१ शमूएल 2 - सरल नेपाली पवित्र बाइबलहन्नाहको प्रार्थना 1 हन्नाहले यसरी प्रार्थना गरिन्– “परमप्रभुले मेरो हृदय आनन्दले भर्नुभएको छ। उहाँले गर्नुभएको कामले गर्दा म अति खुसी छु! म मेरा शत्रुहरूमाथि हाँस्दछु; परमेश्वरले मलाई मद्दत गर्नुभएको कारणले म हर्षित छु! 2 “परमप्रभुजस्तो पवित्र कोही पनि छैनन्; उहाँजस्तो कोही पनि छैनन्, हाम्रा परमेश्वरजस्तो रक्षा गर्नुहुने कोही पनि छैनन्। 3 तिम्रा ठूल्ठूला घमण्डका स्वर बन्द गर; तिम्रा अहङ्कारका शब्दहरू ननिकाल किनभने परमप्रभु सर्वज्ञानी परमेश्वर हुनुहुन्छ र उहाँले मानिसहरूका सबै काममाथि न्याय गर्नुहुन्छ। 4 बलिया सिपाहीहरूका धनुहरू भाँचिएका छन्, तर दुर्बलहरू बलिया हुन्छन्। 5 एक समय मीठा-मीठा खाना खाने मानिसहरू अहिले खाना खानलाई ज्यालामा काम गर्छन्, तर जो भोका थिए ती अब भोका छैनन्। नि:सन्तान स्वास्नीले सात वटा छोरा-छोरी पाइन्, तर धेरै जनाकी आमासित एउटै पनि बालक छैन। 6 परमप्रभुले मार्नुहुन्छ र फेरि जीवन दिनुहुन्छ; उहाँले नै मानिसहरूलाई मृत्यु-लोकमा पठाउनुहुन्छ, अनि तिनीहरूलाई फेरि जीवित पार्नुहुन्छ। 7 उहाँले नै कसैलाई गरीब र अरू कसैलाई धनी बनाउनुहुन्छ; उहाँले कसैलाई नम्र बनाउनुहुन्छ र अरू कसैलाई महान् बनाउनुहुन्छ। 8 उहाँले गरीबलाई धूलोबाट उठाउनुहुन्छ, अभावमा परेकाहरूलाई तिनका कष्टदेखि उचाल्नुहुन्छ। उहाँले तिनीहरूलाई राजकुमारहरूका साथी बनाउनुहुन्छ, र आदरका स्थानहरूमा राख्नुहुन्छ। पृथ्वीका जगहरू परमप्रभुकै हुन्; तीमाथि उहाँले संसार बसाल्नुभएको छ। 9 “उहाँले आफ्ना विश्वासयोग्य जनहरूको जीवन रक्षा गर्नुहुन्छ, तर दुष्टहरू अन्धकारमा हराएर जानेछन्; कुनै मानिसले आफ्नो शक्तिले जित्न सक्दैन। 10 परमप्रभुका शत्रुहरू नाश भएर जानेछन्; उहाँ तिनीहरूका विरुद्धमा स्वर्गबाट गर्जनुहुन्छ। परमप्रभुले सारा संसारको न्याय गर्नुहुन्छ, उहाँले आफ्नो राजालाई शक्ति दिनुहुनेछ, उहाँले आफूले चुनेका राजालाई विजयी बनाउनुहुन्छ।” 11 त्यसपछि एल्काना आफ्नो घर रामामा गए; तर बालक शमूएल शीलोमा बसे र पूजाहारी एलीको अधीनमा परमप्रभुको सेवा गर्न लागे। एलीका छोराहरू 12 एलीका छोराहरू बदमाश थिए। तिनीहरू परमप्रभुबारे 13 अथवा पूजाहारीहरूले मानिसहरूबाट के कुरा लिन सक्थे, त्यसका नियमहरूबारे केही ध्यान दिंदैनथे। त्यसका सट्टामा कुनै मानिसले बलि चढाउँदा पूजाहारीको चाकर एउटा काँटा लिएर आउँथ्यो र मासु 14 पाक्दै गरेको भाँडोमा काँटाले रोप्थ्यो र काँटामा जति मासु आउँथ्यो, त्यो पूजाहारीको हुन्थ्यो। शीलोमा बलि चढाउन आउने सबै इस्राएलीहरूसित त्यस्तै व्यवहार गरिन्थ्यो। 15 त्यसमाथि बोसो उठाएर जलाउनुभन्दा अघि नै पूजाहारीको चाकर आएर बलि चढाउने मानिसलाई यसो भन्थ्यो, “पूजाहारीको निम्ति पकाउन मलाई केही मासु देऊ। तिमीबाट उनले उमालिसकेको मासु लिँदैनन्, खालि काँचो मासु मात्र लिन्छन्।” 16 त्यस मानिसले “हामी जे कुरा ठीक छ, त्यो गरौं पहिले बोसो जलाऔं र त्यसपछि तिमी जे चाहन्छौ, त्यो लिन सक्छौ,” भन्यो भने पूजाहारीका चाकरले यसो भन्थ्यो, “होइन! मलाई मासु अहिले नै देऊ, होइन भने मैले जबरजस्ती गरेर लैजानुपर्नेछ।” 17 एलीका छोराहरूको पाप परमप्रभुको दृष्टिमा अत्यन्त डरलाग्दो थियो किनभने परमप्रभुलाई चढाएका बलिहरूलाई तिनीहरूले यस्तो अनादर गर्थे। शीलोमा शमूएल 18 त्यस बेला बालक शमूएलचाहिँ परमप्रभुको सेवामा लागिरहे। तिनले आफ्नो अघिल्तिर ढाकेर एउटा सुतीको लुगा लगाउँथे। 19 हरेक वर्ष तिनकी आमाले एउटा सानो वस्त्र बनाउँथिन् र आफ्ना लोग्नेसित वार्षिक बलि चढाउन जाँदा वस्त्र तिनलाई पुर्याउँथिन्। 20 त्यति बेला एलीले एल्काना र तिनकी स्वास्नीलाई आशीर्वाद दिन्थे र एल्कानालाई यसो भन्थे, “तिमीहरूले परमप्रभुलाई अर्पण गरेका बालकको सट्टामा उहाँले तिमीलाई यस स्त्रीद्वारा अरू बालकहरू देऊन्।” त्यसपछि तिनीहरू घर फर्कन्थे। 21 परमप्रभुले हन्नाहलाई आशिष् दिनुभयो र तिनले अरू तीन छोराहरू र दुई छोरीहरू जन्माइन्। बालक शमूएल परमेश्वरको सेवामा बढ्दै गए। एली र तिनका छोराहरू 22 एली अब धेरै बुढो भएका थिए। आफ्ना छोराहरूले इस्राएलीहरूसित गरेका हरेक काम अनि परमप्रभुको पवित्र पालको ढोकामा काम गर्ने आइमाईहरूसित तिनीहरू सुतेका कुरासमेत एलीले सुनिबस्थे। 23 उनले छोराहरूलाई भने, “किन यी सबै काम तिमीहरू गर्दछौ? तिमीहरूले गरेका दुष्ट कामबारे सबैले मलाई भन्दछन्। 24 छोराहरू हो, ती बन्द गर! परमप्रभुका जनहरूले तिमीहरूका बारेमा गरेका यी कुरा अत्यन्त नराम्रा छन्। 25 यदि एक जना मानिसले अर्को मानिसको विरुद्धमा पाप गर्यो भने परमेश्वरले त्यसको रक्षा गर्न सक्नुहुन्छ; तर परमप्रभुको विरुद्धमा नै पाप गर्ने मानिसलाई कसले रक्षा गर्न सक्छ?” तर तिनीहरूले आफ्ना बुबाका कुरा सुनेनन् किनभने परमप्रभुले तिनीहरूलाई मार्ने निर्णय गरिसक्नुभएको थियो। 26 बालक शमूएल बढिरहे अनि परमप्रभु र मानिस दुवैका कृपा पाउँदै गए। एलीका परिवारको विरुद्धमा अगमवाणी 27 एक जना अगमवक्ता परमप्रभुको यो खबर लिएर एलीकहाँ आए, “जब तेरा पुर्खा हारून र त्यसको घराना मिश्रको राजाका कमाराहरू भएका थिए, मैले हारूनलाई दर्शन दिएँ। 28 इस्राएलका सारा कुलहरूबाट मैले त्यसका घरानालाई मेरा पूजाहारी बन्न र वेदीमा सेवा गर्न चुनें। अनि वेदीमा जलाइने बलिको एक हिस्सा आफूसित लिने अधिकार तिनीहरूलाई दिएँ। 29 त अब किन तैँले मेरा मानिसहरूबाट मैले चाहेका बलि र भेटीहरूलाई लोभले हेर्छस्? एली, किन तेरा छोराहरूलाई मैले आफ्ना मानिसहरूबाट चाहेका बलिका सबैभन्दा असल हिस्सा खाएर मोटाउन दिएर तैँले मलाई भन्दा तिनीहरूलाई बढ्ता आदर दिन्छस्? 30 म इस्राएलका परमप्रभु परमेश्वरले बितेका दिनमा यस्तो प्रतिज्ञा गरेको थिएँ कि तेरा परिवार र वंशले मेरा पूजाहारी भई सदाकाल मेरो सेवा गर्नेछन्। तर अब म भन्छु कि म यसो हुन दिनेछैनँ। त्यसको सट्टामा मलाई आदर गर्नेहरूलाई म आदर गर्नेछु र मलाई तुच्छ ठान्नेहरूसित म घृणाको व्यवहार गर्नेछु। 31 सुन्, समय आउँदै छ, म तेरा परिवार र वंशका सबै पुरुषहरूलाई मार्नेछु र तेरा घरानाको कोही पनि बुढो हुन्जेल बाँच्नेछैन। 32 मैले इस्राएलका अरू मानिसहरूलाई दिएका आशिष्हरूलाई तैँले ईर्ष्याले हेर्दै छस् र दु:खी हुनेछस्; तर अब तेरो घरानाका एक जना पनि बुढो हुन्जेल बाँच्नेछैन। 33 तापनि तेरा सन्तानबाट म एक जनालाई जीवित राख्नेछु र त्यसले पूजाहारी भई मेरो सेवा गर्नेछ। तर त्यो अन्धो हुनेछ र निराश हुनेछ अनि तेरा अरू सबै सन्तानहरू पशुझैँ मर्नेछन्। 34 जब तेरा दुई छोरा होप्नी र पीनहास एकै दिनमा मर्नेछन्, तब मैले भनेका सबै कुरा पूरा हुनेछन् भनी देख्नेछस्। 35 मैले एक जना पूजाहारी छान्नेछु, जो मप्रति विश्वासयोग्य रहनेछ र मैले चाहेको हरेक काम गर्नेछ। म त्यसलाई सन्तान दिनेछु, जसले मैले छानेको राजाअघि सेवाको काम गर्नेछन्। 36 तेरा बाँकी रहेका कुनै सन्तानले त्यस पूजाहारीकहाँ गई पैसा र खाना माग्नुपर्नेछ अनि केही खाना जुटाउन पूजाहारीहरूको सहायता पाऊँ भनी बिन्ती गर्नुपर्नेछ।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society