जकरिया 9 - नेपाली नयाँ संशोधित संस्करणइस्राएलका शत्रुहरूको न्याय 1 परमप्रभुको वचन हद्राक देशको विरुद्धमा छ, र दमस्कसमा पनि पर्नेछ, किनभने मानिसहरू र इस्राएलका सारा कुलहरूका आँखा परमप्रभुमाथि छन्। 2 सिमानामा भएको हमातमाथि पनि, र टुरोस र सीदोनमाथि पनि, यद्यपि तिनीहरू साह्रै निपुण छन्। 3 टुरोसले आफ्नो निम्ति एउटा गढ़ी बनाएको छ, त्यसले चाँदी धूलोसरह र सुन गल्लीहरूको हिलोझैँ थुपारेको छ। 4 तर परमप्रभुले त्यसको धन-सम्पत्ति खोस्नुहुनेछ, र त्यसको शक्ति समुद्रमा सर्वनाश गरिदिनुहुनेछ, अनि आगोले त्यो भस्म हुनेछ। 5 अश्कलोनले त्यो देख्नेछ र डराउनेछ। गाजा पीडाले छटपटाउनेछ। एक्रोन पनि पीडामा पर्नेछ, किनकि त्यसको आशा सेलाएर जानेछ। गाजाबाट राजा नष्ट हुनेछ, र अश्कलोनमा फेरि कोही वास गर्नेछैन। 6 अश्दोदलाई विदेशीहरूले अधिकार गर्नेछन्, र पलिश्तीहरूको अहङ्कार म नष्ट गरिदिनेछु। 7 म तिनीहरूका मुखबाट रगत र तिनीहरूका दाँतबाट घिनलाग्दो कुरा निकालिदिनेछु। बाँकी रहेकाहरू परमेश्वरका हुनेछन् र यहूदामा ती कुलपतिजस्तै हुनेछन्, अनि एक्रोनचाहिँ यबूसीजस्तै हुनेछ। 8 आक्रमण गर्नेहरूबाट मेरो भवनको रक्षा गर्नलाई त्यसको चारैतिर म छाउनी बनाउनेछु। फेरि कुनै अत्याचारीले मेरो प्रजामाथि अतिक्रमण गर्नेछैन, किनभने अब म आफै रखवाली गरिरहनेछु।” सियोनका राजाको आगमन 9 हे सियोनकी छोरी, खूब रमाऊ। हे यरूशलेमकी छोरी, जोडसित कराऊ! हेर, तिम्रा राजा तिमीकहाँ आउँदैहुनुहुन्छ। उहाँ धर्मात्मा र मुक्तिदाता हुनुहुन्छ। उहाँ भला हुनुहुन्छ, र गधामाथि, अर्थात् गधाको बच्चा एउटा बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ। 10 म एफ्राइमबाट रथहरू र यरूशलेमबाट जङ्गीघोड़ाहरू लैजानेछु, र लड़ाइँको धनु भाँचिनेछ। उहाँले जाति-जातिहरूलाई शान्तिको घोषणा गर्नुहुनेछ। उहाँको राज्य समुद्रदेखि समुद्रसम्मै र यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तसम्मै हुनेछ। 11 तँसित बाँधेको रगतको मेरो करारको कारणले म तेरा कैदीहरूलाई पानी नभएको खाड़लबाट मुक्त गरिदिनेछु। 12 हे आशावादी कैदी हो, आफ्नो किल्लामा फर्केर जाओ। तिमीहरूलाई दोबर दिनेछु भनी अब म तिमीहरूलाई घोषणा गर्दैछु। 13 म यहूदालाई मेरो धनुलाई झैँ नुहाउनेछु, र त्यसलाई एफ्राइमले भरिदिनेछु। हे सियोन, तेरा छोराहरूलाई म ग्रीसका छोराहरूका विरुद्धमा सुर्याउनेछु, र म तँलाई वीर मानिसको तरवारझैँ तुल्याउनेछु। परमप्रभु देखा पर्नुहुनेछ 14 अनि परमप्रभु तिनीहरूकहाँ देखा पर्नुहुनेछ, र उहाँको काँड़ बिजुलीझैँ चम्कनेछ। परमप्रभु परमेश्वरले तुरही फुक्नुहुनेछ, र उहाँ दक्षिणका आँधीबेहरीमा भएर हिँड्दैजानुहुनेछ। 15 सर्वशक्तिमान् परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ। तिनीहरूले शत्रुलाई सर्वनाश पार्नेछन्, र घुयेँत्रोका ढुङ्गाहरूद्वारा तिनीहरूलाई पराजय गर्नेछन्। तिनीहरूले दाखमद्य पिउनेछन् र लागेझैँ गर्जनेछन्। तिनीहरू वेदीका कुना-कुनामा छर्कने ठूलो बटुका भरिएझैँ हुनेछन्। 16 त्यस दिन परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई बचाउनुहुनेछ, किनभने तिनीहरू उहाँका प्रजाको बगाल हुन्। मुकुटका रत्नझैँ तिनीहरू उहाँको देशमा चम्कनेछन्। 17 तिनीहरू कत्ति आकर्षक र सुन्दर हुनेछन्। अन्नले युवकहरूलाई र नयाँ दाखमद्यले युवतीहरूलाई हृष्टपुष्ट पार्नेछ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society