Online Bible

- Reklamy -

२ इतिहास 2 - सरल नेपाली पवित्र बाइबल


मन्‍दिर बनाउने तयारी
( १ राजा ५:१-१८ )

1 सोलोमन राजाले परमप्रभुको आराधना गर्न एउटा मन्‍दिर र आफ्‍नै लागि एउटा महल बनाउने निर्णय गरे।

2 उनले सत्तरी हजार माल बोकी ल्‍याउने र असी हजार ढुङ्गा काट्‍ने मानिसहरू खटाए। उनको काम हेर्न तीन हजार छ सय मुखियाहरू खटाइएका थिए।

3 सोलोमनले टुरोसका राजा हीरामलाई यो खबर पठाए, “मेरा बुबा दाऊद राजालाई महल बनाउन देवदारुका मुढाहरू बेचेजस्‍तै मसित पनि व्‍यापार गर्नुहोस्।

4 मेरा परमेश्‍वर परमप्रभुको सम्‍मान्‌मा म एउटा मन्‍दिर बनाउँदै छु। त्‍यो एउटा पवित्र-स्‍थल हुनेछ, जहाँ म र मेरा प्रजाले उहाँको आराधना गर्नेछौं, सुगन्‍धित मसलाका धूप बाल्‍नेछौं, सदैव पवित्र रोटीको भेटी चढाउनेछौं, हरेक बिहान, बेलुका र विश्रामको दिन, औँसी र अरू पवित्र दिनहरूमा परमप्रभु हाम्रा परमेश्‍वरको आदरमा होमबलिहरू चढाउनेछौं। उहाँले इस्राएललाई सदासर्वदा यसो गर्न आज्ञा गर्नुभएको छ।

5 मैले एउटा ठूलो मन्‍दिर बनाउने इच्‍छा गरेको छु किनभने हाम्रा परमेश्‍वर अरू कुनै पनि देवताभन्दा महान् हुनुहुन्‍छ।

6 वास्तवमा कसैले पनि परमेश्‍वरको निम्‍ति मन्‍दिर बनाउन सक्‍दैन किनभने सम्‍पूर्ण स्‍वर्ग नै उहाँको निम्‍ति सानो हुन्‍छ। परमेश्‍वरलाई धूप बाल्‍ने स्‍थानभन्दा ठूलो मन्‍दिर कसरी म बनाउन सक्‍छु र?

7 अब मकहाँ सुन र चाँदी, काँसा र फलामको कुँदाइको काम गर्ने र नीला, बैजनी र राता कपडा बुन्‍ने एक जना सिपालु कारिगर पठाइदिनुहोस्। मेरा बुबाले चुनेका यहूदा र यरूशलेमका शिल्‍पकारहरूसित उनले काम गर्नेछन्।

8 मलाई थाहा छ कि तपाईंका काठ काट्‍ने मानिसहरू कति सिपालु छन्, यसर्थ मलाई देवदारु, सल्‍ला र चन्दनका मुढाहरू लेबनानबाट पठाइदिनुहोस्।

9 तपाईंका कारिगरहरूलाई धेरै मात्रामा काठहरू तयार गर्न मद्दत गर्न मेरा मानिसहरू पठाउन म तयार छु किनभने जुन मन्‍दिर म बनाउन चाहन्‍छु, त्‍यो खुबै ठूलो र सुन्‍दर हुनेछ।

10 तपाईंका काठ काट्‍ने मानिसहरूले खानलाई म दुई-दुई हजार टन गहुँ, जौ, चार-चार लाख लिटर दाखमद्य र जैतुनको तेल पठाउनेछु।”

11 हीराम राजाले सोलोमनलाई यस्‍तो उत्तर पठाए, “परमप्रभुले आफ्‍ना प्रजालाई प्रेम गर्नुहुन्‍छ र तपाईंलाई तिनीहरूका राजा बनाउनुभयो।

12 स्‍वर्ग र पृथ्‍वी बनाउनुहुने परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा होस्! उहाँले दाऊद राजालाई एउटा समझदार, सिपालु र बुद्धिमान् छोरो दिनुभएको छ, जसले परमप्रभुको निम्‍ति एउटा मन्‍दिर र आफ्‍नो निम्‍ति एउटा महल बनाउने योजना गरेका छन्।

13 म तपाईंकहाँ एउटा बुद्धिमान् र अति सिपालु र निपुण कारिगर पठाउँदै छु, जसको नाम हुराम हो।

14 उनकी आमा दान कुलकी चेली थिइन् र उनका बुबा टुरोस देशका बासिन्‍दा थिए। उनले सुन, चाँदी, काँसा, फलाम, ढुङ्गा र काठको काम गर्न जान्‍दछन्। नीला, बैजनी र राता रङ्गका कपडा र मिहिन सुती कपडाको काम पनि उनले गर्न सक्‍छन्। उनले सबै प्रकारका कुँदाइका काम गर्न सक्‍छन् र जस्‍तो नक्‍शा दिइन्‍छ, त्‍यसअनुसार काम गर्न सक्‍छन्। उनलाई आफ्‍ना शिल्‍पकारहरू र मेरा स्‍वामी, तपाईंका पिता दाऊद राजाका निम्‍ति काम गर्ने कारिगरहरूसित काम गर्न दिनुहोस्।

15 अब आफूले प्रतिज्ञा गरेका गहुँ, जौ, दाखमद्य र जैतुनको तेल हामीकहाँ पठाइदिनुहोस्।

16 तपाईंलाई चाहिने सबै देवदारुका काठ हामी लेबनानका डाँडाबाट काटेर मुढाहरूसँगसँगै बाँधी समुद्रको पानीमा बगाएर योप्‍पासम्‍म पठाइदिनेछौं। त्‍यहाँबाट यरूशलेम लैजाने कामचाहिँ तपाईंले मिलाउनुहोला।”


मन्‍दिर बनाउने काम सुरु हुन्‍छ
( १ राजा ६:१-३८ )

17 सोलोमन राजाले आफ्‍ना बुबा दाऊदले गरेझैँ इस्राएल देशमा बास गर्ने सबै विदेशीहरूको गन्‍ती लिए। १,५३,६०० विदेशीहरू त्‍यहाँ बास गर्थे।

18 तीमध्‍ये ७०,००० लाई उनले माल बोक्‍ने काममा र ८०,००० लाई पहाडमा ढुङ्गा काट्‍ने काममा खटाए। उनले तिनीहरूको काम हेर्न ३,६०० मुखियाहरू खटाए।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy