Online Bible

- Reklamy -

२ इतिहास 27 - सरल नेपाली पवित्र बाइबल


यहूदाका राजा योताम
( २ राजा १५:३२-३८ )

1 पच्‍चीस वर्षको उमेरमा योताम राजा भए र उनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे। उनकी आमा सादोककी छोरी यरूशा थिइन्।

2 उनले आफ्‍ना बुबाले झैँ परमप्रभुलाई प्रसन्‍न गराउने काम गरे। उनले मन्‍दिरमा धूप बालेर बुबाचाहिँले झैँ पाप गरेनन्। तर प्रजाले भने पाप गर्न छोडेनन्।

3 मन्‍दिरको उत्तरपट्टिको मूल-ढोका योतामले बनाए र यरूशलेमको इलाकाभित्र ओफेल भनिने ठाउँछेउ सहरको पर्खालमा धेरै काम गरे।

4 यहूदाका पहाडी इलाकामा उनले सहरहरू बसाले र जङ्गलमा किल्‍ला र धरहराहरू बनाए।

5 उनले अम्‍मोनका राजा र उनका सेनासँग लडाइँ गरे र तिनीहरूलाई जिते। तब उनले अम्‍मोनीहरूलाई तीन वर्षसम्‍म वर्षेनी यी राजकरहरू तिर्न लाए– ३,४०० किलोग्राम चाँदी, १,००० मेट्रिक टन गहुँ र १,००० मेट्रिक टन जौ।

6 योताम शक्तिशाली हुँदैगए किनभने उनी विश्‍वासयोग्‍यतासाथ परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञाकारी भए।

7 योतामको शासनकालका अरू घटनाहरू, उनका लडाइँ र नीतिहरू सबै इस्राएल र यहूदाका राजाहरूको इतिहासमा लेखिएको छ।

8 राजा हुँदा योतामको उमेर पच्‍चीस वर्ष थियो। उनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे।

9 उनी मरे र दाऊदको सहरमा गाडिए। उनीपछि उनका छोरा आहाज राजा भए।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy