२ इतिहास 10 - सरल नेपाली पवित्र बाइबलउत्तरका कुलहरूको विद्रोह ( १ राजा १२:१-२० ) 1 रहबाम शकेममा गए। त्यहाँ उत्तरका सबै मानिसहरू तिनलाई राजा बनाउन भेला भएका थिए। 2 सोलोमन राजाबाट भागेर मिश्रमा गएका नबातका छोरा यारोबाम यो कुरा सुनेर घरमा फर्किए। 3 उत्तरका कुलका मानिसहरूले उनलाई बोलाउन पठाए र तिनीहरू सबैले एकसाथ रहबामलाई भने, 4 “तपाईंका बुबाले हामीसित कठोर व्यवहार गरे र हामीलाई सताए। ती सतावटका बोझहरू तपाईंले हलुङ्गो गरिदिएर हाम्रा जीवनमा आराम दिनुभयो भने हामी तपाईंको देशभक्त प्रजा रहनेछौं।” 5 रहबामले उत्तर दिए, “मलाई यस कुरामा विचार गर्न तीन दिन देओ। त्यसपछि आओ।” मानिसहरू फर्किए। 6 रहबाम राजाले आफ्ना बुबाका सल्लाहकार रहेका बुढापाकाहरूसित सल्लाह गरे। तिनले सोधे, “यी मानिसहरूलाई म के उत्तर दिऊँ, के-के सल्लाह दिन्छौ?” 7 तिनीहरूले जवाफ दिए, “यदि तपाईंले यिनीहरूमाथि दया गरेर र अनुकुल उत्तर दिएर यिनीहरूलाई खुसी राख्नुभयो भने तिनीहरूले सधैँ देशभक्तिसाथ तपाईंको सेवा गर्नेछन्।” 8 तर ती बुढापाकाहरूको सल्लाह तिनले सुनेनन् र त्यसको सट्टामा आफूसँग बढेका ती ठिटाहरूकहाँ गए, जो त्यस बेला तिनका सल्लाहकार बनेका थिए। 9 “म के गरूँ? कस्तो सल्लाह दिन्छौ?” तिनले सोधे, “हाम्रा बोझ हल्का गरिदेऊ भनी मलाई बिन्ती गर्ने मानिसहरूलाई म के जवाफ दिऊँ?” 10 तिनीहरूले जवाफ दिए, “तिनीहरूलाई यसो भन्नुहोस्– ‘मेरा बुबाका कम्मरभन्दा मेरो कान्छी औँली झन् मोटो छ।’ 11 मेरो बुबाले तिमीहरूलाई गह्रौं भारी बोकाए, ‘म ती बोझ अझ गह्रौं पारिदिनेछु।’ उनले तिमीहरूलाई हलुङ्ग कोर्राले हिर्काएथे, म घोडाको चाबुक लाउनेछु’।” 12 तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबाम राजाकहाँ उनको आदेशअनुसार आए। 13 राजाले बुढापाकाहरूको सल्लाह मानेनन् र ठिटाहरूको सल्लाहअनुसार मानिसहरूसित कड्केर कुरा गरे। उनले भने, 14 “मेरा बुबाले तिमीहरूलाई गह्रौं भारी बोकाए, म अझ गह्रौं भारी बोकाउनेछु। उनले हलुङ्ग कोर्राले हिर्काएथे, म घोडाको चाबुक लाउनेछु!” 15 शीलोका अगमवक्ता अहियाहद्वारा परमप्रभुले नबातको छोरो यारोबामलाई भन्नुभएको कुरा पूरा गर्ने उहाँको इच्छा थियो। यसैकारण राजाले प्रजाका कुरामा केही ध्यान दिएनन्। 16 राजाले आफ्ना कुरा नसुनेका देखेर मानिसहरूले चिच्च्याएर भने, “दाऊद र उनका सन्तानलाई नाश गर। तिनीहरूले हाम्रा लागि कहिले, के नै गरे र? इस्राएलका मानिसहरू हो! हिंड, घर जाऔं! रहबाम आफैंले आफ्नो बाटो सम्हालोस्!” यसरी इस्राएलका मानिसहरूले राजद्रोह गरे। 17 तिनीहरूले रहबामलाई यहूदा कुलको देशमा बास गर्ने मानिसहरूको मात्र राजा हुन दिए। 18 तब रहबाम राजाले बेगारी मजदूरहरूका कामदारी अदोनीरामलाई इस्राएलीहरूकहाँ पठाए; तर तिनीहरूले उनलाई ढुङ्गाले हानेर मारे। त्यसो हुँदा रहबाम हतार-हतार आफ्नो रथमा चढेर यरूशलेममा भागेर गए। 19 त्यस दिनदेखि इस्राएल देशका उत्तरी भागका मानिसहरू आजसम्म दाऊदका राजवंशको विरुद्धमा हठी भएका छन्। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society