले उनको शिरबाट मुकुट र पाखुराबाट बाजू निकालेर यहाँ हजुरकहाँ ल्याएको छु।” 11 शोक प्रकट गर्दै दाऊदले आफ्नो लुगा च्याते र उनीसँग भएका सबै मानिसहरूले पनि त्यसै गरे। 12 तिनीहरूले शाऊल, जोनाथन र परमप्रभुका प्रजा इस्राएलको निम्ति दु:ख र शोक मनाए र साँझसम्म उपवास बसे कारण धेरै मानिसहरू लडाइँमा मारिएका थिए। 13 त्यो खबर लिएर आउने केटालाई दाऊदले सोधे, “तँ कहाँबाट आएको होस्?” त्यसले जवाफ दियो, “म एक अमालेकी हुँ; तर म तपाईंको देशमा बस्छु।” 14 दाऊदले त्यसलाई सोधे, “परमप्रभुले चुन्नुभएको राजालाई तैँले कसरी मार्ने आँट गरिस्?” 15 तब दाऊदले आफ्नो एक जना मानिसलाई बोलाएर त्यस अमालेकीलाई मार्ने आज्ञा दिए। त्यस मानिसले त्यस अमालेकीलाई प्रहार गर्यो र मार्यो। 16 दाऊदले त्यस अमालेकीलाई भनेका थिए, “तँ आफैंले तेरो मृत्यु आफूमाथि ल्याएको होस्। जब तैँले परमप्रभुले राजा चुन्नुभएको व्यक्तिलाई मैले मारें भनिस्, तब आफ्नै मुखले आफैंलाई दोषी ठहराइस्।” शाऊल र जोनाथनको निम्ति दाऊदको विलाप 17 शाऊल र उनको छोरो जोनाथनको निम्ति दाऊदले त्यसरी विलाप गरे 18 र यहूदाका मानिसहरूलाई यो विलापको गीत सिकाउने आज्ञा गरे। (यो गीत याशारको पुस्तकमा लेखिएको छ।) 19 “हे इस्राएलका पहाडहरू, हाम्रा अगुवाहरू मारिएका छन्! हाम्रा महावीर सिपाहीहरू त्यहाँ ढले! 20 यो कुरा गातलाई नसुनाऊ अथवा अश्कलोनको सडकमा भनी नहिंड्। पलिश्ती नारीहरूलाई खुसी नतुल्याऊ; मूर्तिपूजकका छोरीहरू रमाउन नपाऊन्। 21 “गिल्बोका पहाडमा पानी वा शीत नपरोस्, त्यसका खेतबारी सधैँ सुक्खा रहोस्! किनभने योद्धाहरूका ढाल त्यहाँ अपमानसाथ लडिरहेका छन् र शाऊलको ढाल अब तेल मलेर चम्काइँदैन। 22 जोनाथनको धनुले निशाना चुक्दैनथ्यो, शाऊलको तरवारले नमारी छोड्दैनथ्यो, ती अश्त्र-शस्त्रले बलियाहरूलाई ढाल्दथे र शत्रुहरूलाई सखाप पार्दथे। 23 “शाऊल र जोनाथन कति प्यारा र कति सुन्दर थिए; जीवनमा पनि एकसाथ मृत्युमा पनि एकसाथ; चीलहरूभन्दा बेगवान् र सिंहहरूभन्दा बलिया थिए। 24 “इस्राएलका नारीहरू हो, तिमीहरूलाई बहुमूल्य रातो वस्त्रहरू पहिराइदिने अनि सुन र बहुमूल्य रत्नका गहनाले सिँगारिदिने शाऊलको निम्ति विलाप गर! 25 “वीर सिपाहीहरू ढलेका छन्, तिनीहरू लडाइँमा मारिएका छन्। डाँडामा जोनाथनको लाश लडिरहेको छ। 26 “मेरो भाइ जोनाथन, म तिम्रो निम्ति शोक गर्दछु; तिमी मेरो निम्ति कति प्यारा थियौ! तिम्रो प्रेम मेरो निम्ति कति उदेकको थियो, तिम्रो प्रेम नारीको प्रेमभन्दा उत्तम थियो। 27 “वीर योद्धाहरू ढलेका छन्, तिनीहरूका हात-हतियार बेकामका भई त्यागिएका छन्।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society