२ इतिहास 5 - सरल नेपाली पवित्र बाइबल1 मन्दिरका सबै काम सकिएपछि मन्दिरका भण्डारहरूमा सोलोमन राजाले परमप्रभुलाई अर्पण गरिएका सबै चीजहरू राखे– चाँदी, सुन र अरू चीजबीजहरू। करारको सन्दुक मन्दिरमा ल्याइन्छ ( १ राजा ८:१-९ ) 2 त्यसपछि दाऊदको सहर सियोनबाट परमप्रभुको करारको सन्दुक मन्दिरमा ल्याउन सोलोमन राजाले इस्राएलका सबै कुल र परिवारका अगुवाहरूलाई यरूशलेममा भेला हुन बोलाए। 3 छाप्रोवासको चाड भएको समयमा तिनीहरू भेला भए। 4 सबै अगुवाहरू भेला भएपछि लेवीहरूले करारको सन्दुक उठाए 5 र बोकेर मन्दिरमा लगे। पूजाहारी र लेवीहरूले परमप्रभुको पवित्र पाल र त्यसका सर-सामान पनि मन्दिरमा पुर्याए। 6 सोलोमन राजा र इस्राएलका सबै मानिसहरू करारको सन्दुकको अघि भेला भए र भेडा र गाई-गोरु गन्ती गर्न नसकिने ठूलो सङ्ख्यामा बलि चढाए। 7 त्यसपछि पूजाहारीहरूले करारको सन्दुक मन्दिरभित्र लगेर महा-पवित्रस्थानमा स्वर्गदूतहरूको पखेटाको मुनितिर राखे। 8 तिनीहरूका फैलिएका पखेटाहरूले सन्दुक र त्यसलाई बोक्ने डन्डाहरूलाई ढाक्दथे। 9 डन्डाका टुप्पाहरूलाई महा-पवित्रस्थानको ठीक अघिल्तिर खडा हुने व्यक्तिले देख्न सक्थ्यो; तर अरू कुनै ठाउँबाट ती देखिँदैनथे। आज पनि ती डन्डाहरू त्यहीँ छन्। 10 करारको सन्दुकभित्र मोशाले सीनै पर्वतमा राखेका दुईटा ढुङ्गाका पाटीहरूबाहेक अरू केही कुरा थिएन। त्यस बेला इस्राएलका मानिसहरू मिश्र छोड्दा परमप्रभुले एउटा करार बाँध्नुभएको थियो र त्यसपछि तिनीहरूसित ती पाटी सन्दुकमा राखिएका थिए। परमप्रभुको महिमा 11-14 जुनसुकै दलका भए पनि त्यहाँ हाजिर भएका सबै पूजाहारीहरू, आसाप, हेमान, यदूतून र उनका गोत्रका मानिसहरूले मिहिन सुतीका कपडा पहिरिएका थिए। लेवीहरू वेदीको पूर्वमा झ्याली र वीणाहरू लिएर खडा थिए। तिनीहरूसित तुरही बजाउने एक सय बीस जना पूजाहारी थिए। गीत गाउनेहरूलाई खुबै सुर र ताल मिलाएर तुरही, झ्याली र अरू बाजाहरूले साथ दिइरहेका थिए। गीत गाउँदै तिनीहरूले परमप्रभुको यसरी प्रशंसा गरे: “परमप्रभुको प्रशंसा गर किनभने उहाँ भला हुनुहुन्छ र उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” परमप्रभुका आँखा तिरमिराउने गरी चम्कने महिमाले गर्दा चहकिलो बादलले अचानक मन्दिर भरियो र तिनीहरूले आराधना कार्य गरिरहन सकेनन्। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society