Online Bible

- Reklamy -

२ कोरिन्थी 13 - सरल नेपाली पवित्र बाइबल


आखिरी चेतावनी र बिदाइ

1 म अब तेस्रो पल्‍ट तिमीहरूकहाँ आउन लागिरहेछु। कुनै दोष दुई वा तीन साक्षीको वचनमा मात्र ठीक ठहरिनेछ भनी धर्मशास्‍त्रले बताउँछ।

2 दोस्रो पटक म आएको बेला पाप गर्नेहरू र अरू सबैलाई पनि मैले सम्‍झाएको थिएँ। अहिले यहाँबाट पनि म तिमीहरूलाई त्‍यही कुरा सम्‍झाउँछु। नत्र म फेरि आउँदा तिमीहरूलाई बाँकी राख्‍नेछैनँ।

3 त्‍यस बेला ख्रीष्‍ट मसँग भएर बोल्‍नुहुँदो रहेछ कि रहेनछ, तिमीहरूले खोजेको प्रमाण भेट्‍ने नै छौ। तिमीहरूका माझमा काम गर्दा उहाँ कमजोर होइन तर शक्तिशाली हुनुहुन्‍छ

4 किनभने उहाँ कमजोर भएर क्रूसमा टाँगिनुभयो तर परमेश्‍वरको शक्तिले उहाँ जीवित हुनुभयो। हामी पनि उहाँजस्‍तै कमजोर भएका छौं, तर तिमीहरूलाई ठीक पार्न परमेश्‍वरले नै हामीलाई पनि ख्रीष्‍टको जीवन र शक्ति दिनुहुन्‍छ।

5 तिमीहरूको विश्‍वास छ कि छैन, पहिले आफैंलाई जाँचेर हेर। ख्रीष्‍ट तिमीभित्र हुनुहुन्‍छ भन्‍ने कुरा के तिमीहरूलाई पत्तो छैन? नत्रता तिमीहरू काम लाग्‍दैनौ।

6 हामीहरू त काम नलाग्‍ने भएका छैनौं भनेर तिमीहरूलाई थाहै होला।

7 हामीले त तिमीहरूले खराब काम गर्नुनपरोस् भनेर परमेश्‍वरसँग प्रार्थना गर्दै छौं। हामीले यो प्रार्थना आफैंलाई राम्रो देखाउन होइन, तर हामी काम नलाग्‍ने नै देखिए पनि तिमीहरूले ठीकठीक काम गर्न सक भनेर प्रार्थना गर्दछौं

8 किनभने हामी सत्‍यको पक्षमा नै काम गर्नेछौं, तर सत्‍यको विरोधमा केही पनि गर्न सक्‍दैनौं।

9 हामीचाहिँ केही गर्न नसक्‍ने कमजोर तर तिमीहरूचाहिँ जे पनि गर्न सक्‍ने बलिया भएकामा हामी खुसी नै छौं अनि तिमीहरू सिद्ध बन्‍न सक भनेर हामीहरू प्रार्थना पनि गर्छौं।

10 यसैकारण तिमीहरूदेखि टाढो भएको बेला म यो लेख्‍दछु, म त्‍यहाँ आउँदा प्रभुले बिगारको निम्‍ति होइन तर सुधारको निम्‍ति दिनुभएको अधिकारलाई कडाकडीसँग चलाउनुनपरोस्।

11 अन्‍त्‍यमा भाइहरू हो, बिदा पाऊँ। दिलोज्‍यानले सिद्ध बन्‍ने कोसिस गर। मेरो बिन्‍ती सुन, एक-अर्काले भनेको सुन र शान्‍तिमा बस। अनि शान्‍ति र प्रेम दिनुहुने परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ।

12 एक-अर्कालाई प्रेमसाथ अभिवादन गर। ख्रीष्‍टका सबै पवित्र जनहरूले अभिवादन पठाएका छन्।

13-14 प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम र पवित्र आत्‍माको संगति तिमीहरूसँग रहोस्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy