Online Bible

- Reklamy -

२ राजा 4 - सरल नेपाली पवित्र बाइबल


गरीब विधवालाई एलीशाको मद्दत

1 अगमवक्ताहरूमध्‍ये एक जनाकी पत्‍नीले एलीशालाई यसो भनेर बिन्‍ती गरिन्, “हजुर, मेरो लोग्‍ने मरे! उनी परमेश्‍वरको डर मान्‍थे, त्‍यो तपाईंलाई थाहै छ। तर अब उनका साहूले ऋणको सट्टामा मेरा दुई छोराहरूलाई कमारा बनाउन लैजान चाहन्‍छन्।”

2 उनले सोधे, “म तिम्रो निम्‍ति के गर्न सकूँला? तिम्रो घरमा के-के छ, मलाई भन।” “एउटा सानो ढुङ्ग्रोमा जैतुनको तेलबाहेक अरू केही छैन,” तिनले भनिन्।

3 “आफ्‍ना छिमेकीहरूकहाँ गएर जति सक्‍छौ, रित्ता ढुङ्ग्राहरू पैँचो लिएर आऊ,” एलीशाले तिनलाई भने।

4 “त्‍यसपछि आफ्‍ना छोराहरूसँग घरमा गई ढोका बन्‍द गर र ती ढुङ्ग्राहरूमा तेल भर्न सुरु गर। तेलले भरिनेबित्तिकै एक-एक वटा ढुङ्ग्रो अलग राख्‍दै जानू।”

5 त्‍यो स्‍त्री छोराहरूसित आफ्‍नो घरमा गइन्, ढोका बन्‍द गरिन् र त्‍यो जैतुनको तेलको सानो ढुङ्ग्रो लिएर त्‍यहाँबाट छोराहरूले ल्‍याएका ढुङ्ग्राहरूमा तिनले तेल भर्न थालिन्।

6 सबै ढुङ्ग्राहरू भरिएपछि अरू ढुङ्ग्रो छ कि भनी तिनले सोधिन्। एउटा छोराले भन्‍यो, “अब ढुङ्ग्रो छैन।” जैतुनको तेल आउन छोड्यो।

7 त्‍यसपछि तिनी अगमवक्ता एलीशाकहाँ गइन्। उनले भने, “जैतुनको तेल बेचेर आफ्‍नो सबै ऋण तिरिहाल। त्‍यसपछि पनि तिम्रा छोराहरूसहित तिम्रो जीविका चलाउन पुग्‍दो पैसा हातमा रहनेछ।”


एलीशा र शूनम्‍मीकी धनी स्‍त्री

8 एक दिन एलीशा शूनेममा गए। त्‍यहाँ एउटी धनी स्‍त्री बास गर्थिन्। तिनले एलीशालाई भोजनमा आफ्‍नो घरमा निम्‍त्‍याइन्। त्‍यस बेलादेखि जतिपल्‍ट उनी शूनेम जान्‍थे, त्‍यही घरमा भोजन गर्थे।

9 त्‍यस स्‍त्रीले आफ्‍ना लोग्‍नेलाई भनिन्, “यहाँ घरीघरी आउने मानिस परमेश्‍वरका पवित्र जन हुन् भन्‍ने मलाई निश्‍चय छ।

10 घरको कौसीमा एउटा सानो कोठा बनाएर त्‍यहाँ एउटा पलङ, मेच, कुर्सी र बत्ती राखिदिऊँ। उनी हाम्रो घर आउँदा त्‍यहाँ बस्‍न सक्‍नेछन्।”

11 एक दिन एलीशा शूनेममा फर्केर आए र विश्राम गर्न आफ्‍नो कोठामा गए।

12 उनले आफ्‍नो चाकर गेहजीलाई गएर ती स्‍त्रीलाई बोलाएर ल्याउन आदेश दिए। त्‍यो स्‍त्री आएपछि

13 एलीशाले गेहजीलाई भने, “उनलाई सोध, हामीलाई चाहिने सबै थोक जुटाउन कष्‍ट गरेको निम्‍ति म उनको निम्‍ति केही सेवा गर्न सक्‍छु कि! म गएर राजा वा सेनापतिलाई उनको लागि केही असल कुरा गरिदिएको पो चाहन्‍छिन् कि!” त्‍यस स्‍त्रीले उत्तर दिइन्, “म यहाँ आफ्‍नै मानिसहरूसित छु। मलाई सन्‍तोष छ।”

14 एलीशाले गेहजीलाई सोधे, “त्‍यसो भए मैले उनको निम्‍ति गर्नुपर्ने केही छैन त?” गेहजीले उत्तर दियो, “तिनको छोरो भएको छैन र लोग्‍नेचाहिँ बुढा भइसकेका छन्।”

15 “उनलाई यहाँ आउनू भन्,” एलीशाले आज्ञा गरे। तिनी आएर ढोकाछेउमा उभिइन्।

16 एलीशाले तिनलाई भने, “आउँदो वर्ष यही समयमा तिम्रो काखमा तिमीले छोरो खेलाउनेछौ।” तिनले भनिन्, “हजुर, होइन, मसित झूट नबोल्‍नुहोला। तपाईं परमेश्‍वरको जन हुनुहुन्‍छ!”

17 तर जस्‍तो एलीशाले भनेका थिए, त्‍यस्‍तै अर्को वर्ष तिनले एउटा छोरो जन्‍माइन्।

18 केही वर्षपछि अन्‍न उठाउने समयमा एक दिन त्‍यो केटा बिहानै आफ्‍ना बुबाकहाँ गयो। बुबाचाहिँ कटनी गर्नेहरूसित खेतमा थिए।

19 अचानक केटाले बुबालाई कराएर भन्‍यो, “मेरो टाउको दु:ख्‍यो! मेरो टाउको दुख्‍यो!” बुबाचाहिँले चाकरलाई भने, “बालकलाई आमाकहाँ बोकेर लैजा।”

20 चाकरले बालकलाई बोकेर आमाकहाँ पुर्‍यायो। आमाले बालकलाई काखमा लिएर मध्‍यदिनसम्‍म बसिन्। त्‍यति नै बेला बालकको मृत्‍यु भयो।

21 आमाले बालकलाई बोकेर एलीशाको कोठामा लगिन्, उनको पलङमा राखिन् र ढोका बन्‍द गरेर कोठाबाट निस्‍किन्।

22 त्‍यसपछि आफ्‍ना लोग्‍नेलाई बोलाएर भनिन्, “एउटा चाकरसँग एउटा गधा यहाँ पठाइदिनुहोस्। मलाई अगमवक्ता एलीशाकहाँ जानुपरेको छ। म जति सक्‍दो चाँडै फर्कनेछु।”

23 “तिमी किन आजै जानुपर्छ?” लोग्‍नेले सोधे, “आज विश्रामको दिन वा औँसीको रात पनि होइन।” “जेसुकै होस्!” तिनले भनिन्,

24 तब गधामा काठी कस्‍न लाएर चाकरलाई आज्ञा गरिन्, “गधाले जति चाँडो सक्‍छ, त्‍यति चाँडो हिंडा। ढीलो गर्नुपरे म भनूँला।”

25 यसरी तिनी हिंडिन् र कर्मेल डाँडामा गइन्। एलीशा त्‍यहाँ थिए। तिनी निकै टाढामा छँदै एलीशाले तिनलाई आउँदैगरेकी देखे र आफ्‍नो चाकर गेहजीलाई भने, “हेर, शूनेमबाट त्‍यो स्‍त्री आउँदै छिन्!

26 तिनकहाँ दगुरी जा र तिनी, तिनका लोग्‍ने र छोरालाई आरामै छ कि छैन, बुझेर आइज।” तिनले गेहजीलाई सबै कुरा ठीकै छ भनिन्,

27 तर एलीशाकहाँ आइपुगेर तिनले ढोग गरिन् र तिनका पाउ समाइन्। गेहजीले तिनलाई हटाउन लागेको थियो तर एलीशाले भने, “छोडी दे! यी स्‍त्री औधी कष्‍टमा छिन्, तैँले देख्‍दैनस्? परमप्रभुले यसबारे त मलाई केही भन्‍नुभएको छैन।”

28 ती स्‍त्रीले उनलाई भनिन्, “हजुर! के मैले तपाईंलाई छोरो मागेको थिएँ? मेरो आशा नबढाउनुहोस् भनी मैले बिन्‍ती गरेकी थिइनँ र?”

29 गेहजीतिर फर्केर एलीशाले भने, “चाँडो गर्‌। मेरो लौरो लिएर दगुरेर जा। बाटोमा कसैलाई भेटिस् भने नमस्‍कार गर्न नपर्खनू र कसैले तँलाई नमस्‍कार गरे, उनलाई उत्तर दिन समय नफाल्‍नू। सिधा यिनको घरमा जानू र बालकको शरीरमाथि मेरो लौरो राखिदिनू।”

30 तब बालककी आमाले भनिन्, “जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्‍दछु, म तपाईंलाई छोड्‍नेछैनँ।” यसकारण तिनीहरू दुवै एकसाथ फर्केर आए।

31 गेहजी अघिअघि गयो र बालकमाथि एलीशाको लौरो राखिदियो; तर केही आवाज आएन र बालकमा प्राणको केही चिनो थिएन। यसकारण गेहजी एलीशालाई भेट्‍न फर्किगयो र भन्‍यो, “बालक त जागेन।”

32 जब एलीशा घरमा आइपुगे, उनी एक्लै कोठामा गए र केटालाई मुर्दा भई पलङमा सुतिरहेको देखे।

33 उनले ढोका बन्‍द गरे र परमप्रभुलाई प्रार्थना गरे।

34 त्‍यसपछि बालकको मुख, आँखा र हातमा आफ्‍ना मुख, आँखा र हात राखेर उनी बालकमाथि लमतन्‍न पस्रिए। यसरी बालकको शरीरमाथि पस्रँदा बालकको शरीर तातो हुँदैगयो।

35 एलीशा उठे, कोठामा यताउता हिंडे र फर्केर गई फेरि बालकको शरीरमाथि त्‍यसरी नै पस्रिए। त्‍यसले सात पटक छिउँ काढ्‌यो र आँखा खोल्‍यो।

36 एलीशाले गेहजीलाई बोलाएर बालककी आमालाई बोलाउन लगाए। तिनी कोठाभित्र आएपछि एलीशाले तिनलाई भने, “तिम्रो छोरो यहाँ छ, लैजाऊ।”

37 तिनी एलीशाका पाउमा घोप्‍टो परिन् र टाउकाले भूइँ छोइन्। त्‍यसपछि छोरो लिएर तिनी गइन्।


अरू दुई उदेकका कामहरू

38 एक चोटि सारा देशमा अनिकाल पर्दा एलीशा गिलगालमा फर्किगए। एक दल अगमवक्ताहरूलाई शिक्षा दिइरहेको बेला उनले आफ्‍नो चाकरलाई आगोमा एउटा ठूलो भाँडो राखेर तिनीहरूको निम्‍ति केही जाउलो बनाउने आज्ञा दिए।

39 तीमध्‍ये एक जना सागपात खोज्‍न खेततिर गए। उनले एउटा जङ्गली लहरा भेट्टाए र आफूले बोक्‍न सके जति त्‍यसका फल लिएर आए। ती ल्‍याएर उनले पातलो टुक्रा गरी काटे र जाउलोमा हाले। त्यो के फल हो भनेर उनलाई थाहा थिएन।

40 जाउलो मानिसहरूलाई खान दिइयो; तर त्‍यो चाखेर तिनीहरूले कराएर एलीशालाई भने, “यसमा विष परेको छ!” तिनीहरूले जाउलो खान सकेनन्।

41 एलीशाले केही पिठो मागेर भाँडामा हाले र भने, “अरू जाउलो फेरि तिनीहरूलाई खान देऊ।” तब जाउलोमा केही विष थिएन।

42 अर्को पटक बाल-शलीशाबाट एक जना मानिस बीस वटा जौका रोटी र केही भर्खरै मात्र काटेका अन्‍नका बालाहरू लिएर एलीशाकहाँ आयो। ती रोटीहरू त्‍यही वर्ष काटेको पहिलो जौको फसलबाट बनाएका थिए। एलीशाले ती कुराहरू अगमवक्ताका दललाई खान दिन चाकरलाई भने।

43 तर चाकरले उत्तर दियो, “यतिले सय जनालाई खान पुग्‍ला र?” एलीशाले उत्तर दिए, “त्‍यो तिनीहरूलाई खान देऊ किनभने परमप्रभुले भन्‍नुभएको छ कि तिनीहरूले खाइसकेर पनि त्‍यो उब्रनेछ।”

44 यसकारण चाकरले भोजन तिनीहरूको अघि राखिदियो र परमप्रभुले भन्‍नुभएअनुसार तिनीहरू खाएर अघाए अनि अझै केही उब्‍र्‌यो।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy