Online Bible

- Reklamy -

२ इतिहास 4 - सरल नेपाली पवित्र बाइबल


मन्‍दिरका सामग्रीहरू
( १ राजा ७:२३-५१ )

1 सोलोमन राजाले एउटा काँसाको वेदी बनाउन लगाए, जसको लमाइ र चौडाइ ९ मिटर र उचाइ ४.५ मिटर थियो।

2 तिनले काँसाको एउटा गोलाकार ट्याङ्की पनि बनाउन लगाए, जो २.२ मिटर गहिरो थियो। त्‍यसको व्‍यास ४.४ मिटर र बाहिरी घेरा १३.२ मिटर थियो।

3 ट्याङ्कीको बाहिरी घेराका किनारमा चारैपट्टि सिङ्गारेर दुई लहर बुट्टा तल र माथि गरी हालिएका थिए। ती लहरहरूमा साँढेका नक्‍शा बनाएर सिङ्गारेका थिए र ती बुट्टाहरू ट्याङ्कीसित एउटै धातुका टुक्राले बनेका थिए।

4 एक-एक दिशामा तीन-तीन वटा गरी चारै दिशामा मुख फर्काएर उभिएका बाह्र वटा काँसाका साँढेका ढाडमाथि कुण्‍ड राखिएको थियो।

5 कुण्‍डको भित्ता ७५ मिलिमिटर मोटो थियो। त्‍यसको मुखको घेरा कचौराको मुखजस्‍तो र लिली फूलको पत्रदलजस्‍तो बाहिरपट्टि अलिकति फर्केको थियो। कुण्‍डमा साठी हजार लिटर जति पानी जान्‍थ्‍यो।

6 तिनीहरूले दश वटा पानी राख्‍ने भाँडाहरू बनाए। मन्‍दिरको दक्षिणपट्टि पाँच वटा र उत्तरपट्टि पाँच वटा गरी राख्‍न र होमबलि चढाउन ल्‍याइएका पशुहरूको अङ्ग धुने काममा चलाइन्‍थे। ठूलो ट्याङ्कीमा राखिएको पानी पूजाहारीहरूले आफू चोखिनलाई चलाउँथे।

7-8 तिनीहरूले दश वटा सुनका सामदानहरू पहिलेको नमुनाअनुसार अनि दश वटा टेबिलहरू पनि बनाए र मन्‍दिरको मूल कोठामा एकापट्टि पाँच सामदान र पाँच टेबिल र अर्कापट्टि पाँच सामदान र पाँच टेबिल गरी राखे। तिनीहरूले सुनका सय वटा डबकाहरू पनि बनाए।

9 तिनीहरूले पूजाहारीहरूको निम्‍ति एउटा भित्री चोक र अर्को एउटा बाहिरी चोक पनि बनाए। ती दुई चोकको बीचको मूल-ढोकाको दैला काँसाले मोहोरिएका थिए।

10 जल-कुण्‍ड मन्‍दिरको दक्षिण-पूर्वी कुनामा राखिएको थियो।

11-16 हुरामले भाँडा, बेल्‍चा र काँटाहरू पनि बनाए। उनले सोलोमन राजालाई मन्‍दिरको लागि बनाउँछु भनेका सबै चीज बनाइसिध्‍याए। ती थिए– दुई गोला-खामाहरू गोला-खामाको टुप्‍पामा राख्‍न दुई वटा बाटा आकारका शीर्षहरू शीर्षका टुप्‍पामा भएका आपसमा बुनिएका साङ्लाका आकारहरू हरेक शीर्षका टुप्‍पामा भएका आपसमा बुनिएका दुई साङ्ला आकारको लहरमा बनेका चार सय काँसाका अनारहरू दश वटा गाडाहरू दश वटा पानी राख्‍ने भाँडाहरू पानी ट्याङ्की पानी ट्याङ्की थामेर उभेका बाह्र साँढेहरू भाँडा, बेल्‍चा र काँटाहरू। निपुण कारिगर हुरामले यी सबै सामानहरू चिल्‍ला टल्‍कने काँसाले बनाएका थिए। राजा सोलोमनको आज्ञाअनुसार उनले ती कुरा परमप्रभुको मन्‍दिरमा चलाउन बनाएका थिए।

17 ती सबै राजाले यर्दनका बेसीमा सुक्‍कोत र सार्तानका बीचमा भएका धातु ढलाइ गर्ने ठाउँमा बनाउन लगाए।

18 यति धेरै सामानहरू बनाइए कि काँसाको जम्‍मा तौल कसैले पक्‍का हिसाब गरेन।

19 सोलोमन राजाले मन्‍दिरको निम्‍ति सुनका यी सर-सामानहरू बनाउन लाए– वेदी, परमेश्‍वरलाई चढाएका रोटी राख्‍ने टेबिलहरू,

20 विधिअनुसार महा-पवित्रस्‍थानको सामुन्‍नेमा जलाइने निखुर सुनका सामदान र पानसहरू,

21 सिङ्गार्ने फूलहरू, पानस र चिम्‍टाहरू,

22 पानस निभाउने औजारहरू, बटुका र धूपदानीहरू र आगोको फिलिङ्गो बोक्‍ने ताप्‍केहरू। यी सबै सामानहरू निखुर सुनले बनेका थिए। मन्‍दिरका बाहिरी ढोका र महा-पवित्रस्‍थानका ढोकाहरू सुनले मोहोरिएका थिए।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy