Online Bible

- Reklamy -

१ शमूएल 8 - सरल नेपाली पवित्र बाइबल


मानिसहरूले राजाको माग गर्छन्‌

1 शमूएल बुढा भएपछि आफ्‍ना छोराहरूलाई इस्राएलका न्‍यायकर्ता खटाए।

2 जेठो छोराको नाम योएल र कान्‍छोको नाम अबिया थियो। ती दुई बेर्शेबामा न्‍यायकर्ता थिए।

3 तर तिनीहरू आफ्‍ना बुबाका चालअनुसार चलेनन्। तिनीहरू धन कमाउनमा मात्र चासो लिन्‍थे। यसकारण तिनीहरूले घूस लिन्‍थे र इमानदारीसित मुद्दाहरूको न्‍याय गर्दैनथे।

4 तब इस्राएलका सबै अगुवाहरू एकसाथ भेला भएर शमूएलकहाँ रामामा गए

5 र तिनलाई भने, “हेर्नुहोस्, तपाईं बुढो हुँदै हुनुहुन्‍छ अनि तपाईंका छोराहरू तपाईंको चालअनुसार चल्‍दैनन्। यसकारण अब हामीमाथि शासन गर्नलाई एक जना राजा नियुक्त गर्नुहोस् र हाम्रो पनि अरू देशमा झैँ राजा हुनेछन्।”

6 तिनीहरूले राजाको लागि बिन्‍ती गरेकोमा शमूएल खुसी थिएनन्। तिनले परमप्रभुलाई प्रार्थना गरे

7 अनि प्रभुले भन्‍नुभयो, “तँलाई मानिसहरूले भनेका सबै कुरा सुन्। तिनीहरूले तँलाई अस्‍वीकार गरेका होइनन्, तिनीहरूले त मलाई पो आफ्‍ना राजा मान्‍न अस्‍वीकार गरेका हुन्।

8 मैले तिनीहरूलाई मिश्रबाट निकाली ल्‍याएका दिनदेखि सधैँ तिनीहरू मदेखि तर्केर गए र अरू देवी-देवता पुजेका छन् र जसो तिनीहरूले सधैँ मसित गर्दैआएका थिए। अब तँसित पनि त्‍यस्‍तै गर्दैछन्।

9 यसकारण अब तिनीहरूका कुरा सुन्, तिनीहरूलाई कडा चेतावनी दे र तिनका राजाहरूले तिनीहरूसित कस्‍तो व्‍यवहार गर्नेछन्, सो बताइदे।”

10 राजा माग्‍ने मानिसहरूलाई परमप्रभुले भन्‍नुभएका सबै कुरा शमूएलले भनिदिए।

11 “राजाले तिमीहरूसित यस्‍तो व्‍यवहार गर्नेछन्,” शमूएलले भने, “तिनले तिम्रा छोराहरूलाई सिपाही बनाउनेछन्। तिनीहरू कसैले लडाइँको निम्‍ति रथमा काम गर्नेछन्, कसैले घोडचढी सेनामा र अरूहरू तिनका रथका अघिअघि दगुर्नेछन्।

12 कसैलाई तिनले हजार जनामाथि र अरू कसैलाई पचास जनामाथि सेनापति बनाउनेछन्। तिम्रा छोराहरूले तिनको खेत जोत्‍नु, फसल काटी बटुल्‍नु र तिनका हात-हतियार र रथका सर-सामान बनाउनुपर्नेछ।

13 तिम्रा छोरीहरूले तिनको लागि सुगन्‍धित अत्तर बनाउनु र भान्‍छेको काम र रोटी बनाउने काम गर्नुपर्नेछ।

14 तिम्रा सबैभन्दा असल खेतबारी, दाखबारी र जैतुनबारी तिनले लिएर आफ्‍ना भारदारहरूलाई दिनेछन्।

15 तिम्रा अन्‍न र दाखका दशांश-हिस्‍सा तिनले आफ्‍ना राजमहलका र अरू अफिसरहरूको निम्‍ति लिनेछन्।

16 तिनले तिम्रा नोकर-चाकर र सबैभन्दा असल गाई-वस्‍तु र गधाहरू लिएर आफ्‍ना काममा लाउनेछन्।

17 तिनले तिम्रा भेडा-बाख्राको दशांश हिस्‍सा लिनेछन् र तिमीहरू आफैंचाहिँ तिनका कमारा हुनेछौ।

18 त्‍यो समय आउँदा राजाको कारणले गर्दा तिमीहरूले कटुतासित आफ्‍नो दु:ख पोखाउनेछौ, तर परमप्रभुले तिम्रो बिन्‍ती सुन्‍नुहुनेछैन।”

19 शमूएलका कुरामा ध्‍यान नदिई मानिसहरूले भने, “अँहँ, हामी राजा नै माग्‍छौं

20 र हामी पनि अरू जातिहरू जस्‍तै हुनेछौं। हामीलाई शासन गर्न, लडाइँमा अगुवाइ गर्न र हाम्रा युद्ध लड्‍नको लागि हाम्रा आफ्‍नै राजा हुनेछन्।”

21 शमूएलले तिनका सबै कुरा सुने र परमप्रभुकहाँ गएर भने।

22 परमप्रभुले उत्तर दिनुभयो, “जे तिनीहरूले माग्‍छन्, त्‍यही गरिदे र तिनलाई एउटा राजा दिइहाल्।” त्‍यसपछि शमूएलले इस्राएलका सबै मानिसहरूलाई घर फर्किन लाए।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy