२ इतिहास 31 - सरल नेपाली पवित्र बाइबलहिजकियाका धार्मिक-सुधार 1 चाड सिद्धिएपछि इस्राएलका सबै मानिसहरू यहूदाका विभिन्न सहरमा गए र ढुङ्गाका खम्बाहरू भत्काइदिए, अशेरा देवीलाई अर्पण गरेका मूर्तिहरू काटेर ढालिदिए र मूर्ति पुज्नेहरूका आराधना-स्थल र वेदीहरू ध्वंस पारिदिए। यहूदाका बाँकी इलाकामा बेन्यामीन, एफ्राइम र मनश्शेका थानहरूमा पनि तिनीहरूले त्यसै गरे। त्यसपछि तिनीहरू सबै घर फर्के। 2 हिजकिया राजाले पूजाहारी र लेवीहरूको सङ्गठन फेरि चालु गराए। त्यसअनुसार प्रत्येकको आ-आफ्नै काम खटाइएको हुन्थ्यो। ती कामहरूमध्ये होमबलि र मेलबलिहरू चढाउने, मन्दिरका आराधनामा भाग लिने र मन्दिरका विभिन्न भागमा प्रशंसा र धन्यवाद चढाउने काम पनि पर्थे। 3 राजाले आफ्नै गोठ र बगालबाट होमबलि चढाउन हरेक बिहान र साँझ पशुहरू दिन्थे। तीबाहेक पवित्र विश्रामका दिन, औंसीका दिन र अरू उत्सवका दिनमा परमप्रभुको व्यवस्थाअनुसार चाहिने पशुहरू पनि उनले नै दिन्थे। 4 तीबाहेक पूजाहारी र लेवीहरूले पाउनुपर्ने भेटीहरू पनि ल्याउन राजाले यरूशलेमका मानिसहरूलाई आज्ञा दिए। त्यसो हुँदा पूजाहारी र लेवीहरूले आफ्ना सम्पूर्ण समय परमप्रभुको व्यवस्थाअनुसार काम गर्न बिताउन सक्थे। 5 त्यस्तो आज्ञा हुनेबित्तिकै इस्राएलका मानिसहरूले सबैभन्दा असल अन्न, दाखमद्य, जैतुनको तेल, मह र खेतका अरू उब्जनी भेटी चढाउन ल्याए। तिनीहरूले आफूसित भएको हरेक थोकको दश भागमा एक भाग पनि ल्याए। 6 यहूदाका सहरहरूमा बास गर्ने मानिसहरू सबैले आ-आफ्ना गाई-गोरु र भेडाहरूका दश भागमा एक भाग ल्याए। तिनीहरूले धेरै मात्रामा भेटीहरू ल्याएर परमप्रभु आफ्ना परमेश्वरलाई अर्पण गरे। 7 तेस्रो महिनादेखि भेटीहरू आउन थाले र चार महिनासम्म आइरहे र थुप्रै भए। 8 हिजकिया राजा र तिनका भारदारहरूले धेरै चीज-बीज जम्मा भएको देखेर परमप्रभुलाई प्रशंसा गरे र उहाँका प्रजा इस्राएलको पनि प्रशंसा गरे। 9 राजाले ती भेटीहरूबारे पूजाहारी र लेवीहरूसित कुरा गरे 10 र सादोकको सन्तान अजर्याह मुख्य पूजाहारीले उनलाई यसो भने, “मानिसहरूले मन्दिरमा भेटीहरू ल्याउन थालेदेखि खानेकुराहरू पुग्दो भएका छन् र धेरै उब्रेका पनि छन्। परमप्रभुले आफ्ना प्रजालाई आशीर्वाद दिनुभएको हुनाले यी सबै थोक हामीसित छन्।” 11 राजाको आज्ञा हुँदा तिनीहरूले मन्दिरको इलाकाभित्र भण्डार कोठाहरू बनाए 12 र सुरक्षाको निम्ति तीभित्र सबै भेटी र दशौं हिस्साका चीजहरू राखे। तिनीहरूले ती सबै कुराको जिम्मेवार कोनन्याह नाम गरेका लेवीलाई बनाए र तिनकै भाइ शिमीलाई तिनको सहायक खटाए। 13 तिनीहरूका आदेशमा काम गर्न यी दश जना लेवीहरू खटाइए– यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाह। यी सबै कुराहरू हिजकिया राजा र अजर्याह मुख्य पूजाहारीका आज्ञाले भएका थिए। 14 परमप्रभुलाई चढाइएका भेटीहरू लिने र ती बाँड्ने कार्यभार कोरे नाम गरेका लेवीका हातमा दिइएको थियो। कोरे यिम्नाका छोरा र मन्दिरका पूर्वको मूल-ढोकाका मुख्य पहरेदार थिए। 15 अरू सहरहरूमा, जहाँ पूजाहारीहरू बास गर्थे, अरू लेवीहरू अदन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्याह थिए। तिनीहरूले आफ्ना लेवी बन्धुहरूलाई खानेकुरा बराबर गरी तिनीहरूका कामअनुसार बाँडिदिन्थे। 16 गोत्रका हिसाबले खानेकुरा बाँडिंदैनथ्यो। तीस वर्ष वा त्यसभन्दा बढ्ता उमेर भएका पुरुषहरू, जसले आफ्नो दर्जाअनुसार दिन-दिनै मन्दिरमा कार्यभार लिएका हुन्थे, तिनीहरूलाई पनि भाग बाँडिन्थ्यो। 17 पूजाहारीहरूलाई गोत्र-गोत्रका हिसाबले कार्यभार दिइन्थ्यो र बीस वा त्यसभन्दा बढी उमेर भएका लेवीहरूलाई दल-दल गरी काम लगाइन्थ्यो। 18 तिनीहरू सबैका नाम तिनीहरूका स्वास्नी, छोरा-छोरी र आश्रममा रहेका अरू प्राणीहरूका नामसहित लेखिएका हुन्थे किनभने तिनीहरू कुनै पनि बेला आफ्ना पवित्र सेवा कार्य गर्न तयार रहनुपर्थ्यो। 19 हारूनका सन्तानको निम्ति छुट्ट्याइएका सहरहरूमा वा ती सहरमा भएका गाई-वस्तुका चरनहरूमा बास गर्ने पूजाहारीहरूका बीचमा खानेकुरा बाँड्न मानिसहरू जिम्मेवार थिए। तिनीहरूले पूजाहारी परिवारका र लेवी गोत्रका नाम लेखिएका सबै पुरुषहरूलाई खानेकुरा बाँडिदिन्थे। 20 सारा यहूदाभरि हिजकिया राजाले जे कुरा उचित र परमप्रभु आफ्ना परमेश्वरलाई प्रसन्न तुल्याउनेथिए, ती गरे। 21 उनी आफ्ना काममा सफल भए किनभने मन्दिरमा वा व्यवस्था पालन गर्ने काममा तिनले आफ्ना सबै काम सम्पूर्ण ईश्वरभक्ति र इमानदारीसाथ गरेका थिए। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society