१ इतिहास 22 - सरल नेपाली पवित्र बाइबल1 यसकारण दाऊदले भने, “यस ठाउँमा परमप्रभु परमेश्वरको मन्दिर हुनुपर्नेछ, यहाँ वेदी पनि रहनेछ, त्यहाँ इस्राएलका मानिसहरूले होमबलि चढाउनेछन्।” मन्दिर बनाउने तयारी 2 दाऊद राजाले इस्राएल देशमा रहेका सबै विदेशीहरूलाई एकसाथ भेला हुने आज्ञा गरे र तिनीहरूलाई काम गर्न लाए। तिनीहरूमध्ये कतिले मन्दिर बनाउन ढुङ्गाका टुक्राहरू तयार पारे। 3 उनले काठका ढोकाहरूको निम्ति किला र चेपुवाहरू बनाउन धेरै फलाम दिए। कसैले जोख्न नसक्ने गरी उनले काँसा दिए। 4 उनले टुरोस र सीदोनका मानिसहरूबाट प्रशस्त मात्रामा देवदारुका मूढाहरू ल्याउने प्रबन्ध गरे। 5 दाऊदले मनमा सोचे, “मेरो छोरो सोलोमनले बनाउने मन्दिर गौरवशाली र सारा जगत्मा प्रसिद्ध हुनुपर्छ। तर त्यो कलिलै र अन्जान छ र मैले नै त्यसको लागि तयार गर्नुपर्छ।” त्यसो भनेर आफू मर्नुअघि दाऊदले प्रशस्त सामान जगेडा गरिदिए। 6 उनले आफ्नो छोरो सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्वरको निम्ति एउटा मन्दिर बनाउने आज्ञा दिए। 7 दाऊदले आफ्नो छोरोलाई भने, “छोरो, परमप्रभु मेरा परमेश्वरको आदरमा म एउटा मन्दिर बनाउन चाहन्थें। 8 तर परमप्रभुले मलाई भन्नुभयो, ‘तैँले धेरै युद्ध गरिस् र मानिसहरूलाई मारिस्।’ यसरी मैले धेरै रगत बगाउने काम गरेको हुनाले उहाँले आफ्नो लागि मेरो हातले मन्दिर बनाउन दिनुभएन। 9 तर उहाँले मसित एउटा प्रतिज्ञा गर्नुभयो। उहाँले भन्नुभयो, ‘तेरो एउटा छोरो हुनेछ। त्यसले शान्तिमा राज्य गर्नेछ किनभने म त्यसलाई त्यसका सबै शत्रुहरूबाट शान्ति दिनेछु। त्यसको नाम सोलोमन हुनेछ किनभने त्यसका राज्यकालमा म इस्राएललाई शान्ति-सुरक्षामा राख्नेछु। 10 त्यसले मेरो निम्ति एउटा मन्दिर बनाउनेछ, त्यो मेरो छोरो हुनेछ र म त्यसको बुबा हुनेछु। त्यसको वंशले सदाकाल इस्राएलमा राज्य गर्नेछ’।” 11 दाऊदले अरू भने, “मेरो छोरो, अब परमप्रभु तिम्राहरूका परमेश्वर तिमीसित होऊन् र उहाँको निम्ति एउटा मन्दिर बनाउन तिमीलाई सफल तुल्याउने उहाँको प्रतिज्ञा पूरा गरून्। 12 अनि परमप्रभु तिम्रा परमेश्वरले उहाँका नियमअनुसार इस्राएलमाथि राज्य गर्ने बुद्धि र अन्तर्दृष्टि तिमीलाई देऊन्। 13 परमप्रभुले इस्राएलका निम्ति मोशाद्वारा दिनुभएका सबै नियमहरू तिमीले पालन गर्यौ भने तिमी सफल हुनेछौ। सङ्कल्प गर र भरोसा राख र केही कुराको डर नमान। 14 मन्दिरको कुराचाहिँ मैले आफ्नो मेहनतले मन्दिर बनाउनलाई ३,४०० टन सुन र ३४,००० टन चाँदी बटुलेको छु। त्यसबाहेक प्रशस्त काँसा र फलाम बटुलेको छु। मैले काठ र ढुङ्गा पनि तयार गरेको छु तर तिमीले अझै जोहो गर्नुपर्नेछ। 15 तिमीसित काम गर्ने मानिसहरू धेरै छन्। ढुङ्गाको खानिमा काम गर्नेहरू, सिकर्मी, डकर्मीहरू र हरेक प्रकारका कारिगरहरू धेरै सङ्ख्यामा छन्। 16 सुन र चाँदी, काँसा र फलामका काम गर्ने कारिगरहरू धेरै छन्। अब काम सुरु गर र परमप्रभु तिमीसित रहून्।” 17 दाऊदले सोलोमनलाई सघाउने आज्ञा इस्राएलका सबै अगुवाहरूलाई दिए। 18 उनले भने, “परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित रहनुभएको छ र सबैतिर तिमीहरूलाई शान्ति दिनुभएको छ। यस देशमा बास गर्ने सबै मानिसहरूमाथि उहाँले मलाई विजय दिनुभयो र अब तिनीहरू तिमीहरू र परमप्रभुको अधीनमा भएका छन्। 19 अब आफ्ना सारा मन र प्राणले परमप्रभु आफ्ना परमेश्वरको सेवा गर। मन्दिर बनाउन सुरु गर र त्यसमा परमप्रभुको करारको सन्दुक र उहाँलाई पुज्दा प्रयोग गरिने सबै पवित्र थोकहरू राख।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society