Online Bible

- Reklamy -

२ कोरिन्थी 10 - सरल नेपाली पवित्र बाइबल

1 तिमीहरूको अगि म नम्र र सुधो छु, तर म टाढा हुँदा तिमीहरूसँग छुच्‍चो गर्छु भन्‍ने कुरा चलेको छ। म पावलले नै तिमीहरूसँग अति नम्र बिन्‍ती गर्छु। ख्रीष्‍टकै नम्रता र दयामा म तिमीहरूसँग बिन्‍ती गर्छु,

2 म आउँदा मलाई छुच्‍चो बन्‍न कर नलगाऊ। हामीले नराम्रो विचार लिएर काम गर्छौं भन्‍नेहरूसँग म छुच्‍चो हुन सक्‍छु।

3 हो, हामी शरीरमा छौं तर शारीरिक स्‍वभावअनुसार हामी झगडा गर्दैनौं।

4 हाम्रा हातहतियार शारीरिक हातहतियार होइन। हामीले चलाउने गरेका हतियार त परमेश्‍वरकै शक्तिशाली हतियार हुन्। यिनीहरूले किल्‍ला भत्‍काउन सक्‍छन्। यी हतियारले हामी नचाहिँदो वाद-विवादलाई हराउनेछौं।

5 परमेश्‍वरको ज्ञानको अगि खडा भएका हरेक बहसहरू र घमण्‍डले भरिएका बाधा ल्‍याउनेहरूको हामी शेखी झार्दछौं। हामी सबै विचारलाई वशमा ल्‍याएर ख्रीष्‍टप्रति आज्ञाकारी बनाउँछौं।

6 तिमीहरूले पूरै आज्ञा मानेको देखाएपछि हामी आज्ञा नमान्‍नेलाई सजाय दिन तयार हुनेछौं।

7 तिमीहरू त बाहिर देखिने कुराहरूलाई मात्रै हेर्छौ। तिमीहरूमा कसैलाई म ख्रीष्‍टको हुँ भन्‍ने पूरा विश्‍वास छ भने यस्‍तो मान्‍छेले बुझ्‍नुपर्छ कि ऊजस्‍तै हामी पनि ख्रीष्‍टकै हौं।

8 तिमीहरूलाई बिगार्न होइन, तर सुधार्नलाई प्रभुले हामीलाई अधिकार दिनुभएको छ। यो अधिकारको बारेमा ज्‍यादै घमण्‍ड गरें भने पनि म लजाउँदिनँ।

9 मैले तिमीहरूलाई पत्र लेखेर तर्साउन खोजेको होइन।

10 कोहीकोही भन्‍लान्, ‘पावलका पत्रहरू खरा र कडा हुन्‍छन्, तर सामु पर्दाचाहिँ त्‍यो निर्धो र बोल्‍न नसक्‍ने हुन्‍छ।’

11 त्‍यस्‍तो मान्‍छेले बुझ्‍नुपर्छ कि हामीले टाढाबाट लेखेको कुरा र छेउमा हुँदा गर्नुपर्ने कुरामा कुनै फरक पर्दैन।

12 ठूला सम्‍झनेहरूसँग हामी आफूलाई दाँज्‍ने र हाराहारीमा राख्‍ने साहस गर्दैनौं। तिनीहरूले त कुरै बुझ्‍दैनन्। असल कुराको नाप उनीहरू आफैं तोक्‍छन् र त्‍यही नापले आ-आफूलाई नापेर मक्‍ख पर्छन्।

13 तर हामीले त हद नाघेर घमण्‍ड गर्दैनौं। परमेश्‍वरले तिमीहरूसम्‍म पुग्‍ने कामको क्षेत्र हामीलाई दिनुभएको छ र त्‍यसैको बारे मात्र घमण्‍ड गर्छौं।

14 तिमीहरू हामीले पाएको जिम्‍मावारीको क्षेत्रभित्र नै छौ। सबैभन्दा पहिले हामी नै तिमीहरूकहाँ ख्रीष्‍टको बारे सुसमाचार सुनाउन आयौं र तिमीहरूको बारेमा घमण्‍ड गर्दा हाम्रो हक मुताबिकको काम गरेका छौं।

15 आफ्‍नो क्षेत्र नाघेर अरूले गरेको काममा हामी घमण्‍ड गर्दैनौं। हाम्रो ठूलो आशाचाहिँ तिमीहरूको विश्‍वास बढ्दैजाओस् अनि हामीलाई भएको कामको क्षेत्र पनि ठूलो हुँदैजाओस् भन्‍ने नै हो।

16 यसरी बढ्दै-बढ्दै तिमीहरूबाट अरू देशहरूमा पनि हामीहरू सुसमाचार सुनाउन सक्‍नेछौं। यसो हुँदा अरूहरूले काम गरेको ठाउँमा काम गरेर हामीले घमण्‍ड गर्नुपर्दैन।

17 धर्मशास्‍त्र पनि भन्‍छ, “घमण्‍ड गर्नेले प्रभुमै घमण्‍ड गरोस्,”

18 किनभने कसैले म राम्रो छु भन्‍दैमा ऊ राम्रो हुने होइन। प्रभुले राम्रो ठहराउनुभएको मानिस नै राम्रो हुन्‍छ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy