Online Bible

- Reklamy -

२ इतिहास 7 - सरल नेपाली पवित्र बाइबल


मन्‍दिरको अर्पण
( १ राजा ८:६२-६६ )

1 सोलोमन राजाले प्रार्थना गरिसक्‍दा स्‍वर्गबाट आगो आएर वेदीमा चढाइएका बलिहरू भस्‍म पार्‍यो अनि परमेश्‍वरको उपस्‍थितिको कारण आँखा तिरमिराउने ज्‍योतिले मन्‍दिर भरियो।

2 औधी चम्‍किलो ज्‍योति मन्‍दिरमा भरिएको हुनाले पूजाहारी भित्र पस्‍न सकेनन्।

3 स्‍वर्गबाट आगो झरेको र ज्‍योतिले मन्‍दिर भरिएको देखेर इस्राएलका मानिसहरू भूइँमा घोप्‍टो परेर प्रणाम गरे अनि परमेश्‍वरका भलाइ र अनन्‍त प्रेमको लागि उहाँको प्रशंसा गर्दै आराधना गरे।

4 त्‍यसपछि सोलोमन र सबै प्रजाले परमप्रभुलाई बलि चढाए।

5 तिनले २२,००० साँढे र १,२०,००० भेडा मेलबलि चढाए। यसरी सबै मानिसहरूसाथ तिनले मन्‍दिर अर्पण गरे।

6 पूजाहारीहरू आफ्‍ना निम्‍ति खटाइएका ठाउँमा खडा भए। तिनीहरूकै सामुन्‍नेमा लेवीहरू उभिएका थिए। दाऊद राजाले प्रबन्‍ध गरिदिएका बाजाहरूका साथ र तिनैले खटाएअनुसार “उहाँको प्रेम अनन्‍त छ!” भन्‍ने भजन गाउँदै तिनीहरू खडा थिए। पूजाहारीहरूले तुरही बजाउँदै थिए अनि सबै जन-समुदाय खडा थियो।

7 सोलोमनले मन्‍दिरको सामुन्‍नेमा चोकको बीच भागलाई अर्पण गरे र त्‍यहाँ होमबलि, अन्‍नबलि र मेलबलिका बोसोबलि चढाए। तिनले बनाएका काँसाको वेदी सबै बलि चढाउन सानो हुनाले तिनले त्‍यसो गरे।

8 सोलोमन र सारा इस्राएलका मानिसहरूले सात दिनसम्‍म छाप्रो बासको चाड मनाए। मानिसहरूको एउटा ठूलो भीड थियो। मानिसहरू उत्तरमा लेवो-हमातको घाटी अनि दक्षिणमा मिश्रका सिमाना— जस्‍ता टाढा-टाढाबाट आएका थिए।

9 तिनीहरूले सात दिन वेदीको अर्पण गर्ने काममा र अरू सात दिन छाप्रो बासको चाड मनाउन बिताए। अन्‍तिम दिनमा तिनीहरूले आखिरी उत्‍सव मनाए

10 अनि भोलिपल्‍ट सातौँ महिनाको तेईसौँ दिन सोलोमनले मानिसहरूलाई घर फर्काए। परमप्रभुले आफ्‍ना प्रजा इस्राएल, दाऊद र सोलोमन राजालाई दिनुभएको आशीर्वादको निम्‍ति तिनीहरू प्रसन्‍न थिए।


परमेश्‍वरले फेरि सोलोमनलाई दर्शन दिनुहुन्‍छ
( १ राजा ९:१-९ )

11 सोलोमन राजाले मन्‍दिर र महल बनाइसके। त्‍यसपछि तिनले बनाएका योजना सफलतापूर्वक पूरा गरे।

12 त्‍यसपछि एक रात परमप्रभुले तिनलाई दर्शन दिनुभयो र भन्‍नुभयो, “मैले तेरो प्रार्थना सुनें। यो मन्‍दिर मलाई बलि चढाउने स्‍थान हो भनी म स्‍वीकार गर्छु।

13 जहिले-जहिले म वर्षा बन्‍द गर्छु वा अन्‍नका बाली नाश गर्न सलहहरू पठाउँछु वा मेरा प्रजामाथि महामारी पठाउँछु,

14 त्‍यस बेला मेरा प्रजाले मलाई प्रार्थना गरे र पश्‍चात्ताप गरेर आफूले गरेका दुष्‍कर्महरू त्‍यागे भने म स्‍वर्गमा तिनीहरूको बिन्‍ती सुन्‍नेछु, पाप क्षमा गर्नेछु र फेरि तिनीहरूको देशको फलिफाप गराउनेछु।

15 म यस मन्‍दिरको रखवाली गर्नेछु र यहाँ चढाइएका सबै प्रार्थनाहरू सुन्‍न तयार रहनेछु

16 किनभने मैले यस मन्‍दिरलाई रोजेको छु र सदासर्वदा मेरो आराधना गरिने स्‍थान भनी पवित्र गरेको छु। म यसको रखवाली गर्नेछु र सदासर्वदा यसको रक्षा गर्नेछु।

17 तेरो बुबाले झैँ तैँले विश्‍वासयोग्‍यसाथ मेरो सेवा गरिस् भने र मेरा नियमहरू पालन गरेर मैले आज्ञा गरेका सबै काम गरिस् भने

18 मैले तेरो बुबा दाऊदसित इस्राएलमा सधैँ त्‍यसको एउटा सन्‍तान राजा रहनेछ भनी गरेको प्रतिज्ञा म तँसित पूरा गर्नेछु।

19 तर तँ र तेरा प्रजाले मैले दिएको नियम र आज्ञाहरू पालन नगरेर पराई देवताहरू पुज्‍यौ भने

20 मैले तिमीहरूलाई दिएको देशबाट हटाउनेछु र मेरो आराधना गरिनलाई मैले पवित्र गरेको यस मन्‍दिरलाई त्‍याग्‍नेछु। सबै देशका मानिसहरूले यसको हाँसो उडाउनेछन् र यसलाई घृणा गर्नेछन्।

21 “अहिले मन्‍दिरको ठूलो गौरव छ; तर त्‍यस बेला यसका छेउबाट जाने हरेकले आश्‍चर्य मान्‍नेछ र यसरी सोध्‍नेछ, ‘परमप्रभुले यो देश र यो मन्‍दिरसित किन यस्‍तो गर्नुभयो?’

22 मानिसहरूले जवाफ दिनेछन्, ‘आफ्‍ना पुर्खाहरूलाई मिश्रबाट निकाली ल्‍याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरलाई तिनीहरूले त्‍यागेका हुनाले यसो भएको हो। तिनीहरूले अरू देवताहरूलाई पुजे। त्‍यसैकारण परमप्रभुले यो आपत् तिनीहरूमाथि ल्‍याउनुभएको हौ।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy