२ कोरिन्थी 5 - सरल नेपाली पवित्र बाइबल1 हामीलाई थाहा छ, हाड-मासुको यो पाल याने कि हाम्रो शरीर नाश हुन्छ। तर परमेश्वरले स्वर्गमा हामीलाई दिनुहुने शरीर त हातले बनाएको कच्चा घरजस्तो छैन। तर यो सधैँभरि रहने पक्का घरजस्तै छ। 2 साँच्चै हामी यस शरीरमा रहनुपर्दा दु:खी छौं। हामी त त्यस स्वर्गमा भएको शरीरलाई लुगाझैँ लगाउन पिरोलिएका छौं। 3 यसरी हाम्रो शरीरलाई पहिराउँछौं भने हामी शरीरबिनाका हुँदैनौं। 4 यस शरीरमा रहुन्जेल ठूलो भारीले गर्दा हामी सुस्केरा हाल्छौं। यो शरीर त्याग्ने इच्छाले हतारिएका होइनौं, तर कहिले स्वर्गको शरीर पहिरन पाऊँला भनेर नै हो। यो नाश हुने कुरो त्यस जीवनमा बदलेर जान्छ। 5 यसरी हामीलाई हेरफेर गरिदिने त परमेश्वर नै हुनुहुन्छ। हामीलाई पछि दिनुहुने कुराहरू पक्का गर्न उहाँले हामीलाई पवित्र आत्माको बैना दिनुभएको छ। 6 यसकारण हामी कहिले हरेस खाँदैनौं। हामीलाई थाहा छ, हामी यस शरीरको डेरामा रहुन्जेल त प्रभुको घरदेखि अलग हुन्छौं। 7 त्यसैले हामी देखेकोले होइन, तर विश्वासले जिउँछौं। 8 हामी हरेस खाँदैनौं, स्वर्गको शरीर पाएर प्रभुसँगै रहनलाई हाम्रो यो शरीरलाई पनि त्याग्न तयार छौं। 9 हामी यस शरीरको डेरामा हौं वा आत्मिक शरीरमा हौं, खालि उहाँलाई मनपर्ने काम गर्न चाहन्छौं 10 किनभने हामीहरू सबै एक दिन न्यायको लागि ख्रीष्टको सामुन्ने खडा हुनुपर्छ। सबैले यस जीवनमा राम्रो र नराम्रो, जेजस्तो काम गरेका छन्, त्यसैअनुसारको फल पाउनेछन्। ख्रीष्टद्वारा परमेश्वरसँग मेलमिलाप 11 परमेश्वरको डर मान्नु के हो, सो जानेर हामी अरूहरूलाई पनि यसैतर्फ कर लाउँछौं। परमेश्वरले हामीलाई राम्ररी चिन्नुहुन्छ र तिमीहरूका अघि मेरो पनि जीवन खुलस्त छ भनी म आशा राख्छु। 12 हामीले फेरि आफ्नो गुणगान तिमीहरूलाई सुनाउन लागेको त होइनौं, बरु हाम्रो बारेमा तिमीहरूलाई घमण्ड गर्ने मौका दिइरहेका छौं। त्यसो हुँदा तिमीहरू भित्रको गुणमा होइन, तर देखावटी कुरामा घमण्ड गर्नेलाई जवाफ दिन सक्ने हुनेछौ। 13 हामी बेहोशी छौं भने त परमेश्वरकै लागि बेहोशी छौं। हामी होशमा छौं भने तिमीहरूकै लागि होशमा छौं। 14 हामीहरू त ख्रीष्टकै प्रेमको वशमा छौं। त्यसैले हामी बुझ्दछौं, सबै मानिसको तर्फबाट एक जना मर्नुभयो र यसो हुँदा सबै जना मरे। 15 उहाँ सबैका लागि मर्नुभयो। बाँच्नेहरू अब आफ्ना लागि होइन तर तिनीहरूका खातिर मरेर बिउँतनुहुने ख्रीष्टको निम्ति बाँच्नुपर्छ। 16 अबदेखि हामी कसैलाई पनि बाहिरी रूपले हेर्दैनौं। हुन त एक पटक हामीले ख्रीष्टलाई पनि यही प्रकारले हेर्यौं। अब हामी उहाँलाई यसरी हेर्दैनौं। 17 यसकारण कुनै मानिस ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुराना कुरा हराएर गए, हेर, अब सबै कुरा नयाँ भएका छन्। 18 यी सब गर्ने परमेश्वर नै हुनुहुन्छ। उहाँले हामीलाई ख्रीष्टद्वारा उहाँसँग फेरि मेलमिलाप गराउनुभयो अनि अरूहरूलाई पनि उहाँसँग फेरि मेलमिलाप गराउने काम हामीलाई दिनुभयो। 19 येशू ख्रीष्टमा भएर परमेश्वरले सबै मानिसहरूलाई फेरि मेलमिलाप गराउँदै हुनुहुन्थ्यो। तिनीहरूका पापको कुनै हिसाब परमेश्वरले राख्नुभएको छैन। परमेश्वरले मानिसहरूसँग मेलमिलाप गर्नुहुन्छ भनी अरूहरूलाई बताउने काम उहाँले हामीलाई दिनुभएको छ। 20 हामीहरू ख्रीष्टका तर्फबाट बिन्ती गर्दछौं। तिमीहरूसँग हामी होइन, तर परमेश्वर नै हामीमा भएर तिमीहरूसँग बिन्ती गरेजस्तै हामी ख्रीष्टको नाउँमा तिमीहरूलाई जोड गर्दछौं, परमेश्वरसँग शत्रुता छोडेर मेलमिलाप गरिहाल। 21 ख्रीष्टमा पापै थिएन, तैपनि परमेश्वरले ख्रीष्टमा हामीलाई आफ्नो अघि ठीक ठहराउन ख्रीष्टमाथि नै हाम्रो पाप राखिदिनुभयो। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society