Online Bible

- Reklamy -

२ इतिहास 3 - सरल नेपाली पवित्र बाइबल

1 सोलोमनका बुबा दाऊद राजाले मन्‍दिर बनाउने ठाउँ तयार पारिसकेका थिए। त्‍यो ठाउँ यरूशलेमको मोरीयाह डाँडामा थियो, जुन ठाउँमा यबूसी र अरौनाको खला थियो जहाँ दाऊदलाई परमप्रभुले दर्शन दिनुभएको थियो।

2 सोलोमन राजाले आफू राजा भएको चौथो वर्षको दोस्रो महिनामा मन्‍दिर बनाउने काम सुरु गरे।

3 सोलोमन राजाले बनाएको मन्‍दिर २७ मिटर लामो र ९ मिटर चौडा थियो।

4 मन्‍दिरमा प्रवेश गर्ने कोठाको लम्‍बाइ मन्‍दिरको चौडाइ बराबर सामुन्‍नेपट्टि ९ मिटर थियो र उचाइ ५४ मिटर थियो। कोठाको भित्रपट्टि निखुर सुनले मोहोरिएको थियो।

5 मूल कोठामा देवदारुका तखता लाएर त्‍यसमाथि निखुर सुन मोहोरिएको थियो। मोहोरिएको सुनमा खजुरका बोट र साङ्लाको चित्र बनाएर बुट्टा हालिएका थिए।

6 राजाले मन्‍दिर सुन्‍दर र दामी रत्‍नहरू र पर्वेम देशबाट ल्‍याएका सुनले सिङ्‌गारेका थिए।

7 मन्‍दिरका भित्ताहरू, दलिनहरू, संघार र ढोकाहरू मोहोर्न उनले ती सुन चलाए। भित्ताहरूमा कारिगरहरूले पखेटा भएका स्‍वर्गदूतहरूको चित्र खोपेर बनाए।

8 महा-पवित्रस्‍थान भनिने भित्री कोठा ९ मिटर लामो र ९ मिटर चौडा थियो अर्थात् त्‍यो सामुन्‍नेपट्टि मन्‍दिरको चौडाइ बराबर लामो थियो। महा-पवित्रस्‍थानका भित्ताहरू मोहोर्न बीस टनभन्दा बढ्ता सुन चलाइयो।

9 पाँच सय सत्तरी ग्राम सुन लिएर त्‍यसका किलाहरू बनाइए। माथिल्‍ला कोठाहरूको भित्ता पनि सुनले मोहोरिएको थियो।

10 राजाले आफ्‍ना कामदारहरूलाई एक जोर पखेटा भएका करूबहरू काठको बनाउन र तिनलाई सुनले मोर्होर्न र महा-पवित्रस्‍थानमा राख्‍न आज्ञा दिए।

11-13 ती स्‍वर्गदूतहरू ढोकापट्टि मुख गरी सँगसँगै राखिएका थिए। प्रत्‍येकको एक जोर पखेटा र हरेक पखेटा २.२ मिटर लामो थियो। ती पखेटाहरू यस प्रकारले फैलिएका थिए कि प्रत्‍येकको एकएक वटा पखेटाले दुईपट्टि कोठाका भित्तालाई छुन्‍थ्‍यो। अनि अर्को एकएक वटा पखेटाचाहिँ कोठाको बीचमा आपसमा एउटाले अर्कालाई छुन्‍थ्‍यो। यसरी ती पखेटाहरू कोठाको प्राय: ९ मिटर चौडाइ वारपार गरी फैलिएका थिए।

14 अरू नीला, बैजनी र रातो रङ्गमा रङ्गाएका सामग्रीहरूले मिहिन सुती कपडामाथि पखेटा भएका स्‍वर्गदूतहरूको चित्र बनाएको एउटा पर्दा महा-पवित्रस्‍थानको लागि तयार गरियो।


काँसाका दुई गोला-खामाहरू
( १ राजा ७:१५-२२ )

15 राजाले दुई वटा गोला-खामाहरू प्रत्‍येक १५.५ मिटर अग्‍लो गरी बनाए र मन्‍दिरको सामुन्‍ने खडा गरे। दुवैका टुप्‍पामा २.२ मिटर अग्‍लो शीर्षहरू थिए।

16 उनले जालीस्‍वरूप झुण्‍डिएका सिक्रीहरू बनाएर स्‍तम्‍भका टुप्‍पा-टुप्‍पामा राखे। उनले सय वटा अनार बनाएर तिनमा सिक्रीहरूमा लगाए।

17 उनले मन्‍दिरको अगाडि ती दुई वटा स्‍तम्‍भ खडा गरे— एउटा दक्षिणपट्टि र अर्को उत्तरपट्टि। दक्षिणपट्टिको स्‍तम्‍भको नाउँ तिनले याकीन र उत्तरपट्टिको स्‍तम्‍भको नाउँ बोअज राखे।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy