१ शमूएल 5 - सरल नेपाली पवित्र बाइबलकरारको सन्दुक पलिश्तीहरूका बीचमा 1 करारको सन्दुक कब्जा गरेर पलिश्तीहरूले एबेन-एजेरबाट अश्दोद सहरमा पुर्याए 2 र तिनका देवता दागोनको मन्दिरमा लगी त्यसको मूर्तिको छेउमा राखे। 3 भोलिपल्ट बिहान अश्दोदका मानिसहरूले दागोनको मूर्ति परमप्रभुको करारको सन्दुकको अघिल्तिर जमिनमा घोप्टो परेर लडिरहेको देखे। यसकारण तिनीहरूले मूर्ति उठाएर त्यसको ठीक ठाउँमा राखे। 4 भोलिपल्ट बिहानै तिनीहरूले फेरि मूर्ति करारको सन्दुक अगाडि लडिरहेको देखे। यसपालिचाहिँ त्यसको टाउको र दुवै हात भाँचिएर ढोकामा पडिरहेको थियो र त्यसको जिउ मात्र बचेको थियो। 5 (त्यसैकारण आज पनि अश्दोदमा भएका दागोनका पूजाहारी र भक्तहरू त्यो ठाउँ नाघेर हिँड्छन् र आफ्ना पाइला त्यसमाथि राख्दैनन्।) 6 परमप्रभुले अश्दोदका मानिसहरूलाई कडा दण्ड दिनुभयो र तिनीहरू डराए। उहाँले तिनीहरूलाई र छेउ-छाउका इलाकामा भएका मानिसहरूलाई गिर्खा ल्याइदिएर दण्ड दिनुभयो। 7 आफूलाई के भइरहेको छ, त्यो देखेर तिनीहरूले भने, “इस्राएलका परमेश्वरले हामी र हाम्रा देवता दागोनलाई दण्ड दिँदै छन्। करारको सन्दुक अब धेरै बेर हामीसित यहाँ रहन दिनुहुँदैन।” 8 त्यसकारण तिनीहरूले सन्देशवाहकहरूलाई पठाएर पाँचै जना पलिश्ती राजाहरूलाई भेला गरे र तिनीहरूलाई सोधे, “इस्राएलका परमेश्वरको करारको सन्दुकलाई हामीले के गर्ने?” तिनीहरूले जवाफ दिए, “त्यसलाई गातमा पुर्याइदेओ।” गात अर्को एउटा पलिश्ती सहर थियो र तिनीहरूले सन्दुक त्यहाँ पुर्याइदिए। 9 तर सन्दुक त्यहाँ पुगेपछि परमप्रभुले त्यस सहरलाई पनि सजाय दिनुभयो र त्यहाँ ठूलो आतङ्क फैलियो। उहाँले तिनीहरूलाई गिर्खा ल्याइदिएर सजाय दिनुभयो। अनि सहरका सारा मानिस, युवा र बुढा-बूढी सबैलाई त्यो रोग लाग्यो। 10 यसकारण तिनीहरूले करारको सन्दुक अर्को पलिश्ती सहर एक्रोनमा पुर्याए। तर त्यो त्यहाँ पुग्दा त्यहाँका मानिसहरू यसरी कराए, “हामी सबैलाई मार्न भनी तिनीहरूले इस्राएलका परमेश्वरको करारको सन्दुक यहाँ ल्याएका हुन्!” 11 यसकारण तिनीहरूले फेरि सबै पलिश्ती राजाहरूलाई बोलाएर भने, “इस्राएलको करारको सन्दुक त्यसकै ठाउँमा पठाइदिनुहोस् र हामी र हाम्रा परिवारलाई मर्न नपरोस्।” परमेश्वरले तिनीहरूलाई यस्तो कठोर सजाय दिनुभएकोले सहरमा आतङ्क फैलिएको थियो। 12 जो मरेनन्, तिनीहरूलाई पनि गिर्खा आयो र मानिसहरूले आ-आफ्ना देवी-देवतालाई मद्दतको लागि पुकारे। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society