Online Bible

- Reklamy -

२ इतिहास 16 - सरल नेपाली पवित्र बाइबल


इस्राएलमाथि आपत्-विपत्
( १ राजा १५:१७-२२ )

1 यहूदाका राजा आसाका शासनकालको छत्तीसौं वर्षमा इस्राएलका राजा बाशाले यहूदामाथि आक्रमण गरे र यहूदासित मानिस र मालको आउ-जाउ बन्‍द गर्न रामा सहर सुरक्षित पार्न थाले।

2 यसकारण आसाले मन्‍दिर र महलका भण्‍डारहरूबाट सुन र चाँदी निकालेर अरामका राजा बेन-हददकहाँ दमस्‍कसमा यसो भनी पठाए,

3 “हामी आफ्‍ना बुबाहरूले झैँ मित्रता गरौं। यी सुन र चाँदी मैले तपाईंलाई कोसेली पठाउँदै छु। इस्राएलका राजा बाशासितको मित्रता तोड्‍नुहोस् र उनले मेरो देशबाट आफ्‍ना फौज निकाली लैजानुपरोस्।”

4 आसाका कुरा बेन-हददले माने र आफ्‍ना सेनासाथ सेनापतिहरूलाई इस्राएलका सहरहरूमा आक्रमण गर्न पठाए। तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्‍तालीका सबै भण्‍डारका सहरहरू कब्‍जा गरे।

5 जे हुँदै थियो, त्‍यसको खबर पाएर बाशा राजाले रामा सहरलाई सुरक्षित बनाउन बन्‍द गरे र त्‍यहाँ गर्दैगरेको काम रोके।

6 त्‍यसपछि आसा राजाले सारा यहूदाबाट मानिसहरू भेला गरे र बाशाले रामामा चलाउँदैगरेको सबै काठ-पात र ढुङ्गाहरू लगेर जाने आज्ञा गरे अनि गेबा र मिस्‍पा सहरहरू सुरक्षित पार्न ती काठ-पात र ढुङ्गाहरू काममा लाए।


हनानी अगमवक्ता

7 त्‍यस बेला हनानी अगमवक्ताले आसा राजाकहाँ गएर भने, “तपाईं परमप्रभु हाम्रा परमेश्‍वरको सट्टामा अरामका राजामा भर पर्नुभयो। यसकारण अरामका राजाका सेना तपाईंका हातबाट उम्‍के।

8 के कूशी र लिबियाली सेनाहरूसित धेरै रथ र घोडसवारहरू थिएनन् र? तर तपाईं परमप्रभुमा भर पर्नुभएको हुनाले उहाँले तपाईंलाई तिनीहरूमाथि विजय दिनुभयो।

9 परमप्रभुले सारा संसारमाथि नजर राख्‍नुहुन्‍छ र ज-जसका हृदय उहाँप्रति विश्‍वासयोग्‍य छन्, तिनीहरूलाई बल दिनुहुन्‍छ। तपाईंले मूर्ख काम गर्नुभयो। यसकारण अब उसो सधैँ तपाईंले लडाइँ गर्नुपर्नेछ।”

10 यी वचनले गर्दा आसा ती अगमवक्तासित औधी रिसाए र उनलाई साङ्लाले बाँध्‍न लाए। त्‍यसै बेला आसाले मानिसहरूसित क्रुर व्‍यवहार गर्न लागे।


आसा राजाको शासनको अन्‍त
( १ राजा १५:२३-२४ )

11 आसाका शासनकालका सम्‍पूर्ण घटनाहरू सुरुदेखि अन्‍तसम्‍म यहूदा र इस्राएलका राजाहरूको इतिहासमा लेखिएको छ।

12 आसा राजा भएको उनन्‍चालीसौं वर्षमा एउटा खुट्टाको नराम्रो रोगले उनी खोरण्‍डे भए। त्‍यस बेला पनि उनी सहायताको निम्‍ति परमप्रभुतिर फर्केनन् तर वैद्यहरूतिर पो फर्के।

13 दुई वर्षपछि उनी मरे

14 र उनी आफैंले आफ्‍नो निम्‍ति चट्टानमा दाऊदको सहरमा खोपेको चिहानमा गाडिए। तिनीहरूले मसला र सुगन्‍धित मलेर उनको लाश गाड्‍नलाई तयार पारे र उनको मृत्‍युमा शोक प्रकट गर्दै एउटा ठूलो आगो बाले।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy