१ शमूएल 4 - सरल नेपाली पवित्र बाइबलकरारको सन्दुक कब्जामा परेको 1 त्यस बेला इस्राएलसित लडाइँ गर्न पलिश्तीहरू भेला भए र इस्राएलीहरू तिनको सामना गर्न अघि बढे। इस्राएलीहरूले एबेन-एजेरमा अनि पलिश्तीहरूले अपेकमा आफ्ना छाउनी हाले। 2 पलिश्तीहरूले हमला गरे र घनघोर लडाइँ भएपछि इस्राएलीहरूलाई हराए र लडाइँको मैदानमा प्राय: चार हजार पुरुषहरूलाई मारे। 3 तब बाँचेका जति छाउनीमा फर्किआए र इस्राएलका अगुवाहरूलाई भने, “आज किन परमप्रभुले पलिश्तीहरूलाई हामीमाथि विजय गर्न दिनुभयो? हामी गएर शीलोबाट परमप्रभुको करारको सन्दुक ल्याऔँ र उहाँ हामीसँग जानुहुनेछ र शत्रुदेखि हाम्रा रक्षा गर्नुहुनेछ।” 4 यसकारण तिनीहरूले शीलोमा खबर दिएर मानिसहरू पठाए र सर्वशक्तिमान् परमप्रभु, जो करूबहरूमाथि विराजमान हुनुहुन्छ, उहाँको करारको सन्दुक ल्याए। एलीका दुई छोरा होप्नी र पीनहास करारको सन्दुकसाथ आए। 5 करारको सन्दुक आइपुग्दा इस्राएलीहरूले आनन्दले यस्तो ठूलो स्वर मच्चाए कि जमिन हल्लियो। 6 पलिश्तीहरूले त्यो स्वर सुनेर भने, “हिब्रू छाउनीमा उठेका ती सबै स्वर सुन। त्यसको अर्थ के हो?” परमप्रभुको करारको सन्दुक हिब्रू छाउनीमा आइपुग्यो भनी थाहा पाएर 7 तिनीहरू डराए अनि भने, “तिनीहरूका छाउनीमा देवता आएका छन्! हाम्रो सर्वनाश भयो! यस्तो प्रकारको कुनै कुरा अघि कहिल्यै हामीलाई भएको थिएन! 8 त्यस्ता शक्तिशाली देवताहरूबाट कसले हामीलाई बचाउन सक्छ? तिनै देवताहरूले मिश्रीहरूलाई मरुभूमिमा नाश पारेका थिए। 9 साहसी बन, हे पलिश्तीहरू हो! मर्दजस्तो लड, नत्र जसरी हिब्रूहरू हाम्रा दास-दासी रहेका थिए, त्यसरी नै हामी हिब्रूहरूका दासदासी हुनेछौं। यसर्थ मर्दले झैँ लडाइँ गर!” 10 पलिश्तीहरूले खुबै बलसित लडाइँ गरे अनि इस्राएलीहरूलाई हराए। इस्राएलीहरू दगुर्दै घरतिर फर्के। ठूलो हत्या भयो। तीस हजार इस्राएली सैनिकहरू मारिए। 11 परमेश्वरको करारको सन्दुक कब्जामा पर्यो। एलीका छोराहरू होप्नी र पीनहास दुवै मारिए। एलीको मृत्यु 12 बेन्यामीन कुलको एक जना मानिस रणभूमिबाट शीलोसम्म दगुरेर त्यही दिन आइपुग्यो। आफ्नो शोक जनाउन त्यसले आफ्ना वस्त्र च्यातेर शिरमा माटो लाएको थियो। 13 एली करारको सन्दुकको लागि औधी चिन्तित थिए अनि बाटोको छेउमा एउटा आसनमा बसी एकोहोरो हेरिरहेका थिए। त्यस मानिसले सारा सहरमा खबर पुर्यायो अनि सबै जना डरले कराए। 14 स्वर सुनेर एलीले सोधे, “यो स्वर केको लागि हो?” खबर सुनाउन त्यो मानिस हतार-हतार एलीकहाँ गयो। 15 एली त्यस बेला अन्ठानब्बे वर्ष पुगेका थिए र प्राय: पूरै अन्धो भइसकेका थिए। 16 त्यस मानिसले भन्यो, “म लडाइँबाट भागेर निस्केको हुँ र आज यहाँसम्म दगुरेर आइपुगें।” एलीले सोधे, “मेरो छोरो के भयो त?” 17 त्यस सन्देशवाहकले उत्तर दियो, “इस्राएलीहरू पलिश्तीहरूका अघिबाट भागे। यो हाम्रो लागि एउटा डरलाग्दो हार थियो। त्यस बाहेक तपाईंका छोरा होप्नी र पीनहास मारिए अनि परमेश्वरको करारको सन्दुक कब्जामा पर्यो!” 18 त्यस मानिसले करारको सन्दुकबारे कुरा गर्दा एली आफू बसेको ढोकाको छेउमा भएको आफ्नो आसनबाट पछिल्तिर लडे। तिनी यति वृद्ध र मोटो भएका थिए कि त्यसरी लड्दा तिनको घिच्रो भाँचियो र तिनी मरे। तिनी चालीस वर्ष इस्राएलका अगुवा भइसकेका थिए। पीनहासकी पत्नीको मृत्यु 19 एलीकी बुहारी पीनहासकी स्वास्नी दुई जिउकी थिइन् र तिनको बालक जन्मने बेला भइसकेको थियो। तिनले करारको सन्दुक कब्जामा परेको अनि आफ्ना ससुरा र लोग्ने मरेका कुरा सुन्दा अचानक तिनलाई बेथा लाग्यो र बच्चा जन्म्यो। 20 तिनी मर्न लाग्दा सुँडेनीहरूले तिनलाई भने, “साहस गर! तिम्रो छोरो भएको छ!” तर तिनले त्यो कुरामा ध्यानै दिइनन् र जवाफ पनि दिइनन्। 21 बालकको नाम ईकाबोद राखेर तिनले यसो भनिन्, “इस्राएलबाट परमेश्वरको महिमा हरायो।” यसरी तिनले करारको सन्दुक कब्जामा परेको अनि आफ्ना ससुरा र लोग्ने मरेको कुरा प्रकट गरिन्। 22 तिनले भनिन्, “परमेश्वरको महिमाले इस्राएलीलाई छोड्यो किनभने परमेश्वरको करारको सन्दुक कब्जामा परेको छ।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society