Online Bible

- Reklamy -

१ कोरिन्थी 9 - सरल नेपाली पवित्र बाइबल


प्रेरितको अधिकार

1 के म स्‍वतन्‍त्र छैनँ? के म प्रेरित होइनँ? के मैले हाम्रा प्रभु येशू ख्रीष्‍टलाई देखेको छैनँ? के तिमीहरू नै प्रभुका लागि मैले गरेका कामका फलहरू होइनौ र?

2 कति जनाले मलाई प्रेरित नमाने पनि तिमीहरूले त मान्‍छौ। तिमीहरू ख्रीष्‍टमा भएको कुराले नै म प्रेरित हुँ भन्‍ने सबुत दिन्‍छ।

3 मलाई दोष लाउनेहरूलाई यही नै मेरो जवाफ हो।

4 मेरो कामको लागि खाने-पिउने खर्च मैले पाउनैपर्ने होइन र?

5 पत्रुस, प्रभुकै भाइहरू र अरू प्रेरितहरूले जस्‍तै मैले ख्रीष्‍टिय स्‍वास्‍नी लिएर यात्रा गर्न पाउँदिनँ र?

6 के बारनाबास र मैले मात्रै आफैं काम गरेर पेट पाल्‍नुपर्छ?

7 के सेनामा हुँदा सिपाहीले आफ्‍नो खर्च आफैं ब्‍यहोर्छ? के अङ्‌गुरको खेती गर्नेले अङ्‌गुर खान पाउँदैन? के गोठालाले आफ्‍नो वस्‍तुको दूध खान पाउँदैन?

8 यो मैले मान्‍छेको विचार लिएर मात्र भनेको होइनँ, व्यवस्थाले पनि यसै भन्‍छ।

9 मोशाले दिएको व्यवस्थामा लेखिएको छ, “दाइँ गर्ने गोरुलाई मोहला नलगाऊ।” के परमेश्‍वरले यो गोरुकै लागि भन्‍नुभएको हो?

10 के उहाँले हाम्रो लागि भन्‍नुभएको होइन? हो, यो हाम्रो लागि भनिएको हो किनभने खेत जोत्‍नेले आशामै जोत्‍छ अनि दाइँ गर्नेले केही पाउँला भन्‍ने आशाले नै दाइँ गर्छ।

11 हामीले त तिमीहरूका माझमा आत्‍माको अन्‍न छरेका छौं। हामीले तिमीहरूबाट केही चीज पाउनु कुनै उदेकको कुरो हो र?

12 यदि अरूले तिमीहरूबाट केही पाउँदा हुन्‍छ भने हामीले झन् पाउनुपर्ने हो। तर हामीले यो हक चलाएनौं। ख्रीष्‍टको सुसमाचार सुनाउन कुनै बाधा नपरोस् भनेर नै हामीले सबै कुरा सहेर बस्‍यौं।

13 के तिमीहरूलाई थाहा छैन, कि मन्‍दिरमा काम गर्नेले मन्‍दिरमै खान पाउँछ। बलि-वेदीमा काम गर्नेले बलि-वेदीबाटै आफ्‍नो भाग पाउँछ।

14 यसरी नै सुसमाचार प्रचार गर्नेले सुसमाचारबाटै खान-लाउन पाओस् भन्‍ने प्रभुको आज्ञा छ।

15 तर मैले कुनै हक लिएको छैनँ। अहिले यो पत्र लेखेर पनि हक पाउन चाहेको होइनँ। यसो गर्नुभन्दा ता बरु म मर्नु निको मान्‍छु। कसैले मेरो यस घमण्‍डलाई खोक्रो भन्‍नै सक्‍दैन।

16 मैले सुसमाचार सुनाउँदा मलाई घमण्‍ड गर्ने हक छैनँ किनभने यो मैले सुनाउनैपर्छ। मैले सुसमाचार सुनाइनँ भने मलाई धिक्‍कार होस्।

17 मैले यो काम आफैंले रोजेको भए यसबाट म केही पाउने आशा राख्‍थें। तर म यो कामलाई मेरो कर्तव्‍य सम्‍झेर गर्दै छु। परमेश्‍वरले नै यो कामको जिम्‍मा दिनुभएकोले मैले गरें।

18 त्‍यसो भए मेरो तलबचाहिँ के हो त? हकअनुसार पाइने कुनै पैसा नलिई सित्तैंमा सुसमाचार प्रचार गर्न पाउनु नै मेरो तलब हो।

19 म कसैको कमारो होइनँ, तैपनि धेरैलाई ख्रीष्‍टमा विश्‍वास गराउन म सबैको कमारोझैँ भएको छु।

20 यहूदीहरूका माझमा काम गर्दा उनीहरूले ख्रीष्‍टमा विश्‍वास गरून् भनेर म यहूदीजस्तै भएँ। मोशाले दिएका व्यवस्था मान्‍नेहरूका माझमा उनीहरूले ख्रीष्‍टमा विश्‍वास गरून् भनेर मैले पनि त्‍यही व्यवस्था मानें।

21 व्यवस्था नहुने अरू जातिका मानिसका माझमा काम गर्दा उनीहरूले ख्रीष्‍टमा विश्‍वास गरून् भनेर व्यवस्था नहुनेजस्‍तो भएँ। यसको मतलब परमेश्‍वरको व्यवस्था म मान्‍दिनँ भनेको होइनँ, तर म त ख्रीष्‍टको व्यवस्था मान्‍दछु।

22 कमजोरहरूका माझमा काम गर्दा उनीहरूले ख्रीष्‍टमा विश्‍वास गरून् भनेर म कमजोर भएँ। यसरी म सबै मानिसको माझमा हरतरहले सबैले ख्रीष्‍टमा जीवन पाऊन् भनेर सबै थोक भएँ।

23 सुसमाचारको खातिर नै म यी सब गर्दै छु र यसबाट पाउने आशीर्वाद पनि म पाउँछु भनी आशा राख्‍छु।

24 साँच्‍चै तिमीहरूलाई थाहा छ। दौडमा सबै दौडन्‍छन्, तर पहिलो पुरस्‍कार पाउने एउटै हुन्‍छ। त्‍यसै गरी तिमीहरू पनि पुरस्‍कार पाइछाड्छु भनी दौड।

25 दौडमा भाग लिनेहरू जिउ सधाउन सबै किसिमले अभ्‍यास गर्छन्। तिनीहरूले त ओइलाएर जाने माला पाउन त्‍यसो गर्छन्, तर हामीचाहिँ सधैँभरि रहने मुकुटको लागि गर्छौं।

26 त्‍यसैले त म निशाना ताकेर दगुर्छु। म हावामा मुक्‍का हान्‍दिनँ।

27 तर म मेरो शरीरलाई क्रूसमा राखेर तह लगाउँछु, नत्रता अरूलाई प्रचार गर्दा आफैंचाहिँ अयोग्‍य ठहरिन्‍छु।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy