Online Bible

- Reklamy -

१ कोरिन्थी 2 - सरल नेपाली पवित्र बाइबल


क्रूसमा बलिदान हुनुभएका ख्रीष्‍ट

1 भाइहरू, तिमीहरूकहाँ परमेश्‍वरको रहस्‍य बताउन आउँदा बोलीको बठ्याइँ र ज्ञानको धाक मैले देखाइनँ।

2 तिमीहरूकहाँ हुँदा मैले येशू ख्रीष्‍ट र क्रूसमा भएको उहाँको बलिदानबाहेक सबै थोकलाई बिर्सिदिने अठोट गरें।

3 म तिमीहरूकहाँ आउँदा कमजोर थिएँ र डरले काम्‍दै बसें।

4 मैले बोल्‍दा र प्रचार गर्दा बोलीको बठ्याइँ र बुद्धिका ठूला-ठूला शब्‍दहरू चलाइनँ; तर परमेश्‍वरका आत्‍मा र शक्तिको पक्‍का सबुत दिएर मैले प्रचार गरें।

5 यसैले तिमीहरूको विश्‍वास मानिसको ज्ञान-बुद्धिमा होइन तर परमेश्‍वरको शक्तिमा अडिएको छ।

6 तैपनि हामी पाकाहरूसँग ज्ञानको कुरा गर्छौं; तर त्‍यो ज्ञान यस युगको ज्ञान होइन। यो युगमा राज गर्नेहरूको ज्ञान पनि होइन। राज गर्नेहरू त बितिरहन्छन्

7 तर हामी परमेश्‍वरकै अथाह ज्ञानका कुरा गर्छौं। यो मानिसबाट लुकेको रहस्‍य थियो। परमेश्‍वरले हाम्रै सम्‍मान्‌का लागि सृष्‍टिभन्दा पहिले यो ज्ञान ठहराउनुभएको थियो।

8 यस युगमा राज गर्नेहरू कसैले पनि यस कुरालाई बुझेनन्। बुझेका भए सम्‍मान् पाउनुपर्ने प्रभुलाई क्रूसमा झुन्‍ड्याउने थिएनन्।

9 तर धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ, “मानिसले कहिले नदेखेको, नसुनेको, कहिले नचिताएको कुरा नै परमेश्‍वरले आफूलाई प्रेम गर्नेहरूका लागि तयार पार्नुभएको छ।”

10 परमेश्‍वरले आफ्‍नै आत्‍माद्वारा हामीलाई आफ्‍ना कुरा बुझाउनुभएको छ। पवित्र आत्‍माले सबै कुरा खोज्‍नुहुन्‍छ, परमेश्‍वरका गहिराभन्दा पनि गहिरा कुराहरूसमेत खोज्‍नुहुन्‍छ।

11 मानिसको बारेमा सबै थोक जान्‍ने उसैको भित्र रहेको आत्‍मा हो। अरू कसले जान्‍न सक्‍छ र? त्‍यसै गरी परमेश्‍वरको आत्‍माले मात्र परमेश्‍वरका सबै कुरा जान्‍नुहुन्‍छ।

12 हामीले संसारको आत्‍मा पाएनौं, तर परमेश्‍वरको आत्‍मा पाएका छौं। परमेश्‍वरले हामीलाई दिनुभएका सबै कुरा जान्‍न सकौं भनेर नै हामीले यो पायौं।

13 यसैले हामी मानिसको ज्ञानले सिकाएको कुरा बोल्‍दैनौं, तर आत्‍माले सिकाउनुभएका कुराहरू बोल्‍छौं अनि आत्‍मा हुनेहरूलाई नै हामी आत्‍माका सत्‍य कुराहरू बुझाउँछौं।

14 परमेश्‍वरको आत्‍मा नहुने मानिसले आत्‍माका दानहरू लिंदैन किनभने यो उसको लागि मूर्ख कुरो हो। यो आत्‍माबाट नै बुझिने भएकोले उसले यो बुझ्‍नै सक्‍दैन।

15 परमेश्‍वरको आत्‍मा हुने मानिसले चाहिँ सबै कुराको जाँच-बुझ गर्न सक्‍तछ, तर उसलाई भने कसैले जाँच्‍न सक्‍दैन।

16 धर्मशास्‍त्र भन्‍छ, “प्रभुको मन कसले जान्‍दछ र कसले उहाँलाई सिकाउने?” तर हामीले चाहिँ ख्रीष्‍टको मन पाएका छौं।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy