२ इतिहास 15 - सरल नेपाली पवित्र बाइबलआसाले गरेका सुधारहरू 1 परमेश्वरका आत्मा ओदेदका छोरा अजर्याहमा उत्रनुभयो 2 र उनी आसा राजालाई भेट्न गए। उनले जोडले भने, “मेरा कुरा सुन! हे राजा आसा र यहूदा र बेन्यामीनका सबै मानिसहरू हो! जबसम्म तिमीहरू परमप्रभुको साथमा रहन्छौ, तबसम्म उहाँ तिमीहरूसित रहनुहुन्छ। तिमीहरूले उहाँलाई खोज्यौ भने उहाँलाई भेट्टाउनेछौ; तर उहाँलाई त्याग्यौ भने उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ। 3 धेरै समयसम्म इस्राएलले साँचो परमेश्वरबिना जीवन बिताइरह्यो। तिनीहरूलाई सिकाउन पूजाहारीहरू थिएनन्, व्यवस्था नै थिएन। 4 तर जब कष्ट आयो, तिनीहरू परमप्रभु इस्राएलका परमेश्वरतिर फर्के। तिनीहरूले उहाँलाई खोजे अनि पाए। 5 ती दिनमा कोही पनि बिनाडर आउ-जाउ गर्न सक्दैनथे किनभने हरेक देशमा कष्ट र गड्बडी थियो। 6 एउटा जातिले अर्को जातिलाई र एउटा सहरले अर्को सहरलाई सताउँथ्यो किनभने परमेश्वरले तीमाथि दु:ख र कष्ट ल्याउँदै हुनुहुन्थ्यो। 7 तर तिमीहरू बलिया हुनुपर्छ र हताश हुनुहुँदैन। तिमीहरूले जे काम गर्छौ, त्यसको फल पाउनेछौ।” 8 जब आसाले ओदेदका छोरा अजर्याहको मुखबाट यस्तो अगमवाणी सुने, उनको आँट बढ्यो। उनले यहूदा र बेन्यामीन देशमा भएका सबै मूर्तिहरू र आफूले एफ्राइमको पहाडी इलाकामा कब्जा गरेका सहरहरूमा पाएका सबै मूर्तिहरू हटाइदिए। उनले मन्दिरको चोकमा भएको परमप्रभुको वेदी पनि मरमत गरे। 9 धेरै मानिसहरू एफ्राइम, मनश्शे र शिमियोनबाट आसापट्टि लागेर उनका राज्यमा बास गर्दै थिए किनभने उनीसित परमप्रभु हुनुहुन्छ भनी तिनीहरूले देखेका थिए। तिनीहरू सबै जनालाई र यहूदा र बेन्यामीनका मानिसहरूलाई पनि आसाले एकसाथ भेला गरे। 10 आसाले राज्य गरेका पन्ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा भेला भए। 11 त्यस दिन तिनीहरूले लुटमा बटुली ल्याएका सामानबाट परमप्रभुलाई बलिदान चढाए– तिनीहरूले सात सय साँढे र सात हजार भेडाहरू बलि चढाए। 12 परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई आफ्ना पूरा तन र मनले पुज्ने सङ्कल्प गर्दै तिनीहरूले करार बाँधे। 13 युवा र बुढा, पुरुष र स्त्री, ज-जसले उहाँलाई पुज्दैनथे, तिनीहरू मारिने भए। 14 ठूलो स्वरले कराएर तिनीहरूले परमप्रभुको नाउँमा हामी यो करार पूरा गर्नेछौं भनी शपथ खाए र स्वर उचाल्दै तुरही बजाए। 15 यहूदाका सारा प्रजा प्रसन्न थिए किनभने आफ्ना पूरा हृदयले तिनीहरूले यो करार बाँधेका थिए। परमप्रभुलाई पुज्दा तिनीहरूले आनन्द पाउँथे र तिनीहरूलाई उहाँले ग्रहण गर्नुभएर चारैतिर शान्ति दिनुभयो। 16 आसा राजाले आफ्नी बज्यै माकालाई राज-माताको पदबाट हटाइदिए किनभने तिनले अशेरा देवीको एउटा घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यो मूर्ति काटेर ढाले, टुक्रै-टुक्रा पारे र टुक्राहरू किद्रोनको खोल्सामा जलाइदिए। 17 आसाले देशभित्र भएका सबै मूर्तिपूजाका स्थलहरू नाश नगरे पनि उनी आफ्नो जीवनभरि परमप्रभुप्रति विश्वासयोग्य रहे। 18 मन्दिरमा उनले आफ्ना बुबा अबियाले परमेश्वरलाई अर्पण गरेका सबै थोक साथै आफैंले अर्पण गरेका सुन र चाँदीका चीज-बीजहरू ल्याएर राखे। 19 उनको राज्यकालको पैंतीसौं वर्षसम्म कुनै लडाइँ भएन। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society