Online Bible

- Reklamy -

२ राजा 3 - सरल नेपाली पवित्र बाइबल


इस्राएल र मोआबको लडाइँ

1 यहूदाका राजा यहोशापातको शासनकालको अठारौं वर्षमा आहाबको छोरा योराम इस्राएलका राजा भए।

2 उनले बाह्र वर्ष सामरियामा राज्‍य गरे। उनले परमप्रभुको विरुद्धमा पाप गरे। तर उनी आफ्‍ना बुबा वा आफ्‍नी आमाजस्‍ता खराब भएनन्। आफ्‍ना बुबाले बाल-देवताको पूजा गर्न बनाएको मूर्ति उनले ढालिदिए।

3 तापनि आफू अघिका राजा नबातको छोरो यारोबामले झैँ उनले इस्राएललाई पाप गर्न लाए र त्‍यो गरिरहे।

4 मोआबका राजा मेशाले भेडा पाल्‍दथे। वर्षेनी उनले एक लाख भेडाका थुमा र एक लाख भेडाका ऊन इस्राएलका राजालाई दिनुपर्थ्‍यो।

5 तर इस्राएलका राजा आहाब मरेपछि मेशाले इस्राएलको विरुद्धमा विद्रोह गरे।

6 राजा योरामले सामरियाबाट गएर आफ्‍ना सारा फौज भेला गरे।

7 उनले यहूदाका राजा यहोशापातलाई यस्‍तो खबर गरे, “मोआबका राजाले मेरो विरुद्धमा विद्रोह गर्‍यो। के त्‍योसँग लडाइँ गर्न मलाई साथ दिनुहुन्‍छ?” यहोशापातले जवाफ दिए, “म साथ दिनेछु। म, मेरा सिपाही र घोडाहरू तपाईंका हातमा छन्।

8 आक्रमण गर्न हामी कुन बाटो जाऔं?” योरामले उत्तर पठाए, “हामी एदोमको निर्जन लामो बाटो भएर जानेछौं।”

9 यसरी योराम राजा, यहूदा र एदोमका राजाहरू बाटो लागे। सात दिन यात्रा गरेपछि तिनीहरूको पानी सिद्धियो। मानिस वा भारी बोक्‍ने पशुहरूका निम्‍ति एक थोपो पिउने पानी पनि रहेन।

10 “अब हामी खत्तम भयौं,” योराम राजाले आत्तिएर भने, “हामी तीन जनालाई परमप्रभुले मोआबका राजाका दयामाथि छोडिदिनुभएछ!”

11 यहोशापात राजाले सोधे, “परमप्रभुको इच्‍छा बुझ्‍नलाई के हामी यहाँ कोही अगमवक्तासित सल्‍लाह लिन सक्‍छौं?” योराम राजाका सेनाका एक जना अधिकृतले जवाफ दिए, “शाफातको छोरो एलीशा यहाँ छन्। उनी एलियाका चेला थिए।”

12 राजा यहोशापातले भने, “तिनी परमप्रभुको साँचो अगमवक्ता हुन्।” यसरी ती तीन राजाहरू एलीशाकहाँ गए।

13 “किन मैले तपाईंलाई मद्दत गर्नू?” एलीशाले इस्राएलका राजालाई भने, “तपाईंका आमा-बुबाले सल्‍लाह लिने अगमवक्ताहरूकहाँ गएर तिनीहरूबाट सल्‍लाह लिनुहोस्।” योरामले भने, “होइन! परमप्रभुले हामीलाई तीन राजाहरूलाई मोआबका राजाका दयामाथि छोडिदिनुभएको छ।”

14 एलीशाले भने, “सर्वशक्तिमान् जीवित परमप्रभु, जसको म सेवा गर्दछु, उहाँलाई साक्षी राखी म साँच्‍चै भन्‍दछु, यदि मैले यहूदाका राजा यहोशापातको आदर नगर्ने भए म तपाईंलाई एक आँखाले पनि हेर्ने थिइनँ अथवा ख्‍यालै गर्ने थिइनँ।

15 अब वीणा बजाउने एउटा मानिस मकहाँ ल्‍याउनुहोस्।” त्‍यस मानिसले वीणा बजाइरहेको बेलामा परमप्रभुको शक्ति एलीशामा उत्रनुभयो

16 अनि तिनले भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘यस सुख्‍खा खोलाभरि नै खाडल खन।

17 तिमीहरूले हावा र पानी केही नदेखौला तर यो सुख्‍खा खोला पानीले भरिनेछ र तिमीहरूलाई, तिम्रा गाई-वस्‍तु र तिम्रा भारी बोक्‍ने पशुहरूका निम्‍ति प्रशस्‍त पिउने पानी हुनेछ।”

18 एलीशाले अझै भने, “परमप्रभुको निम्‍ति यो एउटा सजिलो कुरा हो, उहाँले तपाईंहरूलाई मोआबीहरूमाथि विजय पनि दिनुहुनेछ।

19 तिनीहरूका सुन्‍दर र सुरक्षित सहरहरू तपाईंहरूले अधीन गर्नुहुनेछ, तिनीहरूका फलका रूखहरू काटी ढाल्‍नुहुनेछ, तिनीहरूका पानीका मुहानहरू बन्‍द गरिदिनुहुनेछ र तिनका मलिला खेतबारीहरूमा ढुङ्गा थुपारेर नष्‍ट पारिदिनुहुनेछ।”

20 भोलिपल्‍ट बिहान सधैँझैँ बलि चढाउने बेलामा एदोमपट्टिबाट पानी बगेर आयो र सारा जमिन पानीले भरियो।

21 तीन जना राजाहरू हामीमाथि आक्रमण गर्न आएका छन् भनी जब मोआबीहरूले सुने, तब हतियार भिर्न सक्‍ने बुढा-पाका, युवा सबै पुरुषहरूलाई बोलाउन पठाए र तिनीहरूलाई सिमानामा खडा गरे।

22 भोलिपल्‍ट बिहानै उठ्दा घामको किरण पानीमा परेको थियो र पानी रगतजस्‍तो रातो देखिन्‍थ्‍यो।

23 तिनीहरूले भने, “यो रगत हो! तीन राजाका सेनाहरू आपसमा लडेर मारामार्‌ गरे होलान्! हामी गएर तिनीहरूको छाउनी लुटौं!”

24 तर जब तिनीहरू छाउनीमा पुगे, इस्राएलीहरूले तिनीहरूलाई हमला गरे र खेदे। इस्राएलीहरूले खेद्दै लगेर मोआबीहरूको संहार गरे

25 र तिनीहरूका सहरहरू ध्‍वंस पारे। खेद्दा बाटोमा परेका प्रत्‍येक मलिला खेतबारीमा सबै इस्राएलीहरूले ढुङ्गा फाल्थे र ढुङ्गा भरिदिन्‍थे। तिनीहरूले पानीका मुहानहरू पनि बन्‍द गरिदिए र फलका रूखहरू काटी ढालिदिए। अन्‍तमा तिनीहरूको राजधानी कीर-हरेशेत मात्र बाँकी रह्यो र घुँयेत्रो हान्‍नेहरूले त्‍यसलाई पनि घेरेर हमला गरे।

26 जब आफ्‍नो हार हुँदै छ भनी मोआबका राजाले थाहा पाए, तिनले आफूसित हातमा तरवार लिएका ७०० सैनिक लिए र शत्रुका पङ्क्तिबाट बलजफत छिरेर एदोमका राजाकहाँ भागिजाने चेष्‍टा गरे; तर तिनी असफल भए।

27 यसर्थ तिनले आफ्‍ना जेठा छोरालाई सहरको पर्खालमा मोआबको देवतालाई बलिदान चढाए। यिनै जेठो छोरो उनीपछि राजा हुनेथिए। त्‍यो देखेर इस्राएलीहरू डराए र सहरबाट हटी आफ्‍नै मुलुकमा फर्किगए।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy