१ इतिहास 9 - सरल नेपाली पवित्र बाइबलकैदबाट फर्केका मानिसहरू 1 इस्राएलका सबै मानिसहरूका नाम उनीहरूका वंशअनुसार लेखिएका थिए। यी कुरा इस्राएलका राजाको इतिहासमा लेखिएको छ। यहूदाका मानिसहरू आफ्ना पापका दण्ड पाएर बेबिलोनमा देशनिकाला भई लगिएका थिए। 2 आफ्ना सर-सम्पत्ति भएका ठाउँमा पहिले फर्किआउनेहरूमध्ये इस्राएली जनसाधारण, पूजाहारी, लेवी र मन्दिरका सेवकहरू थिए। 3 यहूदा, बेन्यामीन, एफ्राइम र मनश्शे कुलका मानिसहरू यरूशलेममा बस्न गए। 4-6 यहूदाका कुलबाट ६९० परिवारहरू यरूशलेममा बस्थे। यहूदाको छोरो फारेसको सन्तानका अगुवा उत्तै थिए, उत्तैचाहिँ अम्मीहूदको छोरा तथा ओम्रीका नाति थिए। तिनका अरू पुर्खाहरूमध्ये इम्री र बानी पनि थिए। यहूदाका छोरा शीलोनीका सन्तानका अगुवा असायाह थिए। तिनी आफ्नो परिवारका प्रधान थिए। यहूदाको छोरो जेरहका सन्तानका अगुवा यीएल थिए। 7-8 बेन्यामीनका कुलका यी मानिसहरू यरूशलेममा बास गर्थे— सल्लू, जो मशुल्लामका छोरा थिए। मशुल्लाम होदबियाको छोरा र होदबिया हस्सेनूअका छोरा थिए। यरोहामको छोरो यिब्नियाह एलाह, जो उज्जीका छोरा र मिक्रीका नाति थिए मशुल्लाम, जो रूएलको नाति र शपत्याहको छोरा थिए। रूएल यिब्नियाको छोरा थिए। 9 यस कुलका ९५६ परिवारहरू त्यहाँ बस्थे। माथि नाम लेखिएका सबै मानिसहरू परिवार-परिवारका प्रधानहरू थिए। यरूशलेममा बस्ने पूजाहारीहरू 10-12 यी पूजाहारीहरू यरूशलेममा बस्थे— यदायाह, यहोयारीब र याकीन हिल्कियाहको छोरो अजर्याह (मन्दिरको मुख्य अधिकारी), जसका पुर्खाहरूमध्ये मशुल्लाम, सादोक, मरायोत र अहीतूब थिए। यरोहामको छोरो अदायाह, जसका पुर्खाहरूमा पशहूर र मल्कियाह थिए। अदीएलको छोरो मासै, जसका पुर्खाहरू यहजेरा, मशुल्लाम, मशिल्लेमीत र इम्मेर थिए। 13 पूजाहारीहरूको सङ्ख्या १,७६० थियो र तिनीहरू परिवार-परिवारका प्रधान पनि थिए। मन्दिरमा गरिने कार्यमा तिनीहरू खुबै सिपालु थिए। यरूशलेममा बास गर्ने लेवीहरू 14-16 यी तलका लेवीहरू यरूशलेममा बस्थे— हश्शूबका छोरा शमायाह, जसका पुर्खा अज्रीकाम र हशब्याह थिए, जो मरारी कुलका थिए। बक्बक्कर हारेश र गालाल मीकाका छोरा मत्तन्याह, जसका पुर्खा जिक्री र आसाप थिए। शमायाहका छोरा ओबदिया, जसका पुर्खा गालाल र यदूतून थिए। आसाका छोरा एल्कानाको नाति बेरेक्याह, एल्काना नतोपाती सहरको इलाकामा बस्थे। यरूशलेममा बस्ने मन्दिरका पहरेदारहरू 17 यरूशलेमका मन्दिरमा यी पहरेदारहरू बास्ते शल्लूम, अक्कूब, तल्मोन र अहीमन र तिनीहरूका भाइहरू। शल्लूम उनका अगुवा थिए। 18 त्यस बेलासम्म उनका गोत्रमा मानिसहरू राजाको मूल-ढोकाको पूर्वपट्टिको ढोकामा पाले थिए। अगाडि उनीहरू लेवीहरूका डेराको ढोकामा पहरेदार थिए। 19 कोरेको छोरो एब्यासापको नाति शल्लूम अरू आफ्ना कोरह गोत्रका बन्धुहरूसँग परमप्रभु बास गर्ने पवित्र पालको ढोकामा पहरा दिन खटाइएका थिए। ठीक त्यसरी नै तिनीहरूका पुर्खाले पनि परमप्रभु बास गर्ने पवित्र पालमा पहरा दिन्थे। 20 अघि कुनै समय एलाजारको छोरो पीनहास, परमप्रभु तिनका साथमा रहनुहुन्थ्यो! तिनीहरूका काम हेर्ने अधिकारी थिए। 21 मेशेलेम्याहको छोरो जकरियाले पनि परमप्रभु बास गर्ने पवित्र पालको ढोकामा पहरा दिने काम गर्थे। 22 पहरा दिने काम गर्ने जम्मा २१२ जना पुरुषहरू छानिएका थिए। तिनीहरू बसेको गाउँअनुसार तिनीहरूका नाम सूचीमा लेखिएका थिए। तिनीहरूका पुर्खालाई त्यस्ता जिम्मेवारीका काममा खटाउने दाऊद राजा र शमूएल अगमवक्ता थिए। 23 तिनीहरू र तिनका सन्तानहरूले मन्दिरका ढोकाहरूमा पहरा दिने काम गरिरहे। 24 उत्तर, दक्षिण, पूर्व, पश्चिम चारै दिशामा एकएक वटा ढोका थियो र प्रत्येक ढोकामा एक-एक जना मुख्य पहरेदार हुन्थे। 25 यी पहरेदारहरूलाई उनका कुटुम्बहरूले मद्दत दिन्थे। ती कुटुम्बहरू गाउँमा बस्थे र एकपल्टमा सात-सात दिन पालैपालो पहरा दिन आउँथे। 26 चार जना मुख्य पहरा दिने लेवीहरू हुन्थे र मुख्य जिम्मेवारी तिनीहरूकै हुन्थ्यो। मन्दिरका कोठाहरू र त्यहाँ राखेका सर-सम्पत्ति पनि तिनीहरूकै जिम्मामा थियो। 27 उनीहरू मन्दिरको छेउमा नै बस्थे किनभने त्यसको पहरा गर्ने र हरेक बिहान ढोकाहरू खोल्ने काम उनीहरूको थियो। अरू लेवीहरू 28 अरू लेवीहरू पूजामा चलाइने भाँडा-कुँडाहरूको लागि जिम्मेवार थिए। जति फेरा ती भाँडाहरू चलाइन्थे, त्यति फेरा तिनीहरूले ती गन्ती गरेर दिन्थे र गन्ती गरेर फिर्ता लिन्थे। 29 अरू लेवीहरू अन्य पवित्र सरसामान, पिठो, दाखमद्य, जैतुनको तेल, धूप र मसलाहरूको जिम्मेवार थिए। 30 मसलाहरू मिसाउने कामका लागि पूजाहारीहरू जिम्मेवार रहन्थे। 31 कोरह गोत्र शल्लूमका जेठा छोरा मत्तित्याह नाम भएका एउटा लेवीले मन्दिरमा चढाउने रोटी तयार गर्नुपर्थ्यो। 32 कहात गोत्रका मानिसहरूले हरेक विश्राम दिन मन्दिरको निम्ति पवित्र रोटी तयार पार्नुपर्थ्यो। 33 कुनै-कुनै लेवी परिवारहरू मन्दिरका गान-बजान जिम्मेवार थिए। ती परिवारका प्रधानहरू मन्दिरका भवनका केही कोठाहरूमा बास गर्थे र तिनीहरूले अरू कुनै काम गर्नुपर्दैनथ्यो किनभने रात-दिन तिनीहरूलाई आफ्नो काम गर्नुपर्थ्यो। 34 माथि नाम लेखिएका मानिसहरू तिनका पुर्ख्यौलीअनुसार लेवी परिवारका प्रधानहरू थिए। यरूशलेममा बास गर्ने अगुवाहरू तिनीहरू नै थिए। शाऊल राजाको वंशावली ( १ इतिहास ८:२९-३८ ) 35 यीएलले गिबोन सहर बसाले र त्यहाँ बास गर्न थाले। तिनकी स्वास्नीको नाम माका थियो। 36 तिनका जेठा छोरा अब्दोन र अरू छोराहरू सूर, कीश, बाल, नेर, नादाब, 37 गदोर, अहियो, जकरिया र मिक्लोत थिए। 38 मिक्लोत शिमामका बुबा थिए। तिनीहरूका सन्तान आफ्ना गोत्रका अरू परिवारहरूछेउ यरूशलेममा बास गर्थे। 39 नेर कीशका बुबा र कीश शाऊलका बुबा थिए। शाऊलका चार छोराहरू थिए— जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका 40 जोनाथन मरीब्बालका बुबा र मरीब्बाल मीकाका बुबा थिए। 41 मीकाका चार छोरा थिए– पीतोन, मेलेक, तहरै र आहाज। 42 आहाज यादाहका बुबा थिए र यादाहका तीन छोराहरू थिए। आलेमेत, अज्मावेत र जिम्री। जिम्री मोसका बुबा थिए। 43 मोस बेनेका बुबा, बेनेका रपायाहका बुबा, रपायाह एलासाका बुबा र एलासा आसेलका बुबा थिए। 44 आसेलका छ छोराहरू थिए— अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society