Online Bible

- Reklamy -

२ इतिहास 25 - सरल नेपाली पवित्र बाइबल


यहूदाका राजा अमस्‍याह
( २ राजा १४:२-६ )

1 पच्‍चीस वर्षको उमेरमा अमस्‍याह राजा भए र उनले यरूशलेममा उनन्‍तीस वर्ष राज्‍य गरे। उनकी आमा यरूशलेमकी यहोअदीन थिइन्।

2 जे कुराले परमप्रभुलाई प्रसन्‍न गराउँछन्, त्‍यही उनले गरे तर ती पूरा मनले गर्दैनथे।

3 सारा राज्‍य आफ्‍नो हातमा पक्‍का गरिसकेपछि तुरुन्‍तै उनले आफ्‍ना बुबालाई मार्ने भारदारहरूलाई मारे।

4 तर तिनका सन्‍तानहरूलाई उनले मारेनन्, बरु परमप्रभुले मोशाका व्‍यवस्‍थामा आज्ञा गर्नुभएअनुसार तिनीहरूसित गरे अर्थात् “बाल-बच्‍चाका अपराधको निम्‍ति आमा-बुबा मारिनेछैनन् र आमा-बुबाका अपराधको निम्‍ति छोरा-छोरी मारिनेछैनन्, आफैंले गरेका अपराधको निम्‍ति मात्र मानिस मारिनेछ।”


एदोमको विरुद्धमा लडाइँ
( २ राजा १४:७ )

5 अमस्‍याह राजाले यहूदा र बेन्‍यामीन कुलका सबै पुरुषहरूलाई उनका गोत्र-गोत्रअनुसार दल-दल गरेर फौजमा भर्ना गरे र हजार-हजार र सय-सयका माथि अधिकृतहरू खटाए। यसरी उनले बीस वा त्‍योभन्दा बढी उमेर भएकाहरू जम्‍मा तीन लाख पुरुषहरूलाई फौजमा लिए। त्यो लड्‍न तयार, ढाल र भाला चलाउन सिपालु र लडाइँ गर्न चुनिएका पुरुषहरूको दल थियो।

6 तीबाहेक उनले इस्राएलबाट करिब ३,४०० किलोग्राम चाँदी मजदूरी दिएर एक लाख सिपाहीहरू लिएका थिए।

7 तर एक जना अगमवक्ताले राजाकहाँ गएर भने, “यी इस्राएली सिपाहीहरू आफूसित नलानुहोस्। यी उत्तरी राज्‍यका मानिसहरूसित परमप्रभु हुनुहुन्‍न।

8 यिनीहरूले मलाई बल दिनेछन् भनी तपाईं सोच्‍नुहुन्‍छ तर हार वा जित दिने शक्ति त परमेश्‍वरसित छ। उहाँले तपाईंका शत्रुहरूलाई तपाईंमाथि विजयी गराउनुहुनेछ।”

9 अमस्‍याहले अगमवक्तालाई सोधे, “तर मैले तिनीहरूलाई अघि नै दिइसकेका चाँदीचाहिँ के हुने हो?” अगमवक्ताहरूले उत्तर दिए, “परमप्रभुले त्‍योभन्दा धेरै तपाईंलाई फर्काइदिन सक्‍नुहुन्‍छ!”

10 यसकारण अमस्‍याहले भाडा दिएर ल्‍याएका फौजी दललाई घर फर्कने आदेश दिए। त्‍यसो हुँदा तिनीहरू यहूदाका मानिसहरूसित औधी रिसाएर घर फर्के।

11 अमस्‍याहले साहससित आफ्‍नो सेना लिई नुनको बेसीमा गए। त्‍यहाँ लडाइँ गरी तिनीहरूले दश हजार एदोमी सिपाहीहरूलाई मारे

12 र अरू दश हजारलाई कैद गरे। कैदी सिपाहीहरूलाई तिनीहरूले शेला सहरको चट्टानको टाकुरामा लगेर त्‍यहाँबाट तल खसालिदिए र मुनि चट्टानमा बजारिएर तिनीहरू सबै मरे।

13 त्‍यही बेला जो-जो इस्राएली सिपाहीहरूलाई अमस्‍याहले आफूसित लडाइँमा जान दिएका थिएनन्, तिनीहरूले सामरिया र बेथ-होरोनका बीचमा भएका यहूदाका सहरहरूमाथि हमला गरे, तीन हजारलाई मारे र धेरै लुटका सामान हात पारे।

14 एदोमीहरूलाई जितेर अमस्‍याह फर्कंदा उनले आफूसँग शत्रुका देवताका मूर्तिहरू ल्याए। ती मूर्तिहरू उनले आफ्‍ना आराधना-स्‍थलमा राखे र आराधना गरे र तिनीहरूलाई धूप चढाए।

15 त्‍यसले गर्दा परमप्रभु रिसाउनुभयो र उहाँले एउटा अगमवक्तालाई अमस्‍याहकहाँ पठाउनुभयो। ती अगमवक्ताले सोधे, “तिमीले किन त्‍यस्‍ता विदेशी देवताहरू पुज्‍छौ, जसले आफ्‍नै मानिसलाई तिम्रा हातबाट बचाउन सकेनन्?”

16 बीचमा अमस्‍याह बोले, “कहिलेदेखि तिमी राजाका सल्‍लाहकार भयौ? चुप लाग नत्र म तिमीलाई मार्न लाउनेछु।” अगमवक्ता चुप भए, तर यतिचाहिँ भनिछोडे, “मलाई अब थाहा भयो कि परमेश्‍वरले तपाईंलाई नाश गर्ने पक्‍का विचार गरिसक्‍नुभएछ किनभने तपाईंले यी सबै गर्नुभयो र मेरा सल्‍लाहको वास्‍ता गर्नुभएन।”


इस्राएलसित भएको लडाइँ
( २ राजा १४:८-२० )

17 यहूदाका राजा अमस्‍याह र उनका सल्‍लाहकारहरूले इस्राएलका विरुद्धमा जाल रचे। त्‍यसपछि लडाइँ गर्ने चुनौती दिँदै

18 उनले इस्राएलका राजा येहोआशलाई एउटा खबर पठाए। योआश राजा येहोआहाजका छोरा र येहूका नाति थिए। यहोआशले अमस्‍याहलाई यस्‍तो उत्तर दिए, “एकचोटि लेबनान डाँडाको एउटा काँडे-झ्‍याङले एउटा देवदारुको रूखलाई यस्‍तो खबर पठाएछ, ‘तिम्री छोरीलाई मेरो छोरोसित विवाह गर्न देऊ।’ एउटा जङ्गली जनावरले त्‍यो काँडे-झ्‍याङलाई खुट्टाले कुल्‍चिएछ।

19 अब अमस्‍याह, तिमी मैले एदोमीहरूलाई जितें भनी अहङ्कार गर्छौ; तर हेर, म तिमीलाई घरैमा बस भनी सल्‍लाह दिन्‍छु। आफू र आफ्‍ना प्रजामाथि आपत् ल्‍याउनमात्र किन उपद्रव गर्छौ?”

20 तर अमस्‍याहले कुरा सुनेनन्। अमस्‍याहको हार होस् भन्‍ने परमेश्‍वरकै इच्‍छा थियो किनभने उनले एदोमी देवताका मूर्तिहरूको आराधना गरेका थिए।

21 यसकारण इस्राएलका राजा येहोआश यहूदाका राजा अमस्‍याहसित लड्‍न गए। तिनीहरूको भेट यहूदाको बेथ-शेमेशमा भयो।

22 यहूदाका सेना हार्‍यो र सिपाहीहरू भागेर आफ्‍ना घरतिर गए।

23 येहोआशले अमस्‍याहलाई कैद गरे र यरूशलेममा लगे। त्‍यहाँ उनले एफ्राइमको मूल-ढोकादेखि कुनाको मूल-ढोकासम्‍म झण्डै दुई सय मिटर लामो सहरको पर्खाल भत्‍काएर धुलो पारिदिए।

24 उनले मन्‍दिरमा भएका सबै सुन र चाँदी, मन्‍दिरका पूजाका सामानहरू, जसको रक्षा ओबेद-एदोमका सन्‍तानले गर्थे र राजमहलका धन-राशि लुटेर सामरियामा लगे। उनले जमानीको रूपमा कैदीहरूलाई अमस्‍याहको साथमा लगे।

25 यहूदाका राजा अमस्‍याह इस्राएलका राजा येहोआशभन्दा पन्‍ध्र वर्ष धेरै बाँचे।

26 अमस्‍याहले गरेका अरू सबै कुराहरू उनको शासनको सुरुदेखि अन्‍तसम्‍म यहूदा र इस्राएलका राजाहरूको इतिहासमा लेखिएको छ।

27 उनले परमप्रभुको विरुद्धमा विद्रोह गरेको समयदेखि उनको विरुद्धमा यरूशलेममा जाल रचिएको थियो। आखिरमा उनी भागेर लाकीशमा गए तर उनका शत्रुहरूले त्‍यहाँ पनि उनलाई पछ्याएर गए र मारे।

28 घोडामा लादेर उनको लाश यरूशलेममा लगे र दाऊदको सहरका राजाहरू गाडिने चिहानमा गाडे।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy