२ इतिहास 23 - सरल नेपाली पवित्र बाइबलअतल्याहका विरुद्धमा भएको विद्रोह ( २ राजा ११:४-१६ ) 1 यहोयादा पूजाहारीले छ वर्षसम्म पर्खेपछि अब केही गर्नुपर्ने समय भयो भनी निश्चय गरे। उनले सेनाका पाँच जना अधिकृतहरूसित मित्रता गरे; यी अधिकृतहरू यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापात। 2 तिनीहरू यहूदाका सबै सहरहरूमा गए र लेवीहरू र गोत्र-गोत्रका अगुवाहरूलाई यरूशलेममा लिएर आए। 3 तिनीहरू मन्दिरमा भेला भए र राजाका छोरा योआशसँग एउटा करार बाँधे। यहोयादाले तिनीहरूलाई भने, “मृत राजाको छोरो यहाँ छन्। परमप्रभुले दाऊद राजाका सन्तान राजा हुनेछन् भनी भन्नुभएको थियो र अब यिनी राजा हुनुपर्छ। 4 हामी यसो गर्नेछौं। विश्रामको दिनमा जब पूजाहारी र लेवीहरू काममा आउँछन्, एक तिहाइले मन्दिरका ढोकाहरूमा पहरा दिनेछन्, 5 अर्को एक तिहाइले राजदरबारमा पहरा दिनेछन् र बाँकीचाहिँ फोहराका मूल-ढोकामा हाजिर हुनेछन्। अरू सबै मानिसहरू मन्दिरको चोकमा जम्मा हुनेछन्। 6 काममा खटाइएका पूजाहारीहरू र लेवीहरूबाहेक कोही पनि मन्दिरभित्र पस्न पाउनेछैनन्। पूजाहारीहरू र लेवीहरू पस्न पाउँछन् किनभने तिनीहरू पवित्र कामको लागि अर्पण गरिएका छन्; तर बाँकी मानिसहरू सबैले परमप्रभुको आज्ञापालन गरी बाहिर बस्नेछन्। 7 लेवीहरूले हातमा तरवार लिएर राजालाई घेरी पहरा दिनेछन् र राजा जहाँ जान्छन्, त्यहाँ उनका साथमा रहनेछन्। मन्दिरमा प्रवेश गर्न खोज्ने जोसुकै होस्, त्यसलाई मार्नू।” 8 लेवीहरू र यहूदाका मानिसहरूले यहोयादाका आदेश पालन गरे। विश्रामको दिनमा काम गरिसक्ने मानिसहरूलाई घर फर्किन दिएनन् र कप्तानहरूका हातमा काममा आउने र कामबाट जाने दुवै थरीका पहरादारहरू थिए। 9 यहोयादाले अधिकृतहरूका हातमा दाऊद राजाका भाला र ढालहरू दिए, जुन हतियारहरू मन्दिरमा राखिएका थिए। 10 उनले राजाको रक्षाको निम्ति पहरादारहरूलाई हातमा तरवार लिएर मन्दिरका चारैतिर उभिन लाए। 11 त्यसपछि यहोयादाले योआशलाई ल्याए, उनको शिरमा मुकुट लाइदिए र राजाले पालन गर्नुपर्ने नियमावलीको एउटा नक्कल दिए। यसरी उनी राजा बनाइए। यहोयादा पूजाहारी र उनका छोराहरूले योआशलाई अभिषेक गरे र सबैले “राजा दीर्घायु होऊन्!” भन्दै जोडसित कराए। 12 मानिसहरूले राजालाई जयजयकार गरेका अतल्याहले सुनिन् र तिनी हतारिंदै मन्दिरमा गइन्। मानिसहरू त्यहाँ भेला भएका थिए। 13 तिनले त्यहाँ मन्दिरका मूल-ढोकामा नयाँ राजालाई देखिन्। राजाको निम्ति अलग गरेको स्तम्भनिर योआश उभिएका थिए र उनलाई सेनाका अधिकृतहरूले र तुरही बजाउनेहरूले चारैतिर घेरेका थिए। सबै मानिसहरूले आनन्दले चिच्च्याउँदै र तुरही बजाउँदै थिए र त्यसमा मन्दिरका सङ्गीतकारहरूले बाजाहरू बजाउँदै अगुवाइ गरिरहेका थिए। दु:ख मानेर तिनले आफ्नो वस्त्र च्यातिन् र कराएर भनिन्, “विश्वासघात भयो, राजद्रोह भयो!” 14 मन्दिर इलाकाभित्र अतल्याहको हत्या भएको यहोयादा चाहँदैनथे र उनले सैनिक अधिकृतहरूलाई बोलाएर भने, “पहरेदारहरूका पङ्क्तिका बीचबाट तिनलाई बाहिर लैजाओ र जसले तिनलाई बचाउन खोज्छ, त्यसलाई मार।” 15 तिनीहरूले अतल्याहलाई समाते र महलमा लगे। अनि तिनीहरूले घोडा ढोकानिर उनलाई मारे। यहोयादाका सुधारहरू ( २ राजा ११:१७-२० ) 16 योआश राजा र मानिसहरूलाई आफूसित एक भई हामी परमप्रभुका प्रजा भई बाच्नेछौं भनी यहोयादा पूजाहारीले करार बाँध्न लाए। 17 त्यसपछि तिनीहरू सबैले गएर बालको मन्दिर भत्काइदिए। तिनीहरूले वेदीहरू र तिनमा भएका मूर्तिहरू तोडे र बालको पूजाहारी मत्तानलाई वेदीको सामुन्ने मारे। 18 यहोयादाले पूजाहारी र लेवीहरूलाई मन्दिरका कार्यभार सुम्पिदिए। दाऊद राजाले खटाएका कार्यहरू तिनीहरूले गर्नुपर्थ्यो र मोशाका नियमअनुसार परमप्रभुलाई चढाएका बलिहरू जलाउनुपर्थ्यो। गान-बजान र उत्सवको भार पनि तिनीहरूले नै लिएका थिए। 19 यहोयादाले मन्दिरका मूल-ढोकाहरूमा पनि विधिअनुसार अशुद्ध भएकाहरूलाई भित्र पस्न नदिन पहरेदारहरू खटाए। 20 सेनाका अधिकृतहरू, प्रमुख नागरिकहरू, भारदारहरू र अरू बाँकी सबै मानिसहरू यहोयादाका साथ जुलुसमा हिंडे र राजालाई मन्दिरबाट महलमा ल्याए। तिनीहरू मूल-ढोकाबाट पसे र राजसिंहासनमा बसे। 21 सारा प्रजा आनन्दित थिए र अतल्याहको हत्याको कारणले सहर सुनसान थियो। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society