Online Bible

- Reklamy -

१ थेसलोनिकी 1 - सरल नेपाली पवित्र बाइबल

1 थेसलोनिकामा भएको परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा मण्‍डलीलाई हामी पावल, सिलास र तिमोथीले यो पत्र लेख्‍दै छौं। तिमीहरूलाई अनुग्रह र शान्‍ति मिलोस्।


थेसलोनिकीहरूको जीवन र विश्‍वास

2 हामीहरू तिमीहरू सबैका लागि परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छौं र सधैँ प्रार्थना गर्दा पनि तिमीहरूलाई सम्‍झनेगर्छौं।

3 हाम्रा परमेश्‍वर र पिताको सामु तिमीहरूको विश्‍वासबाट गरेको काम र प्रेमले गरेको परिश्रम र हाम्रा प्रभु येशू ख्रीष्‍टमा राखेको आशाबाट तिमीहरू दरिलो भएको सम्‍झिरहन्‍छौं।

4 दाजुभाइहरू, हामीलाई यो कुरा थाहा छ, परमेश्‍वरले नै तिमीहरूलाई प्रेम गरेर छान्‍नुभएको हो

5 किनभने हामीहरूले तिमीहरूलाई सुनाएको सुसमाचार व्‍यर्थको कुरा थिएन। तर पवित्र आत्‍मा र शक्तिसाथ सुनाइएका एकदमै साँचो कुरो थियो। तिमीहरूसँग हुँदा हाम्रो जीवन कस्‍तो थियो, तिमीहरूलाई थाहा भयो।

6 तिमीहरू प्रभुको र हाम्रो नमुनामा चल्‍यौ। आपत्-बिपत्‌हरू आइपर्दा पनि तिमीहरूले पवित्र आत्‍माले दिनुभएको सुसमाचार आनन्‍दसाथ लियौ।

7 यसकारण तिमीहरू माकेडोनिया र अखैयामा भएका सबै विश्‍वासीहरूका लागि एक नमुना बनेका छौ।

8 प्रभुको शिक्षा तिमीहरूले माकेडोनिया र अखैयामा मात्र फैलाएनौ, तर चारैतिर परमेश्‍वरप्रति तिमीहरूका विश्‍वासको कुरो फैलियो। यस बारेमा हामीले केही पनि कुरा भनिरहनुपरेन।

9 हामी तिमीहरूकहाँ आउँदा तिमीहरूले कसरी हाम्रो स्‍वागत गर्‍यौ अनि मूर्तिपूजालाई छोडेर जिँउदो साँचो परमेश्‍वरकहाँ आयौ, उहाँकै भक्त भयौ। यो कुरा ती सबै मानिसहरू आफैंले भनेका छन्।

10 उनीहरूले भने कि तिमीहरू स्‍वर्गबाट परमेश्‍वरको पुत्र आउनुहुन्‍छ भनेर बाटो हेरिरहेका छौ रे। उहाँ परमेश्‍वरले मरेकाबाट बिउँताउनुभएको येशू हुनुहुन्‍छ। हामीलाई आइपर्ने परमेश्‍वरको रिसबाट बचाउने पनि उहाँ नै हुनुहुन्‍छ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy