Online Bible

- Reklamy -

२ पत्रुस 1 - सरल नेपाली पवित्र बाइबल

1 प्रेरित र सेवक म सिमोन पत्रुस हाम्रा परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको धार्मिकताबाट बहुमूल्‍य विश्‍वास पाउनेहरूलाई:

2 तिमीहरूले परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टलाई चिनेकोले तिमीहरूमा प्रसस्तसँग शान्‍ति र अनुग्रह रहोस्।


परमेश्‍वरको बोलावट र छनोट

3 पवित्र जीवन जिउनलाई चाहिएका सबै कुरा परमेश्‍वरको शक्तिबाट नै पाएका छौ किनभने आफ्‍नो महिमा र भलाइद्वारा बोलाउनुहुने परमेश्‍वरलाई हामीले चिनेका छौं।

4 यसरी नै उहाँले प्रतिज्ञा गर्नुभएको ठूलो र अनमोल वरदान हामीलाई दिनुभयो। यसको कारणचाहिँ यस वरदानद्वारा तिमीहरू यस संसारमा भएको नाश गर्ने कुइच्‍छाबाट जोगिएर ईश्‍वरीय स्‍वभावको सहभागी होओ भनेर हो।

5 यसैकारण जति सक्‍दो तिमीहरूको विश्‍वासमा भलाइ थप्‍ने कोसिस गर। भलाइमा ज्ञान थप,

6 ज्ञानमा संयम थप, संयममा धैर्य थप, धैर्यमा भक्ति,

7 भक्तिमा दाजुभाइहरूको माया, दाजुभाइको मायामा प्रेम थप।

8 तिमीहरूलाई चाहिने गुण यिनै हुन् अनि यी गुण प्रसस्त भए भने तिमीहरू हाम्रा प्रभु येशूको ज्ञानमा धेरै काम गर्ने र फल फलाउने हुनेछौ।

9 तर यी गुण नहुनेहरू त परसम्‍मको कुरा नदेख्‍ने अन्‍धाहरू हुन्। तिनीहरूले आफ्‍ना पाप धोएको पनि बिर्सिसकेका हुन्‍छन्।

10 यसैकारण दाजुभाइहरू, परमेश्‍वरले तिमीहरूलाई बोलाउनुभएको र चुन्‍नुभएको अनुभवलाई पक्‍का गर्ने कोसिस गर। तिमीहरूले यसो गर्‍यौ भने आफ्‍नो विश्‍वास कहिल्‍यै त्‍याग्‍नेछैनौ।

11 यसरी नै हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको सधैँभरि रहने राज्‍यमा तिमीहरूले पस्‍ने हक पाउनेछौ।

12 यसैकारण तिमीहरूलाई यी कुरा सधैँ सम्‍झाउनेछु। हुन त तिमीहरूलाई यी सबै कुरा थाहा छ अनि तिमीहरूले पाएका सत्‍यमा दरिलो पनि भएका छौ।

13 म बाँचुञ्‍जेल तिमीहरूलाई यी कुराको सधैँ सम्‍झना गराइरहनु ठीक छ भनी म ठान्‍छु

14 किनभने यो मेरो माटाको शरीर चाँडै छोड्‍नेछु भन्‍ने मलाई थाहा छ। यो हाम्रा प्रभु येशू ख्रीष्‍टले नै छर्लङ्गै देखाउनुभयो।

15 म मरेपछि पनि यी कुराहरूको सम्‍झना रहोस् भनी जति सक्‍दो म तिमीहरूलाई सधैँ बुझाउनेछु।


ख्रीष्‍टको महिमाको साक्षी

16 हाम्रा प्रभु येशू ख्रीष्‍ट ठूलो महिमा र शक्तिमा फेरि आउनुहुन्‍छ भनी हामीले तिमीहरूलाई दन्‍त्‍यकथाको भरमा बताएका होइनौं। आफ्‍ना आँखाले हामीले उहाँको ठूलो महिमा देख्‍यौं।

17 परमेश्‍वर पिताले उहाँको आदर र सम्‍मान् गर्नुहुँदा अनि “यिनी मेरा प्‍यारा पुत्र हुन्, यिनीसंग म धेरै खुसी छु,” भनेर परममहिमाबाट उहाँलाई आवाज आउँदा हामी त्‍यहाँ थियौं।

18 उहाँसँग हामी पवित्र डाँडामा हुँदा स्‍वर्गबाट आएको यो आवाज हामीहरू आफैंले सुन्‍यौं।

19 यसकारण अगमवक्ताहरूले प्रचार गरेका वचनमा हामी अझ पक्‍का भएर भरोसा राख्‍दछौं। तिमीहरूले यसमा ध्‍यान दिनु राम्रो हो किनभने यसले त्‍यो दिन नआउञ्‍जेलसम्‍म र तिमीहरूको हृदयमा बिहानको ताराको उज्‍यालो नचम्‍कनुञ्‍जेलसम्‍म अन्‍धकारमा बल्‍ने बत्तीको काम गर्छ।

20 तर धर्मशास्‍त्रमा अगमवक्ताले भनेका कुराचाहिँ मान्‍छे आफैंले वर्णन गर्न सक्‍दैन भन्‍ने कुरा विशेष याद गरिराख

21 किनभने अगमवक्ताले भनेका कुरा मानिसका इच्‍छाअनुसार भनेका होइनन्, तर परमेश्‍वरबाट आएको वचन बोल्‍दा तिनीहरू पवित्र आत्‍माको वशमा भएर बोलेका हुन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy