२ इतिहास 1 - सरल नेपाली पवित्र बाइबलसोलोमन राजाले बुद्धिको निम्ति प्रार्थना गर्छन् ( १ राजा ३:१-१५ ) 1 दाऊद राजाका छोरा सोलोमनले इस्राएल राज्यको शासन बलियो गरी आफ्नो हातमा लिए। परमप्रभु उनका परमेश्वरले उनलाई आशिष् दिनुभयो र धेरै शक्तिशाली बनाउनुभयो। 2 सोलोमन राजाले सबै अधिकृतहरू सय-सय र हजार-हजारका सेनापतिहरू, सरकारी भारदारहरू, परिवार-परिवारका प्रधानहरू र सारा बाँकी प्रजालाई 3 आफूसित गिबोनका आराधना-स्थलमा जाने आज्ञा गरे। तिनीहरू त्यहाँ गए किनभने परमप्रभुले बास गर्ने पवित्र पाल त्यहीँ राखिएको थियो। त्यस पाललाई परमप्रभुका सेवक मोशाले उजाड-भूमिमा बनाएका थिए। 4 (करारको सन्दुक यरूशलेममा नै थियो। दाऊद राजाले त्यसलाई किर्यत-यारीमबाट ल्याएर त्यहाँ आफूले तयार गरेको एउटा तम्बुमा राखेका थिए।) 5 ऊरीका छोरा र हूरका नाति बजलेलले बनाएका काँसाको वेदी पनि गिबोनमा परमप्रभुले बास गर्ने पवित्र पालको सामुन्ने राखिएको थियो। त्यहाँ सोलोमन र सारा इस्राएलका मानिसहरूले परमप्रभुलाई पुजे। 6 पवित्र पालको सामुन्ने राजाले काँसाको वेदीमा होमबलि चढाएर परमप्रभुलाई पुजे। उनले एक हजार पशु मार्न लाएर त्यस वेदीमा होमबलि चढाए। 7 त्यस रात परमेश्वरले सोलोमनलाई दर्शन दिनुभयो र सोध्नुभयो, “म तँलाई के दिऊँ? तँ के चाहन्छस्?” 8 सोलोमनले उत्तर दिए, “तपाईंले मेरा बुबा दाऊदलाई सधैँ महान् प्रेम देखाउनुभयो र अहिले मलाई उनीपछि राजा हुन दिनुभयो। 9 हे परमप्रभु परमेश्वर! तपाईंले मेरा बुबालाई दिनुभएको प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले मलाई एउटा जातिमाथि राजा बनाउनुभयो, जसको सङ्ख्या यति धेरै छ कि तिनको गन्ती हुन सक्दैन। 10 यसर्थ तिनीहरूमाथि राज्य गर्न चाहिने बुद्धि र ज्ञान मलाई दिनुहोस्। नत्रता मैले कसरी तपाईंको यो महान् जातिमाथि शासन गर्न सकूँला?” 11 परमेश्वरले सोलोमनलाई उत्तर दिनुभयो, “तैँले उचित कुरा मागिस्। धन-सम्पत्ति, सुनाम वा शत्रुको मृत्यु वा आफ्नै लागि दीर्घायु नमागेर तैँले मेरा प्रजा, जसमाथि मैले तँलाई राजा बनाएको छु, तिनीहरूमाथि शासन गर्न ज्ञान र बुद्धि मागिस्। 12 म तँलाई ज्ञान र बुद्धि दिनेछु। यसमाथि म तँलाई धेरै धन-सम्पत्ति र सुनाम दिनेछु, जुन अघि कहिल्यै कुनै राजाले पाएको थिएन न त फेरि कहिल्यै कुनै राजाले पाउनेछ।” सोलोमन राजाको शक्ति र धन ( १ राजा १०:२६-२९ ) 13 यसकारण सोलोमन गिबोनको आराधना-स्थलबाट, जहाँ परमप्रभुले बास गर्नुहुने पवित्र पाल थियो, त्यहाँबाट बिदा भए र यरूशलेममा फर्के। त्यहाँबाट उनले इस्राएलमाथि राज्य गरे। 14 उनले चौध सय रथ र बाह्र हजार घोड-चढीहरूको एउटा सेना तयार गरे। तीबाट केही उनले यरूशलेममा राखे र बाँकी अरू विभिन्न सहरहरूमा खटाए। 15 उनको राज्यकालमा यरूशलेममा सुन र चाँदी ढुङ्गासरह र देवदारुको काठ साधारण नेभाराका काठसरह जहीँ-तहीँ पाइन्थ्यो। 16 राजाका प्रतिनिधिहरूले मिश्र र क्यूएबाट घोडाहरूको निकासीको व्यापार गर्दथे। 17 तिनीहरूले मिश्रदेशबाट रथहरूको निकासी गर्थे। तिनीहरूले हित्ती र अरामी राजाहरूलाई एउटा रथलाई छ सय र एउटा घोडालाई डेढ सय चाँदीका टुक्राका दरले दाम लिएर बेच्थे। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society