Online Bible

- Reklamy -

२ इतिहास 11 - सरल नेपाली पवित्र बाइबल


शमायाहको अगमवाणी
( १ राजा १२:२१-२४ )

1 जब रहबाम राजा यरूशलेममा आइपुगे, तब उनले यहूदा र बेन्‍यामीन कुलबाट एक लाख असी हजार सबैभन्दा असल लडाकु सैनिकहरू एकसाथ भेला गरे। युद्ध गरी इस्राएलको उत्तरी भागका कुलहरूमाथि फेरि आफ्‍नो अधिकार गर्ने तिनको इच्‍छा थियो।

2-3 तर रहबाम राजा, यहूदा र बेन्‍यामीन कुलका सारा प्रजालाई यो सन्‍देश दिन भनी परमप्रभुले शमायाह अगमवक्तालाई आदेश दिनुभयो,

4 “आफ्‍नै इस्राएली दाजुभाइहरूमाथि हमला नगर। तिमीहरू सबै घर फर्क। जे भयो, त्‍यो मेरो इच्‍छाले भएको हो।” तिनीहरूले परमप्रभुका आज्ञापालन गरे र यारोबामसित लडाइँ गर्न गएनन्।


रहबामले सहर सुरक्षित बनाउँछन्

5 रहबाम यरूशलेममा बसे र यहूदा र बेन्‍यामीनका यी सहरहरूलाई गढी र पर्खालहरू बनाई सुरक्षित बनाए–

6 बेथलेहेम, एताम, तको,

7 बेथ-सर, सोखो, अदुल्‍लाम,

8 गात, मारेशा, जीप,

9 अदोरेम, लाकीश, आजेका,

10 सोरा, अय्‍यालोन र हेब्रोन।

11 ती सहरहरू तिनले बलियो गरी सुरक्षित पारे र प्रत्‍येकमा एक-एक जना राज्‍यपालहरूलाई खटाए र खानेकुरा, जैतुनको तेल, दाखमद्य

12 ढाल र भालाहरू पनि राखे। यसरी उनले यहूदा र बेन्‍यामीनलाई आफ्‍नो अधीनमा राखे।


पूजाहारीहरू र लेवीहरू यहूदामा आउँछन्

13 सारा इस्राएल देशबाट पूजाहारी र लेवीहरू दक्षिणतिर यहूदामा आए।

14 लेवीहरूले आफ्‍ना भेडाका खर्क र अरू जग्‍गाहरू त्‍यागेर यहूदा र यरूशलेममा बसाइँ सरे किनभने इस्राएलका राजा यारोबाम र उनीपछिका राजाहरूले तिनीहरूलाई परमप्रभुका पूजाहारी भई उहाँको सेवा गर्न दिएनन्।

15 यारोबामले मूर्तिपूजा गर्ने स्‍थानहरूमा सेवा गर्न र आफूले बनाएका भूत-प्रेत र साँढेका मूर्तिहरू पुज्‍न आफ्‍नै पूजाहारीहरू खटाए।

16 सारा इस्राएली कुलहरूबाट ज-जसले परमप्रभु इस्राएलका परमेश्‍वरलाई पुज्‍ने इच्‍छा हृदयबाट गर्थे, तिनीहरू लेवीहरूलाई पछ्याई परमप्रभु आफ्‍ना पिता-पुर्खाका परमेश्‍वरलाई नै बलिदान चढाउने इच्‍छाले यरूशलेममा गए।

17 त्‍यसले गर्दा यहूदाको राज्‍य बलियो भयो र तीन वर्षसम्‍म तिनीहरू सोलोमनका छोरा रहबामको पछि लागे र दाऊद र सोलोमन राजाहरूका पालामा झैँ उनको शासनमा बसे।


रहबामको परिवार

18 रहबामले महलतलाई विवाह गरे। पिता यरीमोत दाऊदका छोरा थिए। उनकी आमा अबीहेल एलीआबकी छोरी र यिशैकी नातिनी थिइन्।

19 तिनीहरूका तीन छोरा भए– येऊश, शमरयाह र साहम।

20 त्‍यसपछि उनले अब्‍शालोमकी छोरी माकालाई विवाह गरे र तिनीबाट चार छोराहरू जन्‍मे– अबिया, अत्तै, जीजा र शलोमीत।

21 रहबामका जम्‍मा अठार जना बिहाइते र साठी जना ल्‍याइते स्‍वास्‍नीहरू थिए र उनी अट्‌ठाइस छोरा र साठी छोरीहरूका बुबा भए। आफ्‍ना स्‍वास्‍नी र रखौटीहरूमध्‍ये उनले माकालाई सबैभन्दा धेरै माया गर्थे

22 अनि तिनीबाट जन्‍मेका छोरो अबियालाई अरू छोरा-छोरीहरूभन्दा धेरै स्‍नेह गर्थे र उनलाई आफूपछि राजा हुनलाई चुने।

23 रहबामले बुद्धिमानीसाथ आफ्‍ना छोराहरूलाई कामका भार दिएर यहूदा र बेन्‍यामीनका इलाकाहरूमा सुरक्षित पारेका सबै सहरहरूमा राखे। तिनीहरूलाई रहबामले मुट्ठी खोलेर खाद्यान्‍न इत्‍यादि दिन्‍थे र धेरै स्‍वास्‍नीहरू पनि ल्‍याइदिए।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy