२ कोरिन्थी 2 - सरल नेपाली पवित्र बाइबल1 यसकारण तिमीहरूलाई अप्ठ्यारो नहोस् भनेर नै मैले नआउने निधो गरें 2 किनभने मैले तिमीहरूको चित्त दुखाएँ भने मलाई कसले आनन्द दिने? केवल ती व्यक्तिहरू, जसलाई मैले चित्त दुखाएको छु, 3 त्यसकारणले म आउँदा मलाई आनन्द दिने मानिसहरूबाटै दु:खित हुनुनपरोस् भनी मैले त्यो पत्र लेखें। किनभने, मलाई आनन्द हुँदा तिमीहरूलाई पनि आनन्द हुन्छ भन्ने मेरो पक्का विश्वास छ। 4 मैले ठूलो दु:खसाथ मनमा वेदना लिएर आँसु बगाउँदै तिमीहरूलाई त्यो पत्र लेखेको थिएँ। तिमीहरूको चित्त दुखाउन त होइन तर मैले कति माया गरेको छु, थाहा होस् भनेर त्यो लेखें। गल्ती गर्नेलाई माफी देओ 5 कसैले कसैको चित्त दुखायो भने त्यस कामबाट उसले मेरो होइन तर तिमीहरू सबैको चित्त दुखाएको हो, थोरै मात्रामा भए पनि यो कुरो मैले तिमीहरूमाथि कठोर नबन्नलाई नै भनेको हुँ। 6 तिमीहरूमध्ये धेरैजसोबाट जुन किसिमको सजाय यस मानिसले पाएको छ, सो प्रसस्तै छ। 7 अब उसलाई तिमीहरूले माफ दिएर सान्त्वना दिनुपर्छ। 8 उसलाई तिमीहरूले प्रेम गरेको साँच्चै देखाओ भन्ने म बिन्ती गर्दछु। 9 मैले भनेको मान्छौ कि मान्दैनौ भनेर जाँच गर्न नै मैले त्यो पत्र लेखेको थिएँ। 10 तिमीहरूले माफ दिएकाहरूलाई म पनि माफ दिन्छु। मैले माफ गर्नुपर्ने हो भने मैले माफ गर्दा म ख्रीष्ट येशूको सामुन्ने तिमीहरूकै लागि माफ गर्दछु। 11 यसरी शैतानले हामीमाथि मौका छोप्न नपाओस् किनभने हामीलाई त्यसका सबै युक्तिहरू थाहा छ। त्रोआसमा पावलको चिन्ता 12 त्रोआसमा म ख्रीष्टको बारेमा सुसमाचार सुनाउन आउँदा प्रभुले नै मलाई उहाँको काम गर्ने मौका दिनुभयो। 13 तर त्यहाँ मेरो भाइ तीतसलाई नभेट्दा मलाई ठूलो पीर पर्यो र तिनीहरूबाट बिदा भएर म माकेडोनियातिर गएँ। ख्रीष्टमा पाइने जित 14 परमेश्वरलाई धन्यवाद होस् किनभने उहाँले सधैँ हामीलाई ख्रीष्टसँगै जितको यात्रामा डोर्याउनुहुन्छ। मीठो बास्नाझैँ चारैतिर ख्रीष्टको ज्ञान फैलाउन उहाँले हामीलाई काममा लाउनुहुन्छ 15 किनभने हामी त परमेश्वरमा चढाएका ख्रीष्टको मीठो बास्ना हौं। बाँच्नेहरू र नाश हुनेहरू सबैकहाँ चल्ने बास्ना यही हो। 16 बाँच्नेहरूका लागि जीवन हो र नाश हुनेहरूका लागि चाहिँ मृत्यु हो। यति ठूलो जिम्मावारी लिन सक्ने को छ? 17 परमेश्वरको सुसमाचारलाई सस्ता मालहरूको धन्धा गरेजस्तै चलाउने हामी होइनौं किनभने हामीलाई त परमेश्वरले नै पठाउनुभएको हो र उहाँकै अगि हामी ख्रीष्टका कमारा भई छल नगरी बोल्दछौं। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society